२०८३ जेष्ठ १९ गते, मंगलवार १३:४८

अग्रवालको कपडा पसलमा प्रहरीको छापा, तीन करोडको सुन र १० लाख नगद बरामद

काठमाडौँ/सुर्खेतको वीरेन्द्रनगर बजारमा छापा मारी प्रहरीले ३ करोड मूल्यबराबरको सुन र १० लाखभन्दा बढी रुपैयाँ बरामद गरेको छ।

गोप्य सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय (कर्णाली) र जिल्ला प्रहरी कार्यालय (सुर्खेत) बाट खटिएका प्रहरी टोलीले छापा सोमबार साँझ वीरेन्द्रनगर नगरपालिका-६, तल्लो बजारमा रहेको शिव इम्पोरियम नामक कपडा पसलमा छापा मारेका हुन्।

प्रहरीले गोप्य सूचनाका आधारमा बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका-१० घर भई वीरेन्द्रनगरमा कपडा व्यापार गर्ने ६५ वर्षीय श्याम सुन्दर अग्रवालको घरमा छापा मारेको हो।

प्रहरीले अग्रवालको साथबाट २ लाख १९ हजार ५०० नेपाली रुपैयाँ, ८ लाख ११ हजार ८०० भारतीय रुपैयाँ र अनुमानित ३ करोड बराबरका सुनचाँदीका गहना बरामद गरेको छ। साथै पैसा गन्ने एउटा मेसिन पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले अग्रवाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिहेको जनाएको छ।

प्रहरीका अनुसार उनले कपडाको पसल देखाएर भारतीय रुपैयाँ र गरगहना धितो राखी ब्याजमा नगद दिने काम गरिरहेका थिए।

पक्राउ गरिएका अग्रवाल गएराति १ बजे बिरामी परेपछि कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM