चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २६ फाल्गुण/ हिन्दूहरूको दोश्रो ठूलो पर्व होली नजिकिएसँगै प्रहरी चौकी परवानीपुर, पर्साका प्रमुख प्रहरी नायब निरीक्षक उमाशंकर रायको असुली धन्दाले व्यापकता पाएको छ ।
चौकी प्रमुखको रुपमा आएसँगै प्रनानि उमाशंकरले सो क्षेत्र र बाटो भएर हुने तस्करी कार्यको लागि अवैध कारोबारीहरूलाई लाईन दिएर महिनावारी तय गरेर संरक्षण गरेको श्रोत बताउँछ ।
त्यत्ति मात्र नभई परवानीपुर चौकीमा राय आएसँगै भारतीय गाडीवालाहरुलाई समेत सास्ती दिरहेका चालकहरुले गुनासो गरेका छन्।
मुलुककै ठूलो भन्सार आईसीपीबाट प्रत्येक दिन लगभग पाँच सय देखि एक हजार सम्म निस्केको ट्रक, कन्टेनरहरु मध्ये ओभर लोड गर्ने गाडीवालाहरुसँग परवानीपुरमा रहेको प्रहरी चौकीले नियम कानुन अनुसार हिंड्ने गाड़ीहरुलाई चेक जाँचको नाममा सास्ती दिएको भारतीय गाड़ी चालकहरुले बताएका छन् ।
आईसिपी भन्सार र ड्राईपोर्टबाट चेकजाँच भई निस्केको भारतीय तथा नेपाली गाड़ीहरूसंग परवानीपुर प्रहरी चौकीले चेकजाँचको बहानामा छुट्टा छुट्टै रकम असुली गरेको भारतीय गाड़ी चालकहरु बताउँछन् ।
भारतीय गाडिचालकहरुलाई डर धम्कि देखाई प्रत्येक गाड़ीसँग दुई सय रुपैयाँ देखि पाँच सय रुपियाँसम्म असुली गरिरहेका छन् ।
त्यत्ति मात्र नभई प्रनानि उमाशंकर रायले हिन्दूहरूको पर्व होली (फागु पर्व)को नाममा सो क्षेत्रमा रहेका, उद्योग कारखाना, फैक्ट्री, सो क्षेत्रबाट लाइन पाएका अवैध कारोबारी, रांगा भैंसी तस्कर, अवैध मदिरा भट्टी लगायतसँग माथिल्ला निकायका आफ्ना हाकिम मधेश प्रदेशका डीआईजी उमेश रंजितकार, देखि प्रहरी प्रधान कार्यालयका हाकिम सम्मको भाग भनेर छुट्टाछुट्टै असुली गरिरहेका छन् ।
डीआईजी उमेश रंजितकारले होलीमा दुई कार्टून ब्लैक लेभल र काजू पिस्ता १ गते भित्र पठाईदिन आदेश गरेका छन् भन्दै प्रनानि रायले फैक्ट्रीका साहू र व्यापारीहरूसँग असुली गरिरहेको श्रोतले बताएका छन् । यस सम्बन्धमा डीआईजी रंजितकारलाई मोबाइल नम्बर ९८५४०८४४४४ मा सम्पर्क गरेर बुझ्न खोज्दा उनको फोन उठेन ।