सर्लाही / तपश्वी भनेर कुनै बेला चर्चा पाएका रामबहादुर बम्जन बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन्।
केही वर्ष सर्लाहीको लालबन्दी नगरपालिका १२ पत्थरकोटमा आश्रम बनाएर केही वर्ष बस्दा उनले बालिकामाथि यौन दुराचार गरेको आरोप लागेको थियो। सोमबार त्यही मुद्दामा उनलाई दोषी ठहर गरेको हो।
त्यस्तै, बाराको रतनपुरी जंगलमा पनि आश्रम बनाएर अनुयायी जम्मा पारेका बमजनले त्यहाँ बस्ने किशोरीहरुमाथि चरम यौन शोषण गरेको र कतिपयको हत्यासमेत गरेको आरोप लागेको छ। उनलाई गत पुसमा काठमाडौँको हात्तीगौंडाबाट पक्राउ गरिएको थियो।
उनको साथबाट १५ देशका मुद्रासहित ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ नगद भेटिएको थियो। त्यहाँबाट प्रहरीले ३० लाख ९२ हजार ४०६ रुपैयाँबराबर विदेशी मुद्रा बरामद गरेको थियो।
उनीसँगै आरोप लागेका मकावनपुरका ज्ञानकुमार बमजन र सिन्धुलीका जितबहादुर तामाङले सफाइ पाएका छन्। उनीहरुले बम्जनको आपराधिक कार्यलाई सहयोग गरेको अभियोग थियो।
वि. सं. २०४६ साल चैत २७ गते बाराको रतनपुरीमा जन्मेका बम्जन पहिले पाल्देन दोर्जीको नामले परिचित थिएँ । आफ्नो नामदेखि लगाई खवाई पनि बेलाबेलामा परिवर्तन गरिरहने बम्जनले बारा जिल्लाको हलकिरिया जंगलमा ६ महिना निराहार तपस्या गरेको र आफुलाई लिटिल बुद्ध दावी गर्ने गरे पनि पहिलेदेखि नै बेला बेला बिबादमा आइरहने धर्मगुरुमा पर्दछन् ।