Tuesday, November 26, 2024
घरविचारइतिहासमहर्षी वेदव्यास अनुसार कलियुग कस्तो हुनेछ ?

महर्षी वेदव्यास अनुसार कलियुग कस्तो हुनेछ ?

✍️ गोपाल पाल्पाली आचार्य 

हाम्रो वैदिक सनातन शास्त्रमा चार युगको बारेमा लेखिएको छ। यी चार युगका नामहरु हुन्- १. सत्य युग २. त्रेता युग ३. द्वापर युग ४. कलि युग

युग शब्दको अर्थ एउटा निर्धारित समय सिमाको वर्ष काल अवधी भन्ने हुन्छ । हरेक युगहरुको अलगअलग विशेषताहरु रहेको छ । शास्त्रीय कथन अनुसार अहिले कलि युग चलिरहेको छ । महर्षी वेदव्यासका अनुसार कलियुग कस्तो हुन्छ र कलियुगमा के के घटनाहरु हुन्छन् भन्ने बुझौं ।

 

•कलियुग कस्तो हुन्छ ?

 

महर्षी व्यास भन्छन्- कलियुगमा धन-सम्पत्तिको लागि मानिस द्वारा मानिसकै घाटी काटिनेछन् । घरभित्रै हिंसाका घटनाहरु हुनेछन्, देश र समाजमा हत्या हिंसा चोरी डकैती लुटपाट बलात्कार जस्ता घटनाहरु हुनेछन् । पाखण्डी बाबाहरुले धर्मको नाममा ब्यापार गर्नेछन्, अबैधानिक क्रियाकलाप लुकाउन बाबा र योगीको भेष धारण गर्नेछन् । मनुष्यको आयु घट्दै जानेछ । श्रीमद्भागवतमा गरिएको यस्तो ब्याख्यानमा व्यासजीले जुन कुरा भनेका छन्, त्यो आजको समयमा सहि सत्य सावित हुँदै गइरहेको देखिन्छ ।

महर्षि व्यासजीका अनुसार कलियुगमा मनुष्यमा वर्ण र आश्रमभाव रहनेछैन । मानिसहरु मतिभ्रष्ट भएर आफ्नो कुल, पू्र्खा, पित्री भुल्दै जानेछन् र वेदको दर्शन छोड्दै जानेछन् । शारीरिक सुखभोग र क्षणिक सन्तुष्टि नै जिन्दगी हो भन्ने मानसिकताको विकास हुनेछ । आध्यात्ममाथी अधर्मीहरुले प्रहार गर्नेछन् । धर्मको नाममा पण्डितहरूले पनि अन्धाधुन्ध पुजापाठ तथा यज्ञ गर्नेछन्। कलियुगमा विवाहलाई धर्म मानिने छैन । विवाहलाई शारीरिक सुखभोग गर्ने र बच्चा जन्माउने आधिकारिकताको रूपमा मात्र बुझ्नेछ्न । मानिसहरू स्नान नगरीकनै भोजन गर्नेछन् । देवता पूजा, आतिथ्य, श्राद्ध, तर्पण आदि कर्महरू कसैले गर्दैनन्, जसले गर्छन् उनीहरुको पनि अधर्मीहरुले बिरोध गर्नेछन् । शिष्यहरू गुरुको अधीनमा रहँदैनन्। छोराहरूले पनि पू्र्खाको मौलिक धर्म मान्दैनन्। छोरीहरू घरभित्रै सुरक्षीत हुने छैनन् । हाडनाता करणीका घटनाहरु सामान्य हुनेछन् । व्यक्ति चाहे जुनसुकै कुलमा जन्मिएको किन नहोस्, जो बलवान् हुन्छ सो ब्यक्ति नै सबैको मालिक हुन्छ । जसले देवताहरुको अस्तित्व स्विकार्दैन, पित्रीको श्राद्ध कर्म गर्दैन, वेदको बिपरित ब्याख्या गर्छ, धर्मको नाममा पाखण्ड फैलाउछ त्यस्तो अपराधीक ब्यक्तिलाई कलियुगका मानिसले गुरु मान्नेछ्न । जसले आफ्नो कालो धनको बलमा मानिसको बुद्धि र विवेक किन्न सक्छ, आफुलाई समर्थन गर्ने जमात बटुल्दै अधिक चेला बनाउछ, त्यस्तो ढोंगी पाखण्डी गुरुहरुको बिगबिगी बढ्नेछ ।

 

•कलियुगका पुत्रहरु

 

छोराले बाउलाई र बुहारीले सासुलाई काम गराउने छन् । कलियुगमा भौतिक सुखको आकांक्षा बढ्नाले मानिसहरू भविस्यको चिन्ता गर्दैनन् । वर्तमानमा नै विश्वास गर्ने र रमाउने गर्नेछन् । शास्त्र ज्ञान रहित हुनेछन् । वेद शास्त्रहरु पढ्ने र बुझ्ने भन्दा निन्दा गर्ने र तिरस्कार गर्ने अधर्मी हरुको संख्या अधिक हुनेछ । संस्कारहरु हराउदै जानेछन् र मानिसहरू दम्भकारी, अहंकारी, घमण्डी तथा अज्ञानी हुनेछन् । जब जगतका मानिसहरू सर्वभक्षी (सबै चिजको मासु खाने, मान्छेले मान्छेको समेत मासु खाने) हुनेछन्, त्यसपछि स्वयं आत्मरक्षाका लागि विवस हुनेछन् । राजा (शासक) ले रक्षा गर्न सक्ने छैनन् । मानिसमा काम, क्रोध र लोभको आधिकता हुनेछ भने मोह घट्दै जानेछ ।

 

•कलियुगका स्त्रीहरु

 

वेदव्यास भन्छन्- कलियुगमा मानिसहरू कन्या बेचेर गुजारा गर्नेछन् । चेलीबेटी तथा आफ्नै स्त्रीको समेत मानिसहरू मोलमोलाइ गर्नेछन् । वेद नमान्ने तथा भगवानको अस्तित्व स्वीकार नगर्ने अधर्मीहरु आफ्नो प्रभुत्व तथा पन्थको गुरु बन्नेछन् र त्यस्ता छद्मभेषी गुरुहरुले अर्काको चेलीबेटी तथा स्त्रीको भोग गर्नेछन् । आस्थाको नाममा स्त्रीको इज्जत बलि चढाइनेछ । केटाकेटी तथा स्त्रीहरु त्यस्ता छद्मभेषी हरुको यौन दुराचारको सिकार हुनेछन् । कलियुगका स्त्रीहरु लोभी, स्वार्थी, अधिक खानेवाली तथा अल्प भाग्यशाली हुनेछन् । उनीहरु मातापिताको अधिनमा रहने छैनन् र आफ्नो इच्छा अनुसारको आचरण गर्नेछन् । उनीहरुको मन भोग विलासमा नै लागिरहनेछ । अबैध तरिकाले वा गुप्त तरिकाले अकुत सम्पत्ती कमाउन सक्ने पुरुषप्रती स्त्रीहरुको आसक्ति हुनेछ ।

कलियुगका स्त्रीले धनहीन पतिलाई त्याग गर्नेछन् । त्यस्तो बेला धनवान् पुरुष नै स्त्रीहरुको स्वामी हुनेछ । स्त्रीहरुले आफ्नो देह शुद्धीकरण तथा पवित्रता प्रती ध्यान दिने छैनन् । कटु वचन बोल्नेछ्न । यतिमात्र नभै दुराचारी पुरुष संग सम्बन्ध राख्ने अभिलाषा राख्नेछ्न ।

 

•कलियुगमा धन नै सर्वश्रेष्ठ

 

वेदव्यास जीले थप बताउनुहुन्छ कि कलियुगको समयमा मानिसको बुद्धि केवल धन सङ्कलनमा मात्र लागिरहनेछ । कलियुगमा थोरै धनले कमाउदैमा पनि मानिसमा ठूलो घमण्ड चढ्नेछ । कलियुगमा मानिसहरूको सम्बन्ध धन सम्पत्ति तथा प्रभुत्वका आधारमा मात्र कायम हुनेछ । भौतिक सुबिधा सम्पन्न घर बनाउनमा नै धनराशि समाप्त हुनेछ । पैसा हुनेले पनि कुनै परोपकारी काम गर्दैनन् । सबैलाई सँधै कुनै न कुनै दु:खले घेरेको हुन्छ । मूर्ख मानवले स्वयं आफूलाई पण्डित सम्झेर बिना शास्त्रीय प्रमाण कर्मकाण्ड गर्नेछन् । शास्त्रमा कहिँ कतै उल्लेख नभएका मिथ्या यज्ञहरुको अनुष्ठान गरिनेछन् । मानिसले ऋण लिएर फिर्ता नगरी अरुको सम्पत्ति हडप गर्नेछन् ।

 

• कलियुगका प्रजा

 

कलीयुगका प्रजाहरु बाढीपहिरो तथा खडेरीको भयले आकुल ब्याकुल हुनेछन् । सबैका प्यासी आँखाहरु आकाशतिर फर्कने छन् तर पानीको एक थोपा पनि खस्ने छैन । समयमा वर्षा नहुनाले मानिसहरु तपस्वी योगिहरु जस्तै कन्दमूल फल-फूल तथा पात-पतिंगरहरु खाएर गुजारा गर्ने छन् । कलियुगमा अनिकाल परिरहने छ । घोर कलियुग आएपछि मानिसहरु २० वर्ष पनि बाच्ने छैनन् । त्यतिबेला पाँच, छ अथवा सात वर्षकी स्त्री अनि आठ, नौ अथवा दस वर्षको पुरुष ‌बाट नै सन्तान हुन थाल्नेछन् । मानिसहरु मन्द बुद्धि, व्यभिचार, पापाचार, दुराचार वाला नराम्रो सोंच गर्ने हुनेछन् ।

 

शासक र शासन ब्यवस्था

 

कलियुग आएपछि राजा (शासक) ले प्रजा (जनता) को रक्षा गर्दैनन् । बरु करको बहानामा जनताको सम्पत्ति अपहरण गर्नेछन् । अधर्मी मनुष्य संस्कारहीन हुँदा हुँदै पनि पाखण्डको सहारा लिएर मानिसलाई ठग्ने कार्य गर्दछ्न । त्यस कालखण्डमा पाखण्डीहरुको अधिकता तथा अधर्मीहरुको वृद्धि हुनाले मानिसहरूको आयु कम हुँदै जानेछ । अमृत भनेर बिष बेचिनेछ । अहितकर तथा हानिकारक चिजहरु पनि अधर्मीहरुले हितकर तथा फाइदाजनक भनेर दिनेछन् । जसले मानिसको आयु घटाउदै लैजानेछ । त्यसपछि हत्याराको पनि हत्या हुन थाल्छ । चोरले पनि आफूजस्तै चोरको सम्पत्ति लुट्न थाल्छ । कलियुगको अन्त्यमा भयंकर विश्वयुद्ध हुनेछ । भारी वर्षा हुनेछ । भयंकर आँधीबेहरी हुनेछ । मानिसहरूले अर्काको खेती काट्नेछन्, लगाउने लुगा चोर्नेछन् । पिउने पानी तथा खानेकुराका थैली समेत चोरी हुनेछन् । चोर्न नपाए हत्या हुनेछन् । एउटालाई मारेर अर्कोले पेट भर्ने दिन आउनेछ ।

 

• कलियुगको अन्त्य

 

वेदव्यासका अनुसार कलियुगको चरम सीमामा पुगेपछि पापहरू क्रमशः कम हुन थाल्छन् । त्यसपछि क्रमशः मानिसहरू फेरि साधु सन्तको सेवा, दान, पुन्य गर्न थाल्नेछ्न । सत्य तथा जीवहरूको रक्षा गर्न फेरि तयार हुन थाल्छन् । यसले धर्मको नयाँ चरण स्थापना गर्नेछ । त्यो धर्मबाट मानिसको कल्याण हुनेछ । जीवन र जगतको लागि सर्वश्रेष्ठ के रहेछ भनेर बिचार मन्थन शुरु हुनेछ । मानव तथा प्राणिहरुको कल्याण हुने कार्य गर्दै धर्मको रक्षा गर्ने काम नै सर्वश्रेष्ठ रहेछ भन्ने मान्यता स्थापित हुनेछ । पहिला जसरी धर्मको हानि भयो, त्यसैगरी क्रमशः मनुष्यहरु धर्मको बाटोमा हिँड्न थाल्नेछ्न् । यसरी धर्मलाई पूर्णरूपले ग्रहण गरेपछि कलियुगको अन्त्य हुनेछ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -