एआईबाट बनाइएको झुटो तोडफोड, चुनाव जित्न घृणा बेच्ने खतरनाक राजनीति : झापामा रास्वपा–बालेन समूहको प्रचार प्रशासनद्वारा झुटो ठहर
झापा । चुनाव जित्न जनभावना भड्काउने र सहानुभूति बटुल्ने नाममा झुट, नाटक र प्रविधिको दुरुपयोगलाई हतियार बनाउने खतरनाक राजनीतिक प्रवृत्ति झापामा खुलेआम उजागर भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका पूर्व मेयर बालेन शाह निकट समूहले तोडफोड भएको भन्दै सामाजिक सञ्जालमा फैलाएको तस्वीर वास्तविक नभई एआई प्रविधिबाट तयार गरिएको भ्रामक सामग्री भएको जिल्ला प्रशासन कार्यालय झापाले आधिकारिक रूपमा प्रमाणित गरेको छ।
जिल्ला प्रशासनले सार्वजनिक गरेको सूचनाअनुसार, निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत कमल गाउँपालिका–२ मा रहेको रास्वपा उम्मेदवार बालेन्द्र शाह (बालेन) को सम्पर्क कार्यालयमा गम्भीर तोडफोड भएको भनी प्रचार गरिएका तस्वीरहरू घटनास्थलको वास्तविक अवस्थासँग मेल नखाने, बनावटी र भ्रम सिर्जना गर्ने उद्देश्यले तयार पारिएका हुन्। वास्तविक तस्वीरमा कुनै पनि प्रकारको तोडफोड, आगजनी वा हिंसात्मक क्षति नदेखिएको प्रशासनको निष्कर्ष छ।

प्रशासनको यो ठहरसँगै चुनावी प्रतिस्पर्धा अब नीति, कार्यक्रम र विचारको बहसभन्दा घृणा, उत्तेजना र झुटो पीडाको कथा बेच्ने दिशातर्फ धकेलिँदै गएको गम्भीर संकेत देखिएको छ। सहानुभूति बटुल्न एआई जस्तो संवेदनशील प्रविधिको दुरुपयोग गर्दै सामाजिक सञ्जालमा भ्रामक तस्वीर फैलाउनु आचारसंहिता उल्लङ्घन मात्र होइन, लोकतान्त्रिक प्रक्रियामाथि नै आघात हो।
जिल्ला प्रशासनले उक्त कार्यमा संलग्न व्यक्ति वा समूहको पहिचान गरी प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ र विषय निर्वाचन आयोगसम्म जानकारी गराइएको जनाएको छ। यसले चुनावी लाभका लागि ‘जुनसुकै हथकण्डा अपनाए पनि हुन्छ’ भन्ने सोचलाई राज्य संयन्त्रले स्वीकार नगर्ने सन्देश दिएको छ।
राजनीतिमा असन्तोष, आक्रोश र घृणालाई योजनाबद्ध रूपमा उत्पादन गरी भोटमा बदल्ने प्रवृत्ति छोटो समयमा प्रभावकारी देखिए पनि दीर्घकालमा समाजलाई विभाजन, अविश्वास र अराजकतर्फ लैजाने खतरा बोकेको हुन्छ। झापाको यो प्रकरणले चुनाव जित्न सत्यभन्दा ठूलो केही छैन भन्ने मूल्यलाई फेरि एकपटक कठोर ढंगले सम्झाइदिएको छ।
















