२०८२ आश्विन २६ गते, आईतवार ०९:०२

युक्रेनसँग शान्तिवार्ता शुरु गर्नका लागि पुटिनका दुई शर्त

काठमाडौं / रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति वार्ता सुरु गर्न दुई शर्त राखेका छन्।

राष्ट्रपति पुटिनले ‘युक्रेनले डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरोज्यबाट आफ्ना सेना फिर्ता गर्नुपर्ने’ र ‘युक्रेन नेटोमा सामेल नहुने भएमा’ मात्र वार्ता शुरु गर्न तयार रहेको बताएका छन्।

युक्रेनसँग सम्भावित युद्धविरामका लागि पुटिनको शर्तहरू ९० देशका प्रतिनिधिहरू स्विट्जरल्याण्डमा भेट्न जाँदै गर्दा यस्तो अवस्थामा बाहिर आएको हो। यस सम्मेलनमा युक्रेनका लागि शान्तिको बाटोबारे छलफल हुने बताइएको छ। यसका लागि रुसलाई निम्तो दिइएको छैन । तर, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की त्यसमा सहभागी हुन जाँदैछन्।

रुसी विदेश मन्त्रालयका नेताहरुसँगको भेटमा पुटिनले भने, ‘युक्रेनले डोनेस्क, लुहान्स्क, खेर्सन र जापोरोज्यबाट आफ्ना सेना फिर्ता गर्ने र नाटोमा सामेल नहुनेबित्तिकै रुसी सेना त्यहाँबाट पछि हट्न थाल्छ।’   पुटिनले युक्रेनले यी क्षेत्रबाट आफ्ना सेना पूर्ण रूपमा फिर्ता गर्नुपर्नेमा जोड दिएका छन् ।

यससँगै पुटिनले युक्रेनले नेटोमा सामेल हुने आफ्नो योजना त्याग्नुपर्ने बताएका छन् । उनले युक्रेनले आफ्नो सिमाना (भूमि) सम्बन्धी नयाँ यथार्थलाई स्वीकार गर्नुपर्ने बताए । यी सर्तहरूको उल्लेख गर्दै पुटिनले रुस–युक्रेन युद्धको शान्तिपूर्ण समाधानका लागि भएको सम्झौतालाई अन्तर्राष्ट्रिय सन्धिमा अभिलेख गर्नुपर्ने बताए ।

साथै, रुसमाथि लगाइएका सबै प्रतिबन्धहरू पनि हटाउनुपर्नेछ । रुसी राष्ट्रपतिले युक्रेनी सेनालाई फिर्ता गर्न सुरक्षित बाटो उपलब्ध गराउने वाचा गरेका छन् ।युक्रेनले आयोजना गर्न लागेको शान्ति सम्मेलनको एक दिनअघि पुटिनले युद्ध अन्त्य गर्ने शर्त राखेका छन् ।

यो शान्ति सम्मेलन शनिबार स्वीट्जरल्याण्डको बर्गेनस्टकमा हुने भएको छ । शान्ति सम्मेलनमा ९२ देश र आठ संस्थाका एक सय प्रतिनिधि सहभागी हुने स्वीस सरकारले जनाएको छ ।

तर, रुसी प्रतिनिधिलाई निमन्त्रणा गरिएको छैन । चीन, ब्राजिल र साउदी अरबका प्रतिनिधिले सम्मेलनमा भाग लिन अस्वीकार गरेका छन् ।

सम्मेलनमा दुई दिनसम्म वार्ता हुनेछ । यी तीन मुद्दाहरू खाद्य सुरक्षा, आणविक विकिरण र सुरक्षाका साथै मानवीय मुद्दाहरूसँग सम्बन्धित हुनेछन् । यसमा युक्रेनी बालबालिका सहित सबै युक्रेनी बन्दीहरू र कैद गरिएका युक्रेनीहरूको रिहाई समावेश छ।

सम्मेलनमा भएका निर्णयहरू मध्यस्थकर्तामार्फत रुसलाई जानकारी गराइनेछ । सम्मेलनको योजना अनुसार यी मध्यस्थकर्ताहरूले रुस र युक्रेनबीच मध्यस्थता गर्नेछन्। यसअघि पनि यस्ता वार्तामा सहमति भइसकेको छ तर युद्ध रोक्ने पुटिनको भनाइले शान्ति सम्मेलनको एजेण्डामा कुनै परिवर्तन ल्याउने वा नदिने भन्ने अझै निश्चित छैन ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM