Tuesday, May 21, 2024
घरविचारइतिहास"इतिहास–पुराणमा सर्पको अध्ययन"

“इतिहास–पुराणमा सर्पको अध्ययन”

“इतिहास–पुराणमा सर्पको अध्ययन

डा.मतिप्रसाद ढकाल

(नागपञ्चमीका उपलक्ष्यमा स्याङजाको मालुङ्गामा २०७६ श्रावण १९ मा आयोजित सर्पसम्बन्धी गोष्ठीमा प्रस्तुत विचारपत्र)

१. पृष्ठभूमि
संसारकै सर्वप्राचीन मानिने ऋग्वेदमा एक दर्जनभन्दा बढी ठाउँमा पुराण शब्दको प्रयोग भएको छ । यसका अतिरिक्त ब्राह्मणग्रन्थ, आरण्यक, उपनिषद् र सूत्रग्रन्थहरूमा पनि पुराणहरूको अस्तित्व र महत्त्वका बारेमा उल्लेख भएको पाइन्छ । निरुक्तकार यास्कले ‘पुरा नवं भवति’ अर्थात् जो प्राचीन भएर पनि नवीन हुन्छ भनेर पुराणको व्युत्पत्ति गरेका छन् भने सबैजसो पुराणले पनि पुराणको व्युत्पत्ति गरेका छन् । पुराणहरू प्राचीन इतिहाससँग सम्बद्ध रहेकाले तिनलाई संस्कृत वाङ्मयमा ‘इतिहास–पुराण’ का नामले पनि चिनाउने गरिएको छ । कतिपयले ‘महाभारत’ लाई पनि इतिहास नै मान्दछन् । त्यसैले यस आलेखमा पनि ‘इतिहास–पुराण’ शब्दले महाभारत र महापुराणहरूलाई सङ्ेकत गर्न खोजिएको छ । ब्रह्म, पद्म, विष्णु, वायु, लिङ्ग, गरुड, नारदीय, श्रीमद्भागवत, देवीभागवत, शिव, अग्नि, स्कन्द, भविष्य, ब्रह्मवैवर्त, मार्कण्डेय, वामन, वराह, मस्त्य, कूर्म र ब्रह्माण्ड गरी २० वटा महापुराणहरू रहेका छन् । गणेश, आदि, नरसिंह, कपिल, कालिका, विष्णुधर्मोत्तर, सौर, भार्गव, पाराशर, देवी, साम्ब र एकाम्र गरी उपपुराणहरूको सङ्ख्या १२ छ भने कल्की, महाभागवत, परानन्द, बृहद्धर्म, बृहन्नारदीय र मुद्गल गरी ६ वटा औपपुराण रहेका छन् । त्यसैगरी अन्य प्रमुख पुराणमा आत्मपुराण, नीलमतपुराण र दत्तपुराण पनि पर्दछन् भने सूतसंहिता, मानसखण्ड, काशीरहस्य, विनायकमाहात्म्य, विरजाक्षेत्रमाहात्म्य, नेपालमाहात्म्य र मिथिलामाहात्म्य गरी ७ वटा माहात्म्य एवं स्थलपुराणहरूको समेत संस्कृत वाङ्मयको इतिहासमा चर्चा भएको पाइन्छ । इतिहासपुराणको यति विशाल क्षेत्रमध्ये प्रारम्भिक अध्ययनका आधारमा महाभारतमा तथा अग्नि, पद्म, ब्रह्म, ब्रह्मवैवर्त, भविष्य, भागवत, मार्कण्डेय, वराह, विष्णु, स्कन्द र गरुड गरी ११ पुराणमा सर्पको समेत अध्ययन भएको पाइएकाले यस आलेखमा त्यसको सङ्क्षिप्त चर्चा गर्ने प्रयत्न गरिएको छ ।

२. महाभारतमा सर्पको अध्ययन
महाभारतका १८ पर्वहरूमध्ये आदिपर्व, वनपर्व, उद्योगपर्व र शान्तिपर्वका ६८ वटा अध्यायहरूमा सर्पको अध्ययन भएको पाइन्छ । त्यसमध्ये आदिपर्वको ८ औँ अध्यायदेखि ५८ औँ अध्यायसम्म र १२७ औँ अध्यायमा समेत सर्पको चर्चा गरिएको छ । प्रमद्वराको रुरु मुनिसँग विवाहका लागि वाग्दान भइसकेको हुन्छ तर विवाहपूर्व नै सर्पले टोकेर प्रमद्वराको मृत्यु हुन्छ । रुरुको आधी आयुद्वारा प्रमद्वराले पुनर्जीवन प्राप्त गर्छे र रुरुसँग उसको विवाह
हुन्छ । रुरुले सर्पहरूलाई मार्ने निश्चय गर्छन् । त्यसका बारेमा रुरु र डुण्डुभका बीचमा लामो कुराकानी हुन्छ । डुण्डुभले आफ्नो आत्मकथा बताउँदै रुरुलाई अहिंसाको उपदेश दिन्छन् । राजा जनमेजयले गर्न लागेको सर्पयज्ञका विषयमा रुरुले जिज्ञासा राख्छन् र पिता भृगुले उनको जिज्ञासाको समाधान गर्ने प्रयत्न गर्छन् ।
आफ्ना पितृहरूको अनुरोधले गर्दा जरुत्कारु विवाहका लागि अग्रसर हुन्छन् । फलस्वरूप उनले वासुकिकी बहिनीसँग विवाह गर्छन् । उनीहरूबाट आस्तीक नामक पुत्रको जन्म हुन्छ र उनले आमाको सरापद्वारा सर्पयज्ञमा नष्ट हुने नागवंशको रक्षा गर्छन् । कश्यपजीको वरदान पाएर कद्रू र विनतालाई पुत्रहरूको प्राप्ति हुन्छ । मेरु पर्वतमा अमृतका लागि विचरण गर्ने देवताहरूलाई नारायण भगवान्ले समुद्र मन्थनका लागि आदेश दिन्छन् । देवता र दैत्यले अमृतका लागि समुद्रको मन्थन गर्छन् । अनेकौँ रत्नहरूसहित अमृतको उत्पत्ति हुन्छ र भगवान्ले मोहनी रूप धारण गरेर दैत्यका हातबाट खोसेर अमृत लैजान्छन् । अमृतपान गरेका कारण देवताले देवासुर संग्राममा विजय प्राप्त गर्छन् । कद्रू र विनताको होड चल्छ । कद्रूले आफ्ना पुत्रहरूलाई सराप दिन्छिन् र ब्रह्माजीले त्यसलाई अनुमोदन गर्छन् । नागहरूले उच्चैःश्रवा घोडाको पुछार कालो बनाइदिन्छन् भने कद्रू र विनता समुद्रलाई हेर्दै अघि बढ्छन् । पराजित भएकी विनताले कद्रूको दासी हुन अङ्गीकार गर्छिन् । गरुडको उत्पत्ति हुन्छ र देवताहरूले गरुडको स्तुति गर्छन् ।
गरुडले आफ्नो तेज र शरीरलाई खुम्च्याउँछन् भने सूर्यको क्रोधजनित तीव्र तेजको शान्तिका लागि अरुण उनको रथमा रहन्छन् । सूर्यको तापद्वारा मूच्र्छित भएका सर्पहरूको रक्षाका लागि कद्रूले इन्द्रदेवको स्तुति गर्छिन् । इन्द्रले वर्षा गराएपछि सर्पहरू प्रसन्न हुन्छन् । दास्यभावबाट छुटकारा पाउने उपायप्राप्तिका लागि गरुडले सर्पहरूसँग सोध्छन् । गरुड अमृत ल्याउनका लागि जान्छन् भने आफ्नी आमाको आज्ञानुसार निषादहरूको भक्षण गर्छन् । कश्यपले गरुडलाई हात्ती र कछुवाको पूर्वजन्मको कथा सुनाउँछन् र गरुडले ती दुवैलाई पक्रेर एउटा दिव्य वृक्षको हाँगामा लैजान्छन् तर त्यो हाँगो भाँचिन्छ । गरुडको देवताहरूका साथ युद्ध हुँदा देवताको पराजय हुन्छ र गरुड अमृत लिएर फर्कन्छन् । बाटामा आउँदै गर्दा विष्णुले गरुडलाई वर दिन्छन् तर उनीमाथि इन्द्रले वज्रप्रहार गर्छन् । पछि इन्द्र र गरुडको मित्रता हुन्छ । गरुड अमृत लिएर नागहरूका सामु आउँछन् र विनतालाई दासीभावबाट छुटकारा दिलाउँछन् भने इन्द्रले अमृतको अपहरण गर्छन् ।
आदिपर्वको ३५ औँ अध्यायमा मुख्य मुख्य नागहरूको चर्चा गरिएको छ । नागराज शेषनागले तपस्या गर्छन् र ब्रह्माजीबाट वर प्राप्त गरी पृथ्वीलाई शिरमा धारण गर्छन् । आमाको सरापबाट बच्नका लागि वासुकि आदि नागहरूले एकआपसमा परामर्श गर्छन् । वासुकिले आफ्नी बहिनी जरुत्कारुको जरुत्कारु मुनिका साथ विवाह गर्ने निश्चय गर्छन् भने ब्रह्माजीको आज्ञा पाएर वासुकि त्यसका लागि प्रयत्नशील हुन्छन् ।
जरुत्कारुले तपस्या गर्छन् । मृतक सर्प काँधमा राखिदिने राजा परीक्षित्लाई शृङ्गी ऋषिले सराप दिन्छन् परन्तु पिता शमिकले आफ्ना पुत्रलाई शान्त गर्दै सराप दिनु अनुचित ठान्छन् । परीक्षित्ले आत्मरक्षाको व्यवस्था गर्छन् भने बाटामा तक्षक र काश्यपका बीचमा कुराकानी हुन्छ । तक्षकले धन दिएर काश्यपलाई फर्काइदिन्छ र छलपूर्वक राजा परीक्षित्का सामु पुगेर उनलाई डसिदिन्छ ।
परीक्षित्पुत्र जनमेजयको राज्याभिषेक भएपछि जरत्कारुलाई आफ्ना पितृहरूको दर्शन र उनीहरूसँग उनको कुराकानी हुन्छ । जरत्कारु ससर्त विवाह गर्न तयार हुन्छन् । फलस्वरूप जरत्कारु मुनिको जरत्कारु नामक कन्यासँग विवाह हुन्छ परन्तु जरत्कारु नवविवाहित पत्नीलाई छाडेर तपस्या गर्न जान्छन् । त्यसपछि नागराज वासुकि चिन्तित हुन्छन् तर बहिनी जरत्कारुले त्यसको निवारण गर्छिन् र आस्तीक पुत्रको जन्म हुन्छ ।
जनमेजयले आफ्ना पिता परीक्षित्लाई डस्ने तक्षकसँग बदला लिने प्रतिज्ञा गर्छन् । त्यही उद्देश्यले आयोजना गरेको सर्पयज्ञमा असङ्ख्य सर्पहरूको विनाश हुन्छ । तक्षक इन्द्रको शरणमा जान्छ । मामा वासुकिलाई सान्त्वना दिएर आस्तीक सर्पयज्ञमा जान्छन् भने राजा जनमेजय आस्तीकलाई वरदान दिन तयार हुन्छन् र आस्तीकले वरदान पाउँछन् । सर्पयज्ञमा दग्ध भएका प्रमुख सर्पहरूको नामावली र आस्तीकले सर्पहरूबाट वर प्राप्त गरेको कुरा पनि आदिपर्वको ५८ औँ अध्यायमा उल्लेख गरिएको छ ।
आदिपर्वको १२७ औँ अध्यायमा दुर्योधनले भीमसेनलाई विष ख्वाएर गङ्गामा धकेल्ने र भीमसेन नागलोकमा पुगेर आठ कुण्डहरूका दिव्य रसको पान गर्ने कुराको चर्चा गरिएको छ । भीमसेनलाई नागले डस्छन् तर उनलाई डस्ता कालकूट विषको प्रभाव नै नष्ट हुन्छ । भीमसेन आउँदैनन् कि भनेर कुन्ती चिन्तित हुन्छिन् तर भीमसेन नागलोकबाट अभैm शक्तिशाली भएर फर्कन्छन् ।
वनपर्वका ६३, ६६, १७९, १८० र १८१ औँ गरी पाँच अध्यायहरूमा सर्पको अध्ययन भएको छ । नलको बिछोडका कारण दमयन्तीले विलाप गर्दै गर्दा सर्प प्रजातिको अजिङ्गरले दमयन्तीको खुट्टा डसिरहे पनि उनले आफ्नोभन्दा पतिकै शोक गरिरहेकी थिइन् र त्यतिबेला व्याधा आएर उनलाई बचाएको थियो । त्यसैगरी राजा नलले दावानलबाट कर्कोटक नागको रक्षा गरेका कारण नागले राजा नललाई विषजनित पीडा कहिल्यै नहुने वरदान दिएका थिए । राजा नहुषले ब्राह्मणको अनादर गर्दा सर्पको रूप धारण गर्नुपरेको थियो । सर्परूपधारी तिनै नहुष र भीमसेनको संवाद भइरहेका बेला युधिष्ठिर आएर सर्परूपधारी नहुषका प्रश्नहरूको उत्तर दिन्छन् र युधिष्ठिरबाट आफ्ना प्रश्नहरूको समुचित उत्तर पाएपछि सर्परूपधारी नहुषले भीमसेनलाई बन्धनबाट मुक्त गरिदिन्छन् ।
उद्योगपर्वका १०३ र १०४ औँ दुई अध्यायमा सर्पको चर्चा गरिएको छ । त्यहाँ नागलोकमा रहेका नागहरूको वर्णन गर्ने क्रममा ‘एक शेषः स्थितो नागो येनेदं धार्यते सदा, तपसा लोकमुख्येन प्रभावसहिता मही’ (१०३।२) अर्थात् शेषनागले आफ्नो लोकप्रसिद्ध तपोबलको प्रभावसहित यस सारा पृथ्वीलाई सधैँ शिरमा धारण गरेका छन् भनिएको छ । मातलिले नागकुमार सुमुखका साथ आफ्नी कन्याको विवाह गर्ने निश्चय गर्छन् । नारदको प्रस्तावअनुसार नागराज सुमुखको मातलिकी कन्या गुणकेशीसँग विवाह हुन्छ र उनले सुमुखलाई दीर्घायुको वरदान दिन्छन् । गरुडले सुमुखका पितालाई खाएकाले सुमुखलाई पनि गरुडले खाने भएकाले हजुरबुबा आर्यक विवाहका लागि चिन्तित थिए र विष्णुको आज्ञानुसार इन्द्रले सुमुखलाई दीर्घायुको वर दिएका हुन् ।
शान्तिपर्वका ३५५ औँ अध्यायदेखि ३६४ औँ अध्यायसम्मका १० अध्यायहरूमा पनि नागहरूको चर्चा गरिएको छ ।
शेषान्नभोक्ता वचनानुकूलो हितार्जवोत्कृष्टकृताकृतज्ञः ।
अवैरकृद् भूतहिते नियुक्तो गङ्गाह्रदाम्भोऽभिजनोपपन्नः ।। (३५५।११)
अर्थात् नागराज पद्मनाभले यज्ञशेष अन्नको भोजन गर्छ, अनुकूल वचन बोल्छ, हित र सरलभावले रहन्छ, उत्कृष्ट कर्तव्य र अकर्तव्य जान्दछ, कसैसँग वैरभाव गर्दैन, समस्त प्राणीहरूको हितमा लाग्छ र त्यो गङ्गाजीसमान पवित्र र निर्मल कुलमा उत्पन्न भएको छ भन्दै अतिथिले नागराज पद्मनाभका सदाचार र सद्गुणहरूको वर्णन गरी ब्राह्मणलाई उसका सामु जानका लागि प्रेरित गर्छन् । अतिथिका वचनद्वारा सन्तुष्ट भएर ब्राह्मण उसका कथनानुसार नागराजका घरतर्पm प्रस्थान गर्छन् । नागपत्नीले ब्राह्मणको सत्कार र वार्तालाप गरेपछि ब्राह्मण नागराजको आगमनको प्रतीक्षामा बस्छन् ।
नागराजको दर्शनका लागि ब्राह्मणले तपस्या गर्छन् भने नागराजका परिवारले भोजनका लागि ब्राह्मणसँग आग्रह गर्छन् । नागराज घर फर्किएपछि पत्नीसँग धर्मविषयक कुराकानी गर्छन् भने पत्नीले पतिसँग ब्राह्मणलाई दर्शन दिन आग्रह गर्छिन् । पत्नीको धर्मयुक्त वचन सुनेर नागराजको अभिमान र रोषसमेत नष्ट हुन्छ र उनी ब्राह्मणलाई दर्शन दिन अग्रसर हुन्छन् । ‘मनुष्याणां विशेषेण नावेक्ष्या इति मे मतिः’ (३६०।४) अर्थात् विशेष गरेर मान्छेका लागि हामी नागहरूको दर्शन सुलभ छैन भन्ने आफ्नो धारणा रहेको बताउँदै नागराज ब्राह्मणलाई दर्शन दिन अग्रसर भएका हुन् । नागराज र ब्राह्मणको एकआपसमा मिलन र वार्तालाप हुन्छ । ब्राह्मणले सोधेपछि नागराजले सूर्यमण्डलका आश्चर्यजनक घटनाहरू नागराजलाई सुनाउँछन् । उञ्छ र शिलावृत्तिले सिद्ध भएका पुरुषको दिव्य गतिको चर्चा सुनेपछि ब्राह्मण नागराजका सामु उञ्छव्रतको पालना गर्ने निश्चय गरी आफ्नो घरतर्पm जानका लागि नागराजसँग बिदा हुन्छन् ।

३. पुराणहरूमा सर्पको अध्ययन
गहनरूपमा अध्ययन विश्लेषण गर्दा सबै महापुराणहरूमा, सबै उपपुराणहरूमा, सबै औपपुराणहरूमा, सबै अन्य प्रमुख पुराणहरूमा र सबै माहात्म्य एवं स्थाल पुराणहरूमा समेत सर्पहरूको अध्ययन भएको कुरा पत्ता लाग्न सक्ला तापनि प्रारम्भिक अध्ययनअनुसार मुख्यतः अग्नि, पद्म, ब्रह्म, ब्रह्मवैवर्त, भविष्य, भागवत, मार्कण्डेय, वराह, विष्णु र स्कन्द गरी १० महापुराणहरूमा सर्पहरूको अध्ययन भएको पाइएकाले तल तिनको सङ्क्षिप्त चर्चा
गरिएको छ ।
३.१ अग्नि पुराणमा सर्पको अध्ययन
८३७ अध्यायमा विभक्त अग्नि पुराणका २४७, २९४, २९५, २९६ र २९७ औँ गरी पाँच अध्यायहरूमा नागको चर्चा गरिएको छ । २४७ औँ अध्यायमा वास्तुमण्डलको निर्माण गर्ने क्रममा उत्तर दिशामा नागराज सुशोभित हुने कुरा उल्लेख गरिएको छ । २९४ औँ अध्यायमा नागहरूको सर्पदंशको अशुभ नक्षत्र आदि, सर्पदंशका विविध भेद, सर्पदंशका स्थान, मर्मस्थल, सूतक र सर्पदंष्ट मनुष्यको चेष्टा यी सात लक्षणहरू बताइएको छ । शेष, वासुकि, तक्षक, कर्कोटक, पद्म, महापद्म, शंखपाल र कुलिक यी आठ नागहरू श्रेष्ठ रहेका र यीमध्ये दुई दुई नागलाई ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र मानिएको छ । यी चारै वर्णका नागहरू क्रमशः १०००, ८००, ५०० र ३०० फणाले युक्त मानिएको, यिनका वंशज ५०० नाग रहेको र तिनबाट असङ्ख्य नागहरूको उत्पत्ति भएको उल्लेख गरिएको छ । आकारभेदले नागहरू फणी, मण्डली र राजिल तीन प्रकारका हुन्छन् । आषाढदेखि असोज महिनासम्मका तीन महिना सर्पहरूको गर्भधारणको महिना मानिन्छ र गर्भधारणपश्चात् चार महिनापछि सर्पिणीले २४० अण्डा उत्पादन गर्छन् । स्त्री, पुरुष र नपुंसक लक्षणले युक्त हुनुभन्दा पूर्व नै प्रायः सर्पगणले अण्डा खाने गर्छन् । सर्पका कराली, मकरी, कालरात्रि र यमदूती गरी चारवटा विषयुक्त दाह्रा हुन्छन् । सर्पले छ महिनापछि काँचुली फेर्छन् र सर्प साधारणतया १२० वर्षसम्म जीवित रहन्छन् । कुन तिथि, बार र नक्षत्रमा कुन अङ्गमा सर्पले टोक्ता अशुभ हुन्छ, कुन कुन सर्पले टोक्ता मृत्यु हुन्छ अनि सर्प कहाँ कहाँ बस्छन् भन्ने कुराको समेत चर्चा गरिएको छ ।
अग्निपुराणको २९५ औँ अध्यायमा मन्त्र, ध्यान र औषधिबाट सर्पदंशको चिकित्सा गर्न सकिने कुरा उल्लेख गरिएको छ । ‘ॐ नमो भगवते नीलकण्ठाय’ भन्ने मन्त्र जप्ता र घिउका साथमा गोबरको रसपान गर्दा सर्पले टोकेका मान्छेको जीवनरक्षा हुन्छ भन्ने चर्चा गरिएको छ । सर्प, मूसा आदि दाह्रा भएकाले टोकेमा जङ्गम विष र सिङ भएकाले टोकेमा स्थावर विष गरी विष दुई प्रकारका हुन्छन् । न्यास र ध्यानपूर्वक ताक्ष्र्य मन्त्रले सर्पदंष्ट रोगीको हात स्पर्श गरेर मन्त्रज्ञ विद्वान्ले उसको स्थावर र जङ्गम दुवै प्रकारका विषलाई नाश गर्न सक्ने सम्भावनाको समेत चर्चा गरिएको छ । त्यसैगरी अग्निपुराणकै २९६ औँ अध्यायमा पञ्चाङ्गरुद्र विधानका आधारमा पनि विषयको नाश गर्न सकिने कुरा उल्लेख गरिएको छ । त्यस्तै २९७ औँ अध्यायमा विषहारी मन्त्र र औषधीको चर्चा गरिएको पाइन्छ ।

३.२ पद्म पुराणमा सर्पको अध्ययन
छ खण्डमा विभक्त पद्म पुराणको सृष्टिखण्डमा सर्पको अध्ययन गरिएको छ । सृष्टिखण्डअन्तर्गत भीष्मको जिज्ञासामा पुलस्य ऋषिले देवता, दानव, गन्धर्व र राक्षसहरूको उत्पत्तिको वर्णनका क्रममा नागहरूको उत्पत्तिका बारेमा चर्चा गरेका छन् । त्यस क्रममा सुरसाको गर्भबाट १००० सर्पहरूको उत्पत्ति भएको, उत्तम व्रतको पालना गर्ने कद्रूले हजार मस्तक (फणा) भएका १००० नागहरूलाई पुत्रका रूपमा प्राप्त गरेको, तीमध्ये शेष, वासुकि, कर्कोटक, शंख, ऐरावत, कम्बल, धनञ्जय, महानील, पद्म, अश्वतर, तक्षक, एलापत्र, महापद्म, धृतराष्ट्र, बलाहक, शङ्ख, महाशङ्ख, पुष्पदन्त, सुभावन, शङ्खरोमा, नहुष, रमण, पाणिनि, कपिल, दुर्मुख र पतञ्जलिमुख गरी २६ नाग प्रमुखरूपमा विख्यात रहेका, यी सबै पुत्रपौत्रहरूको संख्याको अन्त नभएको र यीमध्ये अधिकांश नाग राजा जनमेजयको सर्पयज्ञमा नष्ट भएको कुरा उल्लेख गरिएको छ । पद्मपुराणकै पातालखण्डको प्रारम्भदेखि श्रीकृष्णको माहात्म्यभन्दा अघिसम्म भगवान् शेषनागले वात्स्यायन मुनिलाई रामाश्वमेधको कथा विस्तारपूर्वक सुनाएका
छन् । यसका आधारमा नागहरूको विद्वत्ता प्रमाणित हुन्छ ।

३.३ ब्रह्म पुराणमा सर्पको अध्ययन
ब्रह्म पुराणअन्तर्गत सबै तीर्थहरूको महिमा बताउने क्रममा नागतीर्थको महिमा, शेषतीर्थको महिमा र कालिय नागको दमनका सन्दर्भमा सर्पको अध्ययन गरिएको छ । नागतीर्थका नामले प्रसिद्ध भएको तीर्थ सम्पूर्ण अभीष्ट वस्तुहरूलाई प्रदान गर्ने र मङ्गलमय रहेको बताउँदै ब्रह्माजीले नागतीर्थको माहात्म्यको विस्तारपूर्वक चर्चा गरेका छन् । प्रतिष्ठानपुरमा चन्द्रवंशी राजा शूरसेनले राज्य गर्दै आएका, लामो समयसम्मको प्रयत्नपश्चात् उत्पन्न भएको उनको पुत्र भयानक सर्प आकारको रहेको, उसलाई राजारानीले लुकाएर राखेका, सर्परूप पुत्र हुनुभन्दा पुत्रहीन हुनु राम्रो भन्ने सोच राजदम्पतीमा पलाएको, सर्प भए पनि उसले मान्छेले जस्तै कुराकानी गर्ने गरेको, वेद अध्ययन नगर्दासम्म द्विज शूद्रसमान हुने बताउँदै उसले पितासँग आफ्नो चूडाकरण, उपनयन र वेदाध्ययन संस्कार गराइदिन अनुरोध गरेको, पिताले ब्राह्मण बोलाएर उसको उपनयन आदि संस्कार गरिदिएको, वेदाध्ययन समाप्त भएपछि उसले आफ्नो विवाह गरिदिन पितासँग अनुरोध गरेको, राजाले मन्त्रीसँग सल्लाह गरी राजा विजयकी पुत्री भोगवतीसँग पुत्रको विवाह गरिदिएको, अनजानमै सर्पसँग विवाह भए पनि नागदेवतासँग आफ्नो विवाह हुन पाएकामा भोगवती प्रसन्न भएको, शिवको सरापबाट सर्परूप धारण गरेका शूरसेनपुत्रले गौतमी तटमा स्नान गरेर शिवको पूजा गरेपछि दिव्य रूप प्राप्त गरेको, पिताको आज्ञाअनुसार पिताको शेषपछि विशाल राज्यको भोग गरी दुवै दम्पती शिवपुरमा गएको, भोगवतीले स्थापना गरेको नागतीर्थमा भगवान् नागेश्वर निवास गर्ने गरेको र यस नागतीर्थमा गरिएको स्नान र दानले सबै तीर्थको फल दिन सक्ने कुरा उल्लेख गरिएको छ ।
रसातलका स्वामी महानाग शेष सम्पूर्ण नागहरूका साथ रसातलमा रहन थाले तर पहिल्यै रसातलमा प्रवेश गरेका राक्षस, दैत्य र दानवहरूले नागराजलाई त्यहाँबाट निकालिदिए । त्यसपछि नागराजले ब्रह्मासँग बिन्ती बिसाए । ब्रह्माजीको आज्ञा पाएर गौतमकी तटमा गई गङ्गास्नान गरेर नागराज शेषले शिवजीको स्तुति गरे । नागराजको स्तुतिबाट प्रसन्न भएर शिवजीले उनलाई मनोवाञ्छित वरदान दिए । शिवजीले नागराजलाई त्रिशूल दिएर त्यसका माध्यमले आफ्ना शत्रुहरूको संहार गर्ने आदेश दिए । तदनुसार नागराज गौतमी तटमा आए । रसातलबाट गौतमी तटसम्म उनी आएको बाटामा एउटा प्वाल प¥यो र त्यही प्वालबाट गौतमी गङ्गाको अत्यन्त पुण्यदायक जल पाताल गङ्गामा गएर मिसियो । शेषनागले विशाल कुण्ड बनाएर हवन गरे र त्यही मोक्षप्रद तीर्थ नै शेषतीर्थका नामले प्रसिद्ध हुन गयो ।
ब्रह्म पुराणमै व्यासले श्रीकृष्णको चरित्रचित्रण गर्ने क्रममा कालिय नागको दमनको समेत चर्चा गरेका छन् । एकदिन श्रीकृष्ण ग्वालाहरूकै साथमा वृन्दावनको भित्र घुम्दै यमुना नदीको तटमा पुगे, जुन यमुनामा कालिय नागको कुण्ड थियो । विषाक्त त्यस कुण्डको जलको छिटा परेर वरपरका वृक्ष र पक्षीहरू डढेका थिए । त्यो देखेर श्रीकृष्णका मनमा कालिय नागको दमन गर्नुपर्छ भन्ने विचार उत्पन्न भयो । तदनुरूप कम्मर कसेर उनी अत्यन्त तीव्र वेगले त्यस कुण्डमा दौडिए । श्रीकृष्ण दौडिएको आवाज सुनेर नागराज र सयौँ नागपत्नीहरू उनका सामु आएर श्रीकृष्णलाई डस्न थाले । त्यो देखेर ग्वालाहरू दौडिँदै व्रजमा आएर श्रीकृष्णलाई छिटै बचाउनुप¥यो भनेर अनुरोध गरे । व्रजवासीहरू यमुनातटमा पुगेर श्रीकृष्णलाई कालिय नागले डसिरहेको देख्ता अत्यन्त दुःखी भए । बलरामले श्रीकृष्णसँग कालिय नागलाई दमन गर्न अनुरोध गरे । श्रीकृष्ण कालिय नागमाथि नै नाच्न थाले र नाग घाइते भयो । त्यतिबेला नागपत्नीहरूले श्रीकृष्णसँग आपूmहरूमाथि कृपा गर्न अनुरोध गरे । फलस्वरूप श्रीकृष्णले कालिय नागलाई अबदेखि तिमी यस यमुनातटमा कहिल्यै नरहनू र आफ्ना परिवारका साथ समुद्रका जलमा जाऊ भन्दै तिम्रो मस्तकमा मेरो चिह्न देखेर नागहरूको शत्रु गरुडले पनि तिमीमाथि प्रहार गर्ने छैनन् भनेर आशीर्वाद दिए । त्यसपछि यमुना नदीको जल विषरहित भएको देखेर सबै व्रजवासीहरू प्रसन्न भए ।

३.४ ब्रह्मवैवर्त पुराणमा सर्पको अध्ययन
चार खण्डमा विभक्त ब्रह्मवैवर्त पुराणमध्ये श्रीकृष्णजन्मखण्डको १९ औँ अध्यायमा कालिय दमनका प्रसङ्गमा सर्पको अध्ययन गरिएको छ । श्रीकृष्ण कालिय दहमा प्रवेश गर्नु, नागराजले उनीमाथि आक्रमण गर्नु, श्रीकृष्णले उसको दमन गर्नु, नागपत्नी सुरसाले श्रीकृष्णको स्तुति गर्नु, श्रीकष्णले सुरसामाथि कृपा राख्नु, सुरसा गोलोक जानु, छायामयी सुरसाको सृष्टि गरिनु, कालियलाई वरदान दिनु, कालियले भगवान्को स्तुति गर्नु, त्यस स्तुतिको महिमा बताउनु, नाग रमणकद्वीपतर्पm प्रस्थान गर्नु, कालिय नाग यमुना नदीको जलमा निवास गर्नुको कारण, गरुडको भय, सौभरिको सरापले गर्दा गरुड कालिय दहसम्म जान नसक्नु, श्रीकृष्ण कालिय दहमा प्रवेश गर्नाले ग्वाला, नन्द, गोपिनी आदि व्याकुल हुनु, उनीहरूलाई बलरामले सम्झाउनु, श्रीकृष्ण कालिय दहबाट निस्किएपछि सबै प्रसन्न हुनुजस्ता भगवान् नारायणले नारदलाई बताएका विषयहरू कालिय दमनका सन्दर्भमा उल्लेख गरिएका छन् ।

३.५ भविष्य पुराणमा सर्पको अध्ययन
चार पर्वमा विभक्त भविष्य पुराणको ब्राह्मपर्वअन्तर्गतका ३२, ३३, ३४, ३५, ३६, ३७, ३८, ५२ र ५३ गरी ९ अध्यायहरूमा सर्पको अध्ययन गरिएको छ । ३२ औँ अध्यायमा पञ्चमी तिथि नागलाई अत्यन्त प्रिय र आनन्ददायी हुने, यस दिन नागलोकमा विशिष्ट उत्सव हुने, पञ्चमी तिथिमा नागलाई दूधले स्नान गराउने व्यक्तिका कुलमा वासुकि, तक्षक, कालिय आदि ठूलठूला नागहरूले अभयदान दिने, समुद्रमन्थन हुँदा पैदा भएको उच्चैःश्रवा घोडाको रङको विषयलाई लिएर नागमाता कद्रू र उनकी सौता विनताका बीचमा होडबाजी हुँदा कद्रूले आपूmलाई जिताउनका लागि पुत्रहरूलाई छल गर्न अनुरोध गरेकी तर पुत्रहरूले नमान्दा जनमेजयले आयोजना गर्ने सर्पयज्ञमा तिमीहरू सबै जलेर नष्ट हुनेछौ भनेर सराप दिएको, सराप पाएको सुनी चिन्तित भएर वासुकि ब्रह्माका सामु पुग्दा जरत्कारु मुनिसँग बहिनी जरत्कारुको विवाह गरेपछि उत्पन्न हुने पुत्र आस्तीकले जनमेजयको सर्पयज्ञलाई रोकी तिमीहरूको रक्षा गर्नेछन् भनेर वरदान पाएको, ब्रह्माजीले पञ्चमीका दिन वरदान दिएको र आस्तीकले पनि पञ्चमीकै दिन नागहरूको रक्षा गरेका कारण पञ्चमी तिथि नागका लागि अत्यन्त प्रिय हुने गरेको कुरा सुमन्तु मुनिले राजा शतानिकलाई बताएका हुन् । साथै उनले पञ्चमीका दिन ‘सर्वे नागाः प्रीयन्तां मे’ (अध्याय ३२, श्लोक ३३) भनी पृथ्वीमा, आकाशमा, स्वर्गमा, सूर्यको किरणमा, तलाउमा र कुवामा रहने नागहरूको पूजा र प्रार्थना गर्नुपर्ने कुराको चर्चा गरेका छन् । सर्पले टोकेर मर्ने व्यक्तिले कस्तो गति प्राप्त गर्दछ ? भन्ने जिज्ञासाको उत्तर दिने क्रममा उनले त्यस्तो व्यक्ति अधोगतिमा जाने भएकाले त्यसको उद्धारका लागि विशेषतः नागपञ्चमीका दिन पूजा गर्ने, प्रत्येक महिनाको चतुर्थी तिथिका दिन एकछाक भोजन गरेर पञ्चमी तिथिका दिन व्रत बसी प्रत्येक महिना क्रमशः अनन्त, वासुकि, शंख, पद्म, कम्बल, कर्कोटक, अश्वतर, धृतराष्ट्र, शंखपाल, कालिय, तक्षक र पिंगल नामक नागको पूजा गर्ने, पाँच ब्राह्मणलाई भोजन गराउने, वर्षभर व्रत गरेर विद्वान् ब्राह्मणलाई सुनको नाग बनाएर दान गरी उद्यापन गर्नाले नागदोषबाट मात्र होइन पितृ ऋणबाट समेत मुक्त हुने कुराको चर्चा गरिएको छ ।
ब्राह्मपर्वको ३३ औँ अध्यायमा सर्पको लक्षण, स्वरूप र जातिका बारेमा अध्ययन गरिएको छ । यस विषयमा शिवतत्त्व रत्नाकर र अभिलषितार्थ चिन्तामणिका साथै आयुर्वेदग्रन्थ सुश्रुत, चरक र वाग्भट्टको चिकित्साख्यानमा पनि चर्चा गरिएको पाइन्छ (कल्याण, पूर्णाङ्क ७८२, पृ.६३) । जेठ र असार महिनामा सर्पहरूमा मद हुन्छ र त्यतिबेला उनीहरू मैथुन गर्छन् । असारदेखि असोजसम्म सर्पिणीले गर्भधारण गर्छन् भने कार्तिकमा २४० अण्डा उत्पादन गर्छन् । तीमध्ये केही अण्डा सर्पिर्णीले प्रतिदिन खाने गर्छन् । सुनजस्तै चम्किने अण्डाबाट पुरुष, लामा रेखाले युक्त भएका अण्डाबाट स्त्री र शिरीषको पूmलजस्तै रङ्ग भएका खण्डाबाट नपुंसक सर्प पैदा हुन्छन् । सात दिनको बालसर्पको रङ कालो हुन्छ । मयूरबाट, मान्छेबाट, चखेवा पक्षीबाट, बिरालाबाट, न्याउरी मुसाबाट, सुँगुरबाट, बिच्छीबाट र गाई, भैंसी, घोडा आदि पशुका खुरबाट गरी आठ प्रकारले सर्पहरूको अकालमै मृत्यु हुन्छ । यिनीहरूबाट बच्न सकेका खण्डमा सर्पहरू १२० वर्षसम्म बाँच्छन् ।
जन्मेको सात दिनमा सर्पका दाँत उम्रन्छन् र एक्काइसौँ दिनमा सर्पका दाँत विषालु हुन्छन् तर समय नपुग्दै जन्मेका सर्पको विषको मात्रा कम हुन्छ र यस्ता सर्पहरू अधिकतम ७५ वर्षभन्दा बढ्ता बाँच्तैनन् । सर्पिणीसँग घुम्ने सर्पलाई बालसर्प भनिन्छ । पच्चीस दिनको बालसर्प पनि विषयुक्त हुने भएकाले प्राणीहरूको जीवन हरण गर्न समर्थ हुन्छ । सर्पका २४० वटा खुट्टा हुन्छन् तर गाईका रौंजस्ता हुने भएकाले तिनलाई हामीले देख्न भने
सक्तैनौँ । सर्पका दुइटा जिभ्रा, बत्तीस दाँत र विषले भरिएका चारवटा दाह्रा हुन्छन् । मकरी, कराली, कालरात्री र यमदूती गरी चार प्रकार सर्पका क्रमशः ब्रह्मा, विष्णु, रुद्र र यम देवता मानिन्छन् । यमदूतीका दाह्रा सबैभन्दा साना हुने भएकाले त्यसले टोक्ता मान्छेको तत्काल मृत्यु हुन्छ र यसले टोकेमा कुनै तन्त्र, मन्त्र र औषधिले काम गर्दैन । सर्पका दाह्रामा सदैव विष रहँदैन । सर्प क्रुद्ध भएपछि दाहिने आँखाको नजिकमा रहेको विष मस्तिष्क, धमनी र नाडीहरूका माध्यमले दाह्रामा आइपुग्छ । दब्नाले, पहिलाको वैरभावले, डरले, यौनेच्छाको मदले, भोकले, विषको वेग हुनाले, आफ्ना सन्तानको रक्षा गर्न र कालको प्रेरणा गरी आठ कारणले गर्दा सर्पले टोक्ने कुराको जानकारी पनि भविष्यपुराणको उक्त अध्यायमा उल्लेख गरिएको छ ।
ब्राह्मपर्वको ३४ औँ अध्यायमा विभिन्न तिथि र विभिन्न नक्षत्रहरूमा कालसर्पले डसेका पुरुषको लक्षण र नागहरूको उत्पत्तिको वर्णन गरिएको छ । अष्टमी, नवमी, कृष्णचतुर्दशी र नागपञ्चमीका दिन सर्पले टोकेमा त्यस्ता व्यक्तिको प्राण बच्न सक्तैन । आद्र्रा, अश्लेषा, मघा, भरणी, कृतिका, विशाखा, पूर्वभाद्रपदा, पूर्वाषाढा, पूर्वफाल्गुनी, मूल, स्वाती र शतभिषा नक्षत्रमा सर्पले डसेका वा विष खाएका व्यक्तिको तत्काल मृत्यु हुन्छ । हाम्रो शरीरमा १०८ वटा मर्मस्थानहरू छन् र तीमध्ये निधारको हड्डी, आँखा, अण्डकोशको माथिल्लो भाग, काखी, काँध, हृदय, छाती, तालु आदिमा सर्पले डसेमा वा शस्त्रले आघात भएमा त्यस्ता व्यक्तिलाई बचाउन सकिँदैन । ब्रह्माजीले अनेकौँ नाग र ग्रहहरूको सृष्टि गरेका थिए । तदनुसार अनन्त नाग सूर्य, वासुकि नाग चन्द्रमा, तक्षक नाग भौम, कर्कोटक नाग बुध, पद्म नाग बृहस्पति, महापद्म नाग शुक्र तथा कुलिक र शंखपाल नाग शनैश्चर ग्रहका स्वरूप मानिन्छन् ।
ब्राह्मपर्वको ३५ औँ अध्यायमा सर्पका विषको वेग, विषको पैmलावट तथा शरीरका सात धातुहरूमा प्राप्त विषको लक्षण र त्यसको चिकित्साका बारेमा चर्चा गरिएको छ । सर्पले यमदूती नामक दाह्राले टोकेमा तथा दिनमा र रातमा दोस्रो र सोह्रौँ प्रहरका बीचको समयलाई नागोदय वेला मानिने भएकाले यतिबेला सर्पले डसेमा उसको मृत्यु अवश्यम्भावी भएका कारण उपचार गर्नु निरर्थक छ । विष छिटै पैmलिने भएकाले सर्पदंष्ट चिकित्सा यथाशक्य छिटो गर्नुपर्छ । सर्पको विष सात चरणमा पैmलिन्छ । रौँ ठाडा हुनु, पसिना आउनु, शरीर काँप्नु, श्रवणशक्ति अवरुद्ध हुनु, बाडुली लाग्नु, घाँटी बाङ्गिनु र अन्तमा प्राणसमेत निक्लनुलाई विष पैmलनुका सात चरण मानिन्छ । विषका यिनै सात चरणबाट शरीरका रक्त, पित्त, कफ, वात, मज्जा आदि सप्तधातुमा विष पैmलिन्छ । सिद्ध मन्त्र र सिद्ध औषधि प्रयोग गर्ने व्यक्तिले मात्र मृतसञ्जीवनी औषधि दिएर सर्पले डसेका व्यक्तिलाई विषरहित बनाउन
सक्छन् ।
ब्राह्मपर्वका ३६ देखि ३८ सम्मका तीन अध्यायमा सर्पहरूका भिन्न भिन्न जातिहरू, सर्पले डसेको लक्षण, पञ्चमी तिथि नागसँग सम्बद्ध हुनुको रहस्य र पञ्चमी तिथिमा नागहरूको पूजा गर्ने विधि एवं त्यसको फलका बारेमा अध्ययन गरिएको छ । सर्पले टोकेमा व्यक्तिको हेराइ माथि हुन्छ, सर्पिणीले टोकेमा व्यक्तिको हेराइ तल हुन्छ, बालसर्पले टोकेमा व्यक्तिको हेराइ दायाँ हुन्छ र बालसर्पिणीले टोकेमा व्यक्तिको हेराइ बायाँ हुन्छ भने गर्भिणी सर्पले टोक्ता पसिना आउँछ, सुत्केरी सर्पले टोक्ता रोमाञ्च र कम्पन हुन्छ अनि नपुंसक सर्पले टोक्ता शरीर क्षीण हुँदै जान्छ । सर्प दिनमा, सर्पिणी रातमा र नपुंसक सर्प साँझ अत्यधिक मात्रामा विषयुक्त हुन्छन् । सर्प दर्वीकर, मण्डली, राजिल र व्यन्तर गरी चार प्रकारका मात्र हुन्छन् भने वर्णका दृष्टिले सर्प ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र चार प्रकारका हुन्छन् । ब्राह्मण सर्प मध्याह्नभन्दा पहिला, क्षत्रिय सर्प मध्याह्नमा, वैश्य सर्प मध्याह्नपछि र शूद्र सर्प साँझका समयमा विचरण गर्छन् । ब्राह्मण सर्पले वायु र पुष्प, क्षत्रिय सर्पले मूसो, वैश्य सर्पले भ्यागुतो र शूद्र सर्पले सबै प्रकारका पदार्थहरू भक्षण गर्छन् । ब्राह्मण सर्पले अघिबाट, क्षत्रिय सर्पले दायाँबाट, वैश्य सर्पले बायाँबाट र शूद्र सर्पले पछाडिबाट डस्छन् तर मैथुनको इच्छाबाट पीडित भएका सर्पमा विषको वेग बढ्ता हुने भएकाले यस्ता सर्पले जुनसुकै समयमा र जुनसुकै दिशाबाट पनि डस्न सक्छन् । ब्राह्मण सर्पको गन्ध पूmलजस्तै, क्षत्रिय सर्पको गन्ध चन्दनजस्तै, वैश्य सर्पको गन्ध घिउजस्तै र शूद्र सर्पको गन्ध माछाको जस्तै हुन्छ ।
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी पर्छ । त्यसदिन ढोकाको दुवैतर्पm गोबरद्वारा नाग बनाउने, दही, दूध, दूबो, पूmल, कुश, गन्ध, अक्षता र अनेक प्रकारका नैवेद्यद्वारा नागको पूजा गरी ब्राह्मणलाई भोजन गराउने व्यक्तिका कुलमा कहिल्यै सर्पको डर हुँदैन । त्यसैगरी भदौको पञ्चमीका दिन विभिन्न रङका नागहरू बनाएर पूजा गर्नाले तक्षक आदि नाग प्रसन्न भएर त्यस्ता व्यक्तिलाई सात पुस्तासम्म आपूmबाट भय नहुने वरदान दिन्छन् । त्यस्तै आश्विन पञ्चमीका दिन कुशको नाग बनाएर पूजा गरी दूधमा पकाएको गहुँ र विभिन्न नैवेद्यको भाग लगाउनाले वासुकि आदि नाग सन्तुष्ट भएर सुख दिन्छन् भने ‘ॐ कुरुकुल्ले फट् स्वाहा’ मन्त्र पढ्ने ठाउँमा कुनै किसिमका सर्पको डर हुँदैन ।
ब्राह्मपर्वका ५२ औँ र ५३ औँ अध्यायमा सूर्यदेवका साथ भ्रमण गर्ने देवता, ऋषि, अप्सरा, गन्धर्व, यक्ष र राक्षसहरूको चर्चा गर्ने क्रममा नागको पनि प्रासङ्गिक अध्ययन गरिएको छ । देवता आदिसँगै नाग पनि सूर्यको रथका साथ घुम्छन् र दुई दुई महिनापछि यिनमा परिवर्तन हुन्छ । तदनुसार चैत्र र वैशाखमा खण्डक र वासुकि नाग, जेठ र असारमा तक्षक र अनन्त नाग, श्रावण र भाद्रमा एलापर्व र शंखपाल नाग, आश्विन र कार्तिकमा ऐरावत र धनञ्जय नाग, मार्गशीर्ष र पौषमा महापद्म र कर्कोटक नाग तथा माघ र फागुनमा काद्रवेय र कम्बलश्वतर नाग सूर्यको रथका साथ घुम्दछन् ।

३.६ श्रीमद्भागवत महापुराणमा सर्पको अध्ययन
१२ स्कन्धहरूमा विभक्त श्रीमद्भागवत महापुराणको दशम स्कन्धका १५ देखि १७ सम्मका तीन अध्यायमा सर्पको अध्ययन गरिएको छ । एकदिन श्रीकृष्ण भगवान् आफ्ना ग्वाला साथीहरूका साथ यमुना नदीको तटमा जान्छन् । जेठअसारको प्रचण्ड गमीले पीडित भएका गाई र ग्वालाहरूले यमुनाको जल पिउँछन् । विषालु जल पिउँदाबित्तिकै उनीहरू सबै बेहोस भएर यमुनाको तटमा पछारिन्छन् । त्यतिबेला श्रीकृष्णले अमृतको वर्षा गराएर सबै गाई र ग्वालाहरूलाई बचाउँछन् । सबै ग्वालाहरूले आपूmहरू यमुनाको विषालु जल पिएर मरेको र श्रीकृष्णले आपूmहरूलाई पुनर्जीवन दिएको यथार्थताको बोध गर्छन् । त्यसपछि श्रीकृष्णलाई कालिय नागले यमुना नदीको जललाई विषाक्त बनाएको ठानी त्यसलाई शुद्ध गर्ने सन्दर्भमा १०१ सिर भएको कालिय नागलाई दमन गर्छन् । नागपत्नीहरू र स्वयं कालिय नागको अनुरोधलाई स्वीकार्दै श्रीकृष्णले गरुडबाट भय नहुने वरदान दिई कालिय नागलाई समुद्रमा जान आदेश दिन्छन् । कालिय नाग कालिय दह वा यमुनातटमा आउनुको कथा पनि भागवतको दशम स्कन्धमा उल्लेख गरिएको छ ।

३.७ मार्कण्डेय पुराणमा सर्पको अध्ययन
मार्कण्डेय पुराणअन्तर्गत नागकुमारहरूद्वारा ऋतध्वजको पूर्ववृत्तान्त वर्णन र नागराजको फणाबाट मदालसाको उत्पत्तिका सन्दर्भमा सर्पको अध्ययन गरिएको छ । अश्वतर नागका दुई पुत्रले आफ्नो रूप लुकाएर ब्राह्मणका रूपमा आपूmलाई प्रस्तुत गर्थे । त्यसैले उनीहरूका साथ ब्राह्मण, क्षत्रिय र वैश्यका बालकहरू पनि रमाएर खेल्थे । एकदिन पिता अश्वतरले ती दुवै पुत्रलाई तिमीहरूको मत्र्यलोकप्रति यति धेरै प्रेम रहनुको कारण के हो ? धेरै दिनदेखि किन तिमीहरू दिनमा मत्र्यलोकमा रहन्छौ र रातमा मात्र पातालमा देखापर्छौ ? भनेर
सोधे । दुवै बालकले राजा शत्रुजित्का पुत्र ऋतध्वजको विनयी स्वभाव र सदाचारले हाम्रो मन नै हरण भएको छ भन्दै उनीविना नागलोक र भूलोकमा कहीँ पनि सुख प्राप्त हुँदैन भन्ने कुरा पितालाई बताउँछन् ।

३.८ वराह पुराणमा सर्पको अध्ययन
२२७ अध्यायमा विभक्त वराह पुराणका २४ औँ र २१४ औँ अध्यायमा सर्पको अध्ययन गरिएको छ । २४ औँ अध्यायमा सर्पहरूको उत्पत्तिको प्रसङ्ग र पञ्चमी तिथिको महत्त्व बताइएको छ । आफ्नो उद्धार गर्ने वराह भगवान्सँग पृथ्वीले तपाईंको श्रीविग्रहको स्पर्श पाएर महान् विक्रमशाली सर्प कसरी मूर्तिमान् भए ? भनेर जिज्ञासा राखेपछि भगवान् वराहले त्यसको उत्तर दिने क्रममा राजा प्रजापालले यही प्रसङ्गमा महातपासँग सोधेको कुरा बताउँदै पृथ्वीको जिज्ञासा शान्त गर्ने प्रयत्न गर्छन् । ब्रह्माजीका प्रथम पुत्र मरीचिबाट पुत्ररूपमा कश्यप जन्मिएका थिए । दक्षपुत्री कद्रूसँग कश्यपको विवाह भएको र कश्यपका अनन्त, वासुकि, महाबली कम्बल, कर्कोटक, पद्म, महापद्म, शङ्ख, कुलिक, पापराजिल आदि नामका अनेकौँ पुत्रहरू उत्पन्न भए । यिनै सर्पका सन्तानहरूबाट यो सारा संसार भरियो । ती सर्पहरू अत्यन्त कुटिल र नीच कर्ममा प्रवृत्त भए । यिनीहरूका मुखमा अत्यन्त तीखो विष भरिएको थियो । यिनीहरूले मान्छेलाई देख्नेबित्तिकै वा डसेर भस्म गर्न थाले । सर्पहरूको डसाइबाट पीडित भएर प्रजाहरू एकदिन ब्रह्माकहाँ पुगे । ब्रह्माले उनीहरूलाई अवश्य रक्षा गर्नेछु भन्ने आश्वासन दिएर घर
फर्काए । त्यसपछि ब्रह्मा अत्यन्त क्रुद्ध भएर वासुकि आदि प्रमुख सर्पहरूलाई बोलाए । तिमीहरूकै कारण मान्छेहरूले मृत्युवरण गर्नुपरेकाले स्वायम्भुव मन्वन्तरमा आफ्नै माताको सरापद्वारा तिमीहरूको संहार हुनेछ भनेर ब्रह्माजीले उनीहरूलाई सराप दिए ।
ब्रह्माजीको सराप पाएर दुःखी भएका सर्पहरूले ब्रह्माजीसँग तपाईंले नै हामीजस्ता कुटिल एवं विषाक्त जातिको सृष्टि गर्नुभएको हो र यसलाई तपाईंले नै शान्त गर्ने कृपा गर्नुहोस् भनेर बिन्ती बिसाए । साथै उनीहरूले आफ्नो कुनै निश्चित ठाउँमा रहने व्यवस्था र डस्ने स्थिति एवं नियम बताइदिन पनि आग्रह गरे । त्यसपछि ब्रह्माले सर्पलाई सुतल, वितल र पातालमा रहने व्यवस्था गर्नाका साथै अत्यन्त दुष्ट र उच्छृङ्खल सर्पको अकालमै जीवनलीला समाप्त हुने, अपकार गर्ने तथा काल आएका व्यक्तिलाई डस्ने र गरुडसम्बन्धी मन्त्र एवं औषधिका ज्ञातासँग सदैव सचेत रहनुपर्ने भन्ने नियमको व्यवस्था गरिदिए । त्यसपछि सर्पहरू पातालमा गएर आनन्दपूर्वक बस्न थालेका हुन् । यी सारा कुराहरू पञ्चमी तिथिमा भएको हुँदा पञ्चमी तिथिका दिन अमिलो पदार्थको भोजनको परित्याग गरी दूधले नागलाई स्नान गराइदिने व्यक्ति सर्पकै मित्र बन्ने विषय पनि वराह पुराणको उक्त अध्यायमा उल्लेख गरिएको छ ।
नन्दिकेश्वरलाई वरदान दिने सन्दर्भमा वराह पुराणको २१४ औँ अध्यायमा देवता, कुबेर आदिको पर्वतमा आगमन हुँदा नागहरूको पनि आगमन भएको चर्चा पाइन्छ । त्यस क्रमा महर्षि कपिल, महाभाग वासुकि, सर्पराज, अमृताशी, हजार फणाले प्रकाशमान अनन्त शेषनाग, धृतराष्ट्र, सर्पका राजा किर्मीर, अम्भोधर, महान् तेजस्वी नागराज तथा सर्पका अध्यक्ष, अरबौँ एवं खरबौँ सर्पहरूको त्यहाँ आगमन भएको कुरा उल्लेख गरिएको छ ।

३.९ विष्णु पुराणमा सर्पको अध्ययन
छ अंशमा विभक्त विष्णु पुराणको पञ्चम अंशको सातौँ अध्यायमा कालिय नागको दमनका सन्दर्भमा सर्पको अध्ययन गरिएको छ । अन्य पुराणमा व्यक्त भएको कालिय नागको दमनको कथावस्तुकै पुनरावृत्ति भएकाले यस पुराणमा सर्पविषयक विशेष चर्चा भएको पाइँदैन ।

३.१० स्कन्द पुराणमा सर्पको अध्ययन
सात खण्डमा विभक्त स्कन्द पुराणका वैष्णवखण्ड, ब्राह्मखण्ड, आवन्त्यखण्ड र नागरखण्ड गरी चार खण्डमा सर्पको अध्ययन भएको छ । वैष्णवखण्डको भूमिवाराहखण्डमा राजा परीक्षित्लाई ब्राह्मणको सराप परेपछि उनलाई बचाउन बाटामा आउँदै गरेका काश्यप ब्राह्मणलाई तक्षक नागले प्रशस्त धन दिई बाटाबाटै फर्काइदिएर परीक्षित्लाई डस्नाले उनको मृत्यु हुन्छ र परीक्षित् राजाको रक्षा नगरेका कारण पापद्वारा कलङ्कित भएका काश्यप ब्राह्मण स्वामिपुष्करिणी नामक पोखरीमा स्नान गर्नाले शुद्ध भएको कुरा उल्लेख गरिएको छ । त्यसैगरी वैष्णवखण्डकै अयोध्या माहात्म्यमा सहस्रधारा तीर्थको माहात्म्यका प्रसङ्गमा सर्पका बारेमा समेत चर्चा गरिएको छ । त्यस क्रममा हजारौँ फणाले सुशोभित शेषनाग पृथ्वीका हजारौँ छिद्रहरूलाई भेदन गर्दै प्रकट हुन्छन् । शेषनागका फणाका हजारौँ मणिहरूले त्यहाँको पृथ्वी दग्ध भएकाले सरयु नदीको तटमा रहेको महातीर्थ नै सहस्रधारा तीर्थका नामले प्रसिद्ध हुन गएको देखिन्छ ।
स्कन्द पुराणको ब्राह्मखण्डअन्तर्गतको ब्रह्मोत्तरखण्डमा सोमवारको व्रतमाहात्म्यका प्रसङ्गमा नागराज तक्षकको संवाद भेटिन्छ । त्यसैगरी आवन्त्यखण्डमा नागतीर्थको महिमाका प्रसङ्गमा समेत सर्पको चर्चा गरिएको छ । महाकाल वनमा कुशस्थली नामक पुरी रहेको र त्यसको दक्षिण भागमा रहेको सनातन तीर्थलाई नै नागहरूको वासस्थान मानिएको छ । त्यहीँ शङ्करले तपस्या गरेका थिए र बकदाल्म्य, लोमश एवं कपिलदेव मुनिले समेत तपस्या गरेर यस तीर्थमा सिद्धि प्राप्त गरेका थिए । आस्तीकका मुखबाट उपर्युक्त कुराहरू सुनेर शेषनाग त्यहीँ निवास गर्न गए भने अन्य नागहरूले पनि आआफ्नो वासस्थान बनाएका थिए ।
नागरखण्डको एउटा अध्यायमा भगवान् शिवले दिएको मन्त्रद्वारा नागरब्राह्मणहरूमाथि आइपरेको सर्पहरूको उपद्रवको निवारणबारे चर्चा गरिएको छ । एउटा उद्दण्ड स्वभावका ब्राह्मणपुत्रले एउटा सानो सर्पलाई लट्ठीले हानेर मारिदिएपछि शेषनागले सराप दिँदै नागरब्राह्मणहरूलाई डस्न थाले । सर्पहरूको डसाइबाट अत्यन्त पीडित भएका ब्राह्मणहरूले शिवजीसँग बिन्ती बिसाएपछि सर्पको भयबाट मुक्ति पाउन शिवजीले ‘नगरम्’ भन्ने मन्त्र दिए, जसका प्रभावले प्रजाहरू सुखपूर्वक रहन थाले ।

३.११ गरुड पुराणमा सर्पको अध्ययन
तीन काण्ड र ३१९ अध्यायमा विभक्त गरुड पुराणका आचारकाण्डका १९ औँ, २० औँ, १९१ औँ र १९७ औँ तथा धर्मकाण्डको ४४ औँ अध्याय गरी पाँच अध्यायमा सर्प र सपंदंशको उपचारका बारेमा अधययन गरिएको छ । १९ औँ अध्यायमा सर्पको विष हरण गर्ने उपायहरू बताइएको छ । श्मशानघाट, पर्वत, कुवा र रूखको प्वालमा बस्ने सर्पले टोक्ता तीन रेखाहरू बन्छन् भने त्यस्तो मान्छे जीवित रहन सक्तैन । षष्ठी तिथि, कर्क रमेष राशिमा आउने नक्षत्र र मूल, अश्लेषा, मघा आदि त्रूmर नक्षत्रहरूमा सर्पले टोकेमा पनि प्राणी जीवित रहन सक्तैन । काखी, कम्मर, गला, जोर्नी, गर्धन र मस्तकमा डसेमा प्राणी जीवत रहँदैन । सर्पले टोक्ने वेलामा दण्डी, शस्त्रधारी, भिक्षु र नग्न प्राणीको दर्शन हुन्छ भने त्यसलाई कालकै दूत सम्झनुपर्छ ।
प्राचीन समयमा पक्षिराज गरुडले सर्पबाट तीनै लोकको रक्षाका लागि ‘ओम् कुरु कुले स्वाहा’ यस महामन्त्रलाई आत्मसात् गरेका थिए । जसका घरमा यो मन्त्र लेखिएको हुन्छ सर्पले त्यसका घरलाई छाडेर जान्छ । जसले यस मन्त्रलाई एक हजारपटक जपेर अभिमन्त्रण गरिएको धागोलाई कानमा धारण गर्छ त्यसलाई सर्पको डर हुँदैन ।
१९१ औँ अध्यायमा सर्प, विच्छी तथा अन्य विषालु जीवजन्तुहरूको विषको चिकित्साका बारेमा अध्यन गरिएको छ । पुष्य नक्षत्रमा पुनर्नवाको सेतो जरो ल्याएर जलका साथ पिउने व्यक्तिका आसपासमा र घरमा सर्प आउन सक्तैन । पुष्य नक्षत्रमा लज्जावली झारको जरो हातमा बाँधेर वा त्यसको लेपन गरेर सर्पलाई पक्रँदा सर्पले टोक्तैन । पुष्य नक्षत्रमै ल्याएको सेतो मन्दार पुष्पको जरोलाई शीतल जलमा पिसेर पिउनाले सर्पदंशको विष नष्ट हुन्छ । १९७ औँ अध्यायमा विषहारी गारुडी विद्याको चर्चा गरिएको छ । यस विद्यालाई सबै प्रकारका विषहरूको अपहारक मानिएको छ । त्यसैगरी धर्मकाण्डको ४४ औँ अध्यायमा सर्पदंशबाट मृत्यु भएका व्यक्तिको काजकिरिया के कसरी गर्ने ? भन्ने बारेमा चर्चा गरिएको छ ।

४. उपसंहार
महाभारत र पुराणहरूका कतिपय विषयहरूको पुनरावृत्ति भएजस्तै सर्पविषयक प्रसङ्गहरूको पनि पुनरावृत्ति हुनु अस्वाभाविक होइन । महाभारत र पुराणहरूमा अभिव्यक्त सर्पसम्बन्धी उपाख्यानहरू वर्तमान समयका लागि समेत प्रेरणादायी छन् । सर्पहरूको वास्तविक पहिचान गर्न, कुन सर्पले कतिबेला डस्ता व्यक्तिमा केकस्ता लक्षणहरू देखापर्छन् र तिनको केकसरी उपचार गर्न सकिन्छ ? भन्ने कुराको ज्ञान गर्न, सर्पले पनि मान्छेले जस्तै कुराकानी गर्न सक्छन् र उनीहरूमा पनि मान्छेमा जस्तै बौद्धिक क्षमता हुन्छ भन्ने कुराको जानकारी लिन र पञ्चमीमा मात्रै सर्पलाई नागदेवता ठानेर किन पूजा गर्नुपर्दो रहेछ ? भन्ने रहस्य बुझ्न पनि महाभारत र पुराणहरूमा भएका सर्पसम्बन्धी अध्ययनहरू सहायकसिद्ध हुन सक्छन् । इतिहास र पुराणको क्षेत्र व्यापक रहेकाले तिनमा अध्ययन गरिएका सर्पसम्बन्धी सम्पूर्ण सन्दर्भहरूलाई आधार बनाएर विद्यावारिधिस्तरीय औपचारिक अनुसन्धानका साथै अनौपचारिक अनुसन्धानहरूसमेत गरिरहनुपर्ने र सर्पलाई शत्रुका रूपमा होइन पर्यावरणको समुचित संरक्षणका लागि उनीहरूलाई मित्रवत् व्यवहार गर्नुपर्ने आवश्यकता देखिन्छ ।

सन्दर्भ कृति–सूची

अग्निपुराण, गीताप्रेस, गोरखपुर ।
कल्याण (भविष्यपुराण विशेषाङ्क, पूर्णाङ्क ७८२), गीताप्रेस, गोरखपुर, सन् १९९२, जनवरी ।
कल्याण (स्कन्दपुराण विशेषाङ्क, पूर्णाङ्क २९०—२९३), गीताप्रेस, गोरखपुर, सन् १९५१, जनवरी—अपै्रल ।
गरुडपुराण, गीताप्रेस, गोरखपुर ।
महाभारत (१–६ खण्ड), गीताप्रेस, गोरखपुर ।
वराहपुराण, गीताप्रेस, गोरखपुर ।
विष्णुपुराण, गीताप्रेस, गोरखपुर ।
श्रीमद्भागवतमहापुराण, गीताप्रेस, गोरखपुर ।
संक्षिप्त पद्मपुराण, गीताप्रेस, गोरखपुर ।
संक्षिप्त ब्रह्मपुराण, गीताप्रेस, गोरखपुर ।
संक्षिप्त ब्रह्मवैवर्तपुराण, गीताप्रेस, गोरखपुर ।
संक्षिप्त मार्कण्डेयपुराण, गीताप्रेस, गोरखपुर ।
संस्कृत वाङ्मयका बृहद् इतिहास (पञ्चदश खण्ड ः पुराण), उत्तर प्रदेश संस्कृत..

(डा. ढकालको फेसबुक वालबाट साभार)

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -