२०८१ चैत्र २४ गते, आईतवार ११:३२

एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको पदमार्गलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले गोरखादेखि काठमाडौंदेखि गोरखासम्म पदयात्रा गर्ने भएको छ ।

आउँदो पुस २७ गते पृथ्वीजयन्तीको अवसर पारेर गोरखास्थित रणसिँह दलमा रहेका सेनाले गोरखा दरबारदेखि काठमाडौंको हनुमानढोका दरबारसम्म पदयात्रा गर्ने कार्यक्रम बनाएको सो गणका गणपति उज्वल केशीले जानकारी दिए ।

पृथ्वीनारायण शाहकालीन सेनाको पोशाक लगाएका गुरुज्यूको पल्टन र गोरखास्थि रणसिँह दल गणका ४५ जना फौजले सो पदयात्रा गर्न लागेको गणपति केशीले बताए ।

पुस १८ गते शुक्रबारदेखि गोरखा दरबारस्थित हनुमानभञ्ज्याङबाट बाजागाजा सहित निस्किएको पदयात्रा काठमाण्डौँको हनुमानढोकामा २७ गते पुग्ने कार्यक्रम बनाइएको उनले जानकारी दिए ।

एकीकरण पदयात्रा नाम दिइएको सो कार्यक्रमका लागि गोरखा नगरपालिका, भीमसेनथापा गाउँपालिका तथा गोरखा दरबार हेरचाह अड्डाको पनि समन्वय र सहयोग रहने उनले बताए ।

‘आउँदो १८ गते शुक्रबार विहान ८ बजे गोरखा दरबारको हनुमान भञ्ज्याङमा एक औपचारिक कार्यक्रम गरी पदयात्रा सुरु हुन्छ’, गणपति केसीले भने, ‘गोरखाबाट रणसिंहदल गणका टोलीले सुरु गरेको पदयात्रा घाटबेशी हुदै धादिङमा तैनाथ गणलाई लगेर बुझाइन्छ । फेरि धादिङको गणले नुवाकोटमा तैनाथ गणलाई र नुवाकोटबाट नेपाली सेनाको टोलीले काठमाण्डौँको सिंहदरबारमा पुर्याउने छन् ।’

भ्रमणबर्ष २०२० को अवसरमा पदयात्रा गरिने सो पदमार्गलाई एकीकरण पदमार्गको रुपमा विकास गर्ने नेपाली सेनाले जनाएको छ । ‘नेपाल एकीकरणको समयमा शाहकालीन सेनाले प्रयोग गरेको पदयात्रालाई प्रचारप्रसार गरी भिजिट नेपाल २०२० लाई सहयोग पु¥याउने उद्देश्यले पदयात्रा गर्न लागिएको हो’, गणपति केसीले भने, ‘ऐतिहासिक पदमार्ग भन्ने नेपाल सरकारको नीति नै छ । सोही नीतिलाई नेपाली सेनाले पनि साथ दिएका हौँ ।’

गुरुज्यूको पल्टन र रणसिँह दल गणका गरी एकीकरण पदयात्रामा ४५ जनाको टोली बाजागाजा सहित पृथ्वीनारायण शाहकालिन नेपाली सेनाको पोसाकमा टर्च, नेपालको राष्ट्रिय झण्डा र पाँच वटा ऐतिहासिक गणहरुको झण्डासहित पत्रयात्रा गर्ने कार्यक्रम बनाइएको उनले बताए । दरौंदी दैनिक

प्रतिक्रिया लेख्नुहोस्