Thursday, November 28, 2024
घरविचारइतिहासकार्कीको कलम: धर्मनिरपेक्ष फापेका हिन्दु पंडित अनि स्वामीहरु

कार्कीको कलम: धर्मनिरपेक्ष फापेका हिन्दु पंडित अनि स्वामीहरु

– स्वयम्भुनाथ कार्की
यो एकदमै कमले ध्यान दिएको तथ्य हो कि नेपालको धर्मनिरपेक्षता सबैभन्दा धेरै फाइदा हिन्दु पण्डितहरु स्वामीहरुलाई भएको छ । उनीहरुको धर्मको पसल मारामार चलेको छ । दानपुन्यको खोलो उनीहरुतिर उर्लेको छ । धर्मभिरु हिन्दु समाज आफु सनातनी भएको कुरा भुलेर वैष्णवका अनेकौ मतलाई आफ्नो धर्म मान्न पुगेको छ । जुन विष्णुको आठौ अवतार भनेर श्री कृष्णलाई भनिएको छ उनैको गीतामा आएको बचन “स्वधर्म निधनं श्रेय परधर्म भयावह” हो । यसको विपरित वैष्णवमा दिक्षित गर्दा उनीहरुले यो वचन उलंघन गरे कि गरेनन त्यो पाप पुण्यको भागी उनीहरु नै हुने हो ।

जसरी सनातनीले इशाईको प्रहार खप्नु परेको छ करिव त्यही वा अझ त्यो भन्दा ठूलो प्रहार सनातनीले खप्नु परेको छ वैष्णवहरुबाट । पौराणिक भुगोल अनुसार वैदिक र प्राकृतिक सनातनीको भुभाग हो गंगा उत्तरको हिमवत खण्ड । यो शैव र शाक्त भुमी हो, तन्त्र साधकहरुको थलो हो । झांक्री, विजुवा धामी आदिको भुमी हो । यहा कुलपुजा वैदिक मन्त्रले हुन्न धामीहरुबाट हुन्छ । यसैलाई मष्टो भन्दछन् । तर नेपाल धर्मनिरपेक्ष भए पछि स्वामीजीहरु वैष्णव मत मात्र सनातन हो, हिन्दु हो भन्ने भ्रम दिन सफल भएका छन् । नेपालीको राष्ट्रप्रेमलाई हिन्दुत्वमा अनुवाद गरेर बराल्न सफल भएका छन् ।

हामी नेपालीहरु सबैभन्दा पहिले राष्ट्रलाई सर्वोपरि मान्ने हौ । त्यसपछि राष्ट्रको एकता सुत्र भएको नेपालको परंपरा, संस्कृति रीतिथितिलाई राष्ट्रको अंग मान्छौ । म जस्ता पनि छन जो राज मुकुटलाई नेपालको एकताको शुत्र मान्छन, गौरव मान्छन । हो कोही त्यसलाई मैले जस्तो नमान्ने पनि छन् । तर हालको नेपालको संविधानको धारा ३ मा उल्लेखित एकताको सुत्रको परिभाषा उनीहरुले दिन सकेका छैनन् । चित्तवुझ्दो वा नबुझ्दो पछिको कुरा हो तर त्यो सुत्र के हो भन्ने समेत भन्न सकेका छैनन् । जव कि यो भन्दा पहिलेका संविधानमा त्यसलाई प्रष्ट राजमुकुट परिभाषित गरिएको थियो । वर्तमानको राष्ट्र प्रतिको अन्यौल नै त्यही हो, एकताको सुत्र भनिएको छ तर त्यो केहो चाहीं भनिएको छैन ।

त्यसैले मेरा निमित्त राष्ट्र पहिलो प्राथमिकता हो, त्यसपछि पुरानै भए पनि पूर्व घोषित राजमुकुट एकताको सुत्र हो । हो कसैले त्यसको चित्त बुझ्दो विकल्प पेश गरेमा एकताको सुत्र फरक पनि पर्ला । त्यसपछि नेपालको परम्परा संस्कृति, रीतिरिवाज, अनेक सभ्यता बीचको सौहार्दता मेरा निमित्त महत्वको कुरा हो । शक्ति पीठहरुको उपासनामा खलल पार्ने वैष्णव बाहेक अन्य मत नै हैनन् ती शैतानी मत हुन भन्नेहरु नेपालीका निमित्त धर्मपरिवर्तन गराउदै हिंडने इशाइ भन्दा पनि हानिकारक हुन ।

धर्मको नाममा पुराण लगाएर पैसा उठाउनेहरु समाजसेवक भनेर मान्न म तैयार छैन । ती त स्वर्ग या पुण्यको टिकट बेच्ने ठगहरु हुन भन्ने मान्छु । ठग यसकारणले कि त्यो स्वर्गको टिकट बेच्न भगवानबाट नियुक्त पदाधिकारी हैनन । न पुण्यको लेख लेख्ने अधिकारी नै ।

यसरी आफ्नो अधिकार नै नपुग्ने कुरा दिने भ्रम दिएर पैसा बटुल्ने काम कसै गरेर पनि उचित हुन्न । अनुचित तरिकाले प्राप्त धनले गरेको काम उचित हुने त कुरै छैन । बरु त्यो धर्मको व्यापार भयो । हो यही धर्मको व्यापार भने नेपाल धर्मनिरपेक्ष भएपछि खुब फापेको छ । व्यापारी पण्डित अनि स्वामीहरुको चाँदी कटाई भएको छ । श्री पशुपतिनाथ जस्ता धाममा धर्मनिरपेक्ष सरकारको हस्तक्षेप बढेको छ । त्यसलाई सरकारी हण्डीको आश गर्ने स्वामीजीहरुले उचित भनेर जनता भ्रमित गर्दैछन ।

व्यक्तिको रुपमा जो कोही पनि धाममा, मन्दिरमा वा अनुष्ठानहरुमा सामेल हुन सक्छ । तर धर्मनिरपेक्ष राज्यको कुनै पनि अधिकारी कुनैको कुनैपनि यस्ता स्थानमा उपस्थिति भनेको त्यसलाई अपवित्र बनाउनु हो । यो भने वापत हुने सजाय खप्न म तैयार छु ।

विराटनगर-१
२०७६ मंसिर १९ गते क्राइमचेक साप्ताहिकमा प्रकाशित

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -