२०८३ बैशाख २७ गते, आईतवार ०५:५३

गण्डकी प्रदेशः देवकोटा र पाण्डेले लिए सपथ

पोखरा -गण्डकी प्रदेशमा दुई मन्त्री थपिएका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सोमबार विश्वासको मत दिन फ्लोर क्रस गर्ने नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे) मन्त्री नियुक्त भएका हुन्। उनीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ खुवाए।

मनाङेले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा पाउँदा देवकोटालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय दिइएको हो। मनाङेले गण्डकीमा छैटौं पटक मन्त्री बनेर रेकर्ड बनाएका छन्। मनाङे यसअघि तीन पटक खेलकुद मन्त्री र दुई पटक भौतिक पूर्वाधारमन्त्री भएका थिए।

सर्वोच्चको परमादेशबाट नेपालको संविधानको धारा १६८ को उपाधार (३) बमोजिम मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोमबार विश्वासको मत लिएपछि आज मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले नेपाली कांग्रेसका बिन्दुकुमार थापा र डा.टकराज गुरुङलाई मन्त्री बनाएका थिए।

बिन्दुले ऊर्जा, जलस्रोत, सिँचाइ तथा सामाजिक विकास मन्त्रालय र टकराजले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका थिए। विन्दुले पाएको जिम्मेवारीबाट देवकोटालाई उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय दिइएको हो।

पाण्डेलाई विश्वासको मत दिएको राप्रपाले भने तत्काल सरकारमा जाने नजाने निर्णय गर्न बाँकी छ। गण्डकीमा सात मन्त्रालय छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM