वीरगन्ज । लिखत सम्बन्धी कसुर तथा किर्ते जालसाजी मुद्दामा बीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह पक्राउ परेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको बिशेष टोलीले मंगलबार बिहान पर्साको ठोरीबाट पक्राउ गरेको हो । अदालतबाट पक्राउ पूर्जी जारी भएका मेयर सिंह फरार अवस्थामा रहेका थिए ।
लिखत सम्बन्धी कसूर तथा किर्ते जालसाजी मुद्दामा गएको जेठ ८ गते पक्राउ पूर्जी जारी भएका राजेशमान सिंह फरार भएका थिए । पक्राउ पूर्जी जारी भएको पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले सूचना लिक गरेपछि उनी फरार भएका थिए ।
नागरिकता प्रकरणमा पक्राउ
मेयर राजेशमान सिंह किन पक्राउ परे त भन्ने घटनाक्रम यस्तो छ–सिन्धुपाल्चोकको इन्द्रावती नगरपालिका–१० निवासी रिता भट्टराई काठमाडौंको खिचापोखरीस्थित टोक्यो स्टोरमा कार्यरत रहँदा मेयर सिंहसँग सम्बन्ध स्थापित भएको थियो ।
सिंह निकट स्रोतले रिता भट्टराईसँग भेट हुनुअघि नै छोरी रुबिनाको जन्म भइसकेको दाबी गरेका छन् । रिता भट्टराईका श्रीमान भारतीय मूलका व्यक्ति रहेको तथा ट्याक्सी चालक पेशामा संलग्न रहेको चर्चा भए पनि त्यसबारे आधिकारिक पुष्टि हुन बाँकी छ । उनी हाल जीवित नरहेको दाबीसमेत विभिन्न स्रोतबाट गरिएको छ ।
यही प्रकरणमा झुट्टा विवरण तथा किर्ते कागजात प्रयोग गरी जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता बनाएको आरोप मेयर सिंहमाथि लागेको हो । सिंहले नक्कली बाबु बनेर रुविनालाई नागरिकता दिलाएको आरोप लाग्दैआएको छ । नेपालको नागरिकतासम्बन्धी कानुनको बिरुद्ध हुनेगरी मेयर सिंह आफैँ नक्कली बाबु बनेर अर्कैकी छोरीलाई आफ्नी छोरी बनाएर वंशजको नागरिकता दिलाएका हुन् ।
राजेशमानकै श्रीमती अन्नपूर्र्ण मानन्धरका अनुसार राजेशमान र उनको एउटा मात्रै छोरा छन् । तर, मेयर सिंहले जिल्ला प्रशासन कार्यालय पर्सामा बाबुका रुपमा उपस्थित भएर रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई नागरिकता दिलाएका थिए । अवैध नागरिकता लिएकी युवती भने पासपोर्ट बनाएर विदेश पुगिसकेकी छन् ।
यसअघि सार्वजनिक भएका विभिन्न कागजातमा भने मेयर सिंहले निर्वाचन आयोगमा व्यक्तिगत विवरण बुझाउँदा तथा बैंक खाता खोल्दा आफ्नो एकमात्र सन्तान छोरा भएको उल्लेख गरेका थिए ।















