वीरगंज । पर्साको वीरगंजमा मोटरसाइकल पार्किङको विषयलाई लिएर भएको विवादले ज्यान लिएको छ। वीरगन्ज महानगरपालिका-१३ मा शुक्रबार बिहान भएको झडपमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका-१३ का केपीचन्द राउत रहेको पर्सा प्रहरीले पुष्टि गरेको छ। प्रहरीका अनुसार राउतले आफ्नो घर अगाडि मोटरसाइकल पार्क नगर्न आग्रह गरेपछि विवाद सुरु भएको थियो।
पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार विवाद चर्किँदै जाँदा धकेलाधकेलको अवस्था सिर्जना भएको थियो।
सो क्रममा गम्भीर घाइते भएका राउतलाई उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो।
प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका-२३ प्रसौनी निवासी अर्जुन यादवले राउतको घर अगाडि जबरजस्ती मोटरसाइकल पार्क गर्न खोजेपछि विवाद उत्पन्न भएको थियो।
सोही झगडामा राउत घाइते भएका थिए। घटनामा संलग्न रहेको आरोपमा अर्जुन यादवलाई प्रहरीले पक्राउ गरिसकेको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ भने मृत्युको वास्तविक कारणबारे सूक्ष्म छानबिन भइरहेको छ।
















