चिनियाँ नेताको सुरक्षा जिम्मा नेपाली सेनालाई

0

सोमबार नेपाल आउन लागेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीमा तेस्रो वरीयताका उनी तीन दिनका लागि नेपाल भ्रमणमा आउन लागेका हुन्।

नेपाल सरकारले बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनमा तीन दिने शोक घोषणा गरेका बेला चिनियाँ नेताको औपचारिक भ्रमण हुन लागेको हो।

उनी सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आउँदेछन्। लीको सबै राजनीतिक भेटघाटको कार्यक्रममा संसद भवन नयाँबानेश्वरमा हुने भएको छ।

उनी करिब सयजनाको टोलीसहित आउन लागेपछि नेपाली सेनाका कर्णेल (प्रमुख सेनानी) को कमान्डमा सुरक्षा बन्दोबस्त गर्न थालिएको हो।

गृहमन्त्रालय स्रोतका अनुसार सेनाले सुरक्षाका लागि संसद भवन नयाँबानेश्वरमा पनि विशेष तयारी थालिसकेको छ। सरकारले कर्णेलको नेतृत्वमा खटिने सेनाको टोलीबारे विस्तृत खुलाएको छैन।

सेनासँगै सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि तैनाथ हुने बताइएको छ।

भ्रमण कार्यक्रम
परराष्ट्र मन्त्रालयका अनुसार नेपाल आएकै दिन भदौ २७ गते ली र सभामुख सापकोटाबीच दिपक्षीय वार्ता हुनेछ। त्यही दिन लीको सम्मानमा सापकोटाले रात्रिभोज दिनेछ्न्।

परराष्ट्रका अनुसार चिनियाँ प्रभावशाली नेता लीले २९ गते राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग २८ गते सिस्टाचार भेट गर्नेछ्न्।

२८ गते नै लिको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता हुनेछ।

नेपाल आएको भोलिपल्ट चिनियाँ जनकंग्रेस अध्यक्षले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बेग्लाबेग्लै भेट्ने तय भएको परराष्ट्रले जनाएको छ।

चिनियाँ नेता रुस, मङगोलियापछि नेपाल आउन लागेको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ। नेपाल भ्रमण सकेर लि ३० गते दक्षिण कोरिया पुग्नेछन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्