-स्वयम्भुनाथ कार्की
भन्छन बाह्र बर्षमा खोलो फर्कन्छ । कुरो के हो भने काइते तरिकाले संवैधानिक हैसियतबाट पाखा लगाईएका राजा ज्ञानेन्द्रको महत्व र हैसियत लगातार बढ्दैछ । अर्थात नेपालमा संविधान शुरु भएदेखि संवैधानिक रहेका राजा दलहरुको काईते काम पछि आएको संविधान भन्दामाथि भएका छन । साँच्चै भन्ने हो भने नेपालको गणतन्त्र केवल संविधानमा छ जनताको मनमा हैन । जनताको मनमा राजा प्रतिको आस्था तोड्न के सम्म गरिएन ? राज शव्द नै अपच भयो, राजमार्ग लोकमार्ग भए । राजाको नाम लिए वापत पक्राउ परे, अव गर्दिन भनेर ठाडो कागज गराईयो । विपत्तिमा, दुःखमा साझेदार हुन गएका राजालाई बलात रोकियो । पूर्वकुमारी देवीहरुको कार्यक्रममा जान रोक्न गृह नजरवन्द सम्मको नीच काम पनि गरियो । तर जसरी सुन आगोमा पोलिदा झन उज्वल हुन्छ त्यसै गरेर राजा जनताको मनमा झन गहिरो बसे ।
नेपालीको मनबाट राजा हटाउने अथक परिश्रम निरर्थक भएपछि उनीहरुले त्यो आस्था मेट्न नयाँ हतियार ल्याएका छन् । त्यो हो ज्ञानेन्द्र अयोग्य राजा हुन्, उनले मौका पाउँदा पनि गर्न नसकेका हुन । जजसले यो तर्क अगाडी सार्दैछ त्यसको आत्माले आफ्नो इच्छा विपरित राजा फर्केको देख्दैछ । यदि त्यो होईन भने काइते नै सही पाखा लगाएको दोश्रो दशकमा राजाको योग्यतामा प्रश्न उठाउनु पर्ने कुनै कारण नै छैन । किनभने राजाले फिर्ती हुने चहाना नै व्यक्त गरेका छैन, दावी नै गरेका छैनन् । तर राष्ट्रप्रेमले आवश्यक परेको जे सुकै गर्ने कर्तव्य पनि भुलेका छैनन् । हाललाई राजाकै कलमबाट आएको यो कुरा नै उनको योग्यता अयोग्यता नाप्न पर्याप्त हुन्छ ।
“राजनीतिमा देशी–विदेशी र राज्य व्यवस्थाका दिग्गज पण्डितहरू नै दिग्भ्रमित भएपछि मैले राजपाठ परित्यागको एउटा सामयिक अठोट गरें । उदारतापूर्वक परिवर्तनकारी शक्तिहरूबाटै यो मातृभूमिको उत्तरोत्तर प्रगति होला कि भन्ने सोच राखेर नासोका रूपमा श्रीपेच सुम्पेर नारायणहिटी राजदरबारबाट निस्किएँ ।” यो राजाले आफ्नो ७३औ जन्मदिनमा सार्वजनिक भएको सन्देश संग्रहमा लेखेको लेखबाट साभार गरिएको हो । त्यतिखेर विभिन्न कारणले राज्य चलाउन नसकेको मात्र हैन नचाहेको पनि हो । त्यसैले त्यतिखेरको अयोग्यता पक्का हो । त्यसैले राजाबाट परिवर्तनकारी शक्तिहरुलाई चिन्न पनि अयोग्यता नै प्रकट भएछ । मातृभुमीको उत्तरोत्तर प्रगति गर्ने ठानिएका शक्ति त अधोगति गर्ने शक्ति रहेछन । त्यसैले त्यो परिवर्तनकारी शक्तिकोे भक्तिमा लिनहरुलाई राजाको योग्यता वा अयोग्यता जाँच्ने अधिकार नै छैन ।
राजाको रुपमा राजा ज्ञानेन्द्रमा देखिएको राज्य सञ्चालनको अयोग्यता अधिराजकुमार ज्ञानेन्द्रको भने योग्यता, इमान्दारी, अनि भातृभक्ति हो । जो पनि जुनसुकै पदमा पुग्न सक्ने वर्तमान व्यवस्थामा त शीर्ष भनिएका नेताहरु आफ्नो काममा रुची लिनेहरुसँग सशंकित हुन्छन् । आफ्नो कुर्सी खोस्न आएको भनेर त्यसलाई पछार्न खोज्छन् । वंशपरंपरा अनि निश्चित उत्तराधिकारको आधारले चल्ने राजसंस्थामा राजा र राजपाटको उत्तराधिकारी बाहेक अरु पारिवारिक सदस्यहरुले राजकाजमा चासो लिन हुन्न । यो पारंपारिक, शास्त्रीय आदि मान्यता हो, अनुशासन र आचरण हो । त्यसैले त्यो वेलामा उनमा योग्यताको आशा गर्नेलाई मुर्ख नै मान्नु पर्ने हुन्छ ।
तर यी वर्षहरुमा राजाले भोग्नुपरेका सबै कुराले एक योग्य राजा बन्ने शिक्षा दिएको छ । त्यो सोच छ कि छैन थाहा छैन, उक्त लेख कै तलका हरफले यो द्विविधा भने जन्माएको छ । “अहिले पनि १२ वर्षअघिको आफ्नो त्यो कथनको स्मरण गर्दै मेरो अन्तर्मन भन्छ–हाम्रो यो प्यारो देश नेपाल हामी सबै मिलेर बचाउने हो, बनाउने हो । हामी सबै मिलेर हाम्रो देश सिंगार्ने हो अनि हामी सबै जुटेर हाम्रो देशका सबै जनतालाई सुखी र समृद्ध बनाउने हो । अहिले हाम्रो मुलुक नयाँ परिवर्तनमा छ । राजनीतिक परिवर्तनको इच्छा र समसामयिक सन्दर्भलाई बुझेर मैले लोकसम्मत आधारलाई अख्तियार गरें । तत्पश्चात् पनि एक स्वतन्त्र नागरिकका हैसियतले मैले राष्ट्रभक्ति तथा जनहितकारी कार्यविधिलाई नै आफ्नो राष्ट्रिय धर्म ठान्दै आएको छु ।”
विराटनगर १
२०७६ असार २६ गते क्राइम चेक साप्ताहिकमा प्रकाशित