कुनै पनि मानिसले के खानु पर्छ र के खानु हुन्न भन्ने विषयमा आफ्नै खालका तर्क र सिद्धान्त छन् । यिनै कारणले हामी माझ विभिन्न प्रकारका खाद्यवस्तु उपलब्ध भएका हुन् । व्यक्तिले स्वाद, विश्वास र धार्मिक भावनाले आफ्नो आहारा रोजेको देखिन्छ । यो पूर्णत: व्यक्तिगत निर्णय हुन्छ । कसैले शाकाहारी त कसैले मांसाहारी आहारा रोजेका हुन्छन् । तर वैज्ञानिक पक्षलाई ध्यानमा राखेर विचार गर्ने हो भने लगभग हरेक व्यक्तिले आफ्नो खाने बानी सुधार्नुपर्ने हुनसक्छ । हो, रगतको समूह अनुसार पनि मानिसको आहाराको प्रकृति फरक हुन्छ र व्यक्तिको स्वास्थ्यमा रक्त समूह अनुसारको आहाराले विशेष महत्व राख्छ ।
रक्त समूह ओ
यस रक्त समूहका व्यक्तिले मासु, तरकारी, फलफूल आदि खानमा बढी जोड दिनुपर्छ । साथै गहुँ, मकै तथा दुग्धजन्य पदार्थ सकभर कम खानुपर्ने वैज्ञानिकले सुझाव दिएका छन् । रक्त समूह ओ का व्यक्तिले केफिन र अल्कोहलबाट बच्नुपर्छ । यी खाद्यवस्तुले यस समूहका व्यक्तिको पाचन प्रणालीलाई प्रभाव पार्ने गर्छ । केफिनले एड्रेनालिन र नारान्ड्रेनालिनको मात्रा बढाउने भएकाले समूह ओ का मानिसमा यी तत्वको मात्रा धेरै बढी हुन्छ । यी तत्व ती व्यक्तिमा पहिले नै अधिक हुने गर्छ । यसैगरी, यस समूहको रगतलाई अन्य रक्त समूहको दाँजोमा बढी स्वस्थ चिल्लो चाहिन्छ । यिनीहरुको थायराइड पनि अलि सुस्त हुन्छ । यसैकारणले बन्दागोभी, काउली, तोरीको साग यस समूहका मानिसले खानामा सावधानी अपनाउनुपर्ने सुझाव दिइएको छ । यी खाद्य वस्तुले थायराइडको सक्रियता कम पार्छन् । तर ती खाद्य वस्तुलाई पकाएर वा उमालेर खान सकिन्छ ।
समूह ए
यस समूहका मानिसमा जन्मजात तुलनात्मक रुपमा पाचकरसको कमी हुन्छ । खाना पचाउने अम्ल आमाशयमा पर्याप्त मात्रामा नहुँदा यिनीहरुले पशुजन्य प्रोटिन वा चिल्लो सजिलै पचाउन सक्दैनन् । यदि समूह ए का मानिसमा मासु खाने बानी छ भने उनीहरुलाई त्यो पचाउन गाह्रो भएको महसुस हुनेछ । पाचन प्रणाली कमजोर हुने भएकाले यस समूहका मानिसले तरकारी, फलफूल पनि ताजा खानमा जोड दिनुपर्छ । शरीरको प्रतिरक्षा प्रणालीलाई सबल बनाउन यसो गर्नु जरुरी हुन्छ ।
समूह बी
रक्त समूह बी भएकाले मकै, टमाटर, गहुँ, बदाम, तिल आदि खानमा विचार पुर्याउनु पर्छ । यी खाद्यवस्तु तिनीहरुको शरीरमा पच्न गाह्रो हुने भएकाले थकान लाग्ने, रगतमा ग्लुकोजको मात्रा कम हुने तथा पानीको मात्रा बढ्ने लक्षण देखिन्छ । सुँगुर र कुखुराको मासु खानु हुँदैन । यी खाद्यवस्तुले रगतमा असर पार्ने खतरनाक ल्याक्टिन शरीरमा उत्पादन गर्छन् । यस समूहका मानिसले मज्जासँग फलफूल र तरकारी खान सक्छन् । ओलिभको तेल, आलसको तेल, बदाम आदि खान मिल्छ तर सूर्यमुखीको तेल उपयुक्त हुँदैन । खाद्य वस्तुको कुरा हुँदा रक्त समूह बी का मानिस अधिक स्वतन्त्र छन् ।
समूह एबी
यस समूहका मानिसमा ए र बी को मिश्रित गुण हुन्छ । रक्त समूह एबी का मानिसको आमाशयमा कम अम्ल हुन्छ तर उनीहरुमा बी को गुण भएकाले मासु पचाउन सक्ने क्षमता हुन्छ । यस समूहका मानिसले केफिन र अल्कोहल उपभोग गर्नुहुँदैन । तर, रक्त समूह अनुसार आफ्नो आहारा निर्धारण गरेमा हामीलाई वास्तवमै स्वस्थ रहन मद्दत पुग्छ ? भन्ने प्रश्न पनि उठाइन्छ । मेडिनेटमा जनाइए अनुसार हामीले खाएको खाद्यवस्तुले रगतको समूहअनुसार रासायनिक प्रतिक्रिया देखाउँछ । यदि हामीले आफ्नो रक्त समूहअनुसारको आहारा खायाँै भने शरीरले त्यसलाई राम्रोसँग पचाउँछ । तथापि रक्त समूहअनुसारको आहारा सम्बन्धमा धेरै अनुसन्धान भएको छैन । रक्त समूह जे भए पनि आफू खुसी खाना खाने मानिसलाई पर्ने प्रभावको बारेमा विस्तृत अनुसन्धान आवश्यक छ । एक अनुसन्धानले जनाए अनुसार विशेष रक्त समूहका मानिसले तत् अनुरुपको खाना खाने गरेमा उसको रगतमा हानिकारक कोलेस्टेरोल कम गर्न सहयोग पुग्नेगर्छ । (एजेन्सी)
रक्त समूह अनुसारको आहारा
अर्को के पढ्ने...