काठमाडौँ/झापाको दमकमा नक्कली चाँदीलाई सक्कली भन्दै बिक्री गरिरहेको अवस्थामा वीरगञ्जका दुई युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-६ स्थायी घर भई हाल वीरगञ्ज महानगरपालिका-१५ भिस्वामा बस्दै आएका विशाल साह तेली र वीरगञ्ज-१ छपकैयाका राजु साह सोनार रहेका छन्।
स्थानीयका अनुसार उनीहरूले दमक क्षेत्रमा नक्कली चाँदीलाई सक्कली भन्दै बिक्री गरिरहेका बेला ठगिएको आशंका लागेपछि केही व्यक्तिहरूले नियन्त्रणमा लिएका थिए। त्यसक्रमको भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ।
स्रोतका अनुसार पक्राउ परेकाहरूलाई छुटाउने प्रयास भइरहेको चर्चा पनि चलेको छ, यद्यपि यसको आधिकारिक पुष्टि हुन सकेको छैन।
विशाल साह तेली लामो समयदेखि यस्तै गतिविधिमा संलग्न रहेको र सोहीमार्फत अकूत सम्पत्ति जोडेको आरोपसमेत स्थानीय स्तरमा सुनिएको छ।
घटनापछि प्रहरीलाई जिम्मा लगाइएको र थप अनुसन्धान भइरहेको बताइएको छ। प्रहरीले यस प्रकरणमा अन्य व्यक्तिहरूको संलग्नता भए/नभएको विषयमा पनि छानबिन अघि बढाएको जनाएको छ।















