काठमाण्डौ, ०३ चैत्र/
दोहोरो नागरिकता लिएको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।
कास्कीको पोखरा महानगरपालिका–६ बैदाम माइती भई हाल काठमाडौंको कोटेश्वर बस्दै आएकी २८ वर्षीया पूजा ढकाललाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।
८ मंसिर २०६७ मा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पहिलो नागरिकता लिएकी उनले २८ मंसिर २०६७ मा पुनः जिल्ला प्रशासन कार्यालय गोरखाबाट अर्को नागरिकता लिएको भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।
‘गोरखामा गाइने सार्कीलाई बुवा बनाएर पूजा गैरेको नामबाट अर्काे नागरिकता निकालेको रहेछ,’ उनले भने, ‘आवश्यक कारवाही गर्न भनेर प्रशासनबाट पत्राचार भएपछि हामीले पक्राउ गरेका हौं ।’
दोहोरो नागरिकतासम्बन्धी कसूरमा अनुसन्धानका लागि उनलाई हिरासतमा राख्न अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।
















