काठमाण्डौ/ उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ लक्षित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले शिक्षामन्त्री श्रेष्ठको अन्तरदेशीय विवाह लक्षित ओलीको टिप्पणीप्रति पार्टीले गम्भीर रूपमा आपत्ति जनाएको बताए ।
उपप्रधानमन्त्री लामिछानेले प्रेम गर्ने, विवाह गर्ने भन्नेकुरा व्यक्तिको नितान्त व्यक्तिगत निर्णय भएको उल्लेख गर्दै त्यसलाई अरुले सम्मानबाहेक अरु केही गर्न नसक्ने जिकिर पनि गरे । कोसँग माया गर्ने, कोसँग विवााह गर्ने भन्नेकुरा व्यक्तिगत निर्णय भएकाले त्यसमा सम्मानबाहेक अरुले केही पनि गर्न नसक्ने उनको तर्क थियो ।
उपप्रधानमन्त्री लामिछानेले अन्तरजातीय विवाहका लागि कुनै बेला लडाइँ गर्नुपरेको बताए । ओलीप्रति लक्षित गर्दै उनले नेपाली समाजले अहिले अन्तरदेशीय विवाहको सामना गरिरहनुपरेको बताए । अन्तरदेशीय विवाह पितृ सत्तालाई मन नपरेको भन्दै कैयौँ टिप्पणीहरू आइरहेको बताए ।
अध्यक्ष ओलीले केही दिनअघि विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना लक्षित टिप्पणी गरेका थिए ।










