२०८१ चैत्र २० गते, बुधबार १९:०५

वेबसाइटमा निर्माण कार्य भइरहेको छ । साइट भिजिट गरिरहनु होला । धन्यवाद

काजका घुमुवाको समन्वयमा रूपन्देहीबाट तस्करीको लाइन

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रुपन्देही अन्तर्गतका विभिन्न चौकीमा कार्यरत तीन जुनियर अधिकृतलाई दरबन्दीमै फिर्ता गरिएको छ । दरबन्दी अरु जिल्लामा भएका असई र सईलाई विभिन्न चौकीको इन्चार्जको जिम्मेवारी दिएको समाचार सार्वजनिक भएपछि बेथरी चौकीका इन्चार्जदेखि सादा पोशाकमा परिचालन गरेका घुमुवाहरुलाई दरबन्दी रहेका जिल्ला जाजरकोट र दाङमा पठाइएको छ ।

काजमा कार्यरत तीन जुनियर अधिकृतलाई दरबन्दीमा फिर्ता गरिए पनि अर्का विवादित असई सन्तोष रायमाझीलाई भने चलाइएको छैन । जागिरको अधिकांश समय लुम्बिनीकै तीन जिल्लामा कार्यरत सन्तोष रायमाझीका कारण रुपन्देही प्रहरी बदनाम छ । तर काजमा कार्यरत तीन जुनियर अधिकृतलाई दरबन्दीमा फिर्ता गर्दा रायमाझीलाई भने यथावत राखिएको छ ।

असई रायमाझीको दरबन्दी रोल्पा हो । तर उनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा काजमा कार्यरत रहेका छन् । प्रहरी प्रधान कार्यालयका एसएसपी दानबहादुर कार्कीसँग बाक्लो हिमचिम भएका असई रायमाझीले लुम्बिनी प्रदेशका डीआईजी कुवेर कडायत र रुपन्देहीका एसपी रन्जितसिंह राठौरलाई नै खुसी पार्दै दरबन्दीको जिल्लामा जानुपरेको छैन ।

भैरहवाका ६ वटा क्यासिनो, तस्करहरुको समूहदेखि रुपन्देहीका क्रसर ब्यवसायीसम्मबाट रायमाझीले एसपी र डीआईजीको नाममा आर्थिक चलखेल गर्ने गरेका छन् । रायमाझी मुकुन्द आचार्य र उनीपछिका रविन्द्रबहादुर धानुक डीआईजी हुँदा प्रदेशका घुमुवा थिए । उनी रुपन्देही र कपिलबस्तुमा डेढ दशकदेखि घुमुवा भएकाले सबैतिर सेटिङ मिलाउन खप्पीस मानिन्छन् । रुपन्देहीका भैरहवादेखि विभिन्न नाकादेखि कपिलवस्तुबाट तस्करी गर्ने राजु थापासँग समेत रायमाझीले कनेक्सन मिलाउने गरेका छन् ।

पछिल्लो समयमा तस्करीमा कमी आए पनि राजु थापाले मोटरसाइकलमार्फत् नाकाबाट मोटरसाइलमा ल्याउने र सीमा कटाइसकेपछि पिकअपमा लोड गरी भित्र्याउने गरेका छन् । उनले बगाहा नाकाबाट जमालमार्फत् मोटरसाइकलमा कपडा तस्करी गर्ने गरेका छन् । बगाहामा केही दिनअघि जमालको कपडा बरामद गरिएको थियो । जुन कपडा राजु थापाकै भएको स्रोतको दाबी छ । राजु थापाले तस्करीको लाइन नपाए पनि मोटरसाइकलमार्फत् भारतबाट सीमावारी ल्याउने र पिकअपमा लोड गरी गोदाममा पुर्याउने गरेका छन् । गृहमन्त्री रवि लामिछानेकोमा सूचना पुग्छ भन्ने त्रासले राजु थापालाई विगतमा जस्तो खुल्लमखुल्ला तस्करीको लाइन दिइएको छैन ।

रायमाझीलाई कपिलवस्तु, नवलपरासी र रुपन्देहीको तस्करीको नेटवर्क सबै जानकारी छ । कुन तस्करले के ल्याउँछन्, के भारत पठाउँछन्, झोलेपोकेदेखि ठूलाासम्मकै नेटवर्कको जानकारी भएकाले उनले संकलन गरी माथिल्ला निकायमा बुझाउने गरेको स्रोत बताउँछ । रायमाझीको खुबी भनेको पहिला डीआईजीलाई हातमा लिने, त्यसपछि एसपीलाई विश्वासमा लिएर तस्करीदेखि नदीदोहन गर्नेहरुसँग सेटिङ गर्ने गरेका छन् । जुन जिल्लादेखि प्रदेशसम्मका उच्च अधिकारीलाई भागबण्डा गरी उनी जागिरका अधिकांश समय रुपन्देही, कपिलवस्तुमै टिकिरहन सफल भएका छन् ।

रुपन्देहीका खोलाहरुबाट नदी दोहन गर्नेहरुले पनि प्रहरीलाई मिलाउन सई रायमाझीलाई नै दररेट बुझाउने गरेको स्रोत बताउँछ । रुपन्देहीका बुटवल उपमहानगरपालिका,, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, मायादेवी गाउँपालिका, सियारी गाउँपालिका, कोटहीमाई गाउँपालिकामा धेरै नदीजन्य पदार्थको उत्खनन् हुने गरेको छ । कोटहीमाईले हालै १० वटा खोलाको टेण्डर हालसालै निकालेको छ । बुटवल र तिलोत्तमासहित अरु पालिकाले करोड करोडका नदीजन्य पदार्थका ठेक्का निकाल्ने गरेका छन् ।

तिनाउ, दानव लगायतका नदीको बालुवा र गिटीको ठेक्का लिनेहरुले मापदण्ड पालना गर्दैनन् । वातावरणीय प्रभाव मूल्यांकन(आईईई)गर्नुपर्ने छ । तर नगरी खोला दोहन गर्ने क्रम बढेको छ । मापदण्डमा स्काभेटर प्रयोग गर्न नपाउने ब्यवस्था छ । तर डरलाग्दो गरी नदीजन्य पदार्थ दोहन गर्नेहरुले प्रहरीलाई समेत मिलाएका हुन्छन् ।

प्रहरीदेखि प्रशासनलाई मिलाएर खोला दोहन गर्नेहरुसँग पूरै सेटिङ गर्ने काम पनि हरेक बर्ष असई रायमाझीले गर्दैआएका छन् । स्थानीय तह, प्रहरी, सीडीओ, राष्ट्रिय अनुसन्धान विभाग, अख्तियारदेखि सबैतिर मिलाएर नदीदोहन हुँदैआएको छ ।

प्रतिक्रिया लेख्नुहोस्