काठमाडौं। झापाको निर्वाचन क्षेत्र ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साह ‘बालेन’ ले झापामा हुँदा प्रयोग गरेको ल्याण्ड रोभर डिफेण्डर गाडी भन्सार छलेर नेपाल भित्र्याइएको खुलेको छ।
करेन्ट चाउचाउका मालिक कमलकिशोर मालपानीका छोरा रितेशको नाममा रहेको उक्त गाडी प्रयोग गरेपछि विवादमा तानिएका बालेनले सो गाडी भन्सार छलेर नेपाल भित्र्याइएको खुलेको हो। त्यसो त मालपानी कर छली लगायतका विवादास्पद पृष्ठभूमिका व्यक्ति हुन्।
उक्त गाडी मालपानीका छोरा नितेश सञ्चालक रहेको त्रिमूर्ति इन्डष्ट्रिज प्रालिको नाममा रहेको यातायात व्यवस्था विभागको अभिलेखमा उल्लेख छ। नविल बैंक लिमिटेडमा राखिएको उक्त गाडीको ऋणीमा पनि त्रिमूर्ति इन्डष्ट्रिज प्रालि उल्लेख छ।
बालेनले प्रयोग गरेको बागमती प्रदेश-०१-०३३ च ४३४३ नम्बरको उक्त गाडी नेपाल भित्र्याउने कम्पनी भने काइरोस इन्टरनेसनल हो। जुन विवादास्पद व्यापारी राकेश अडुकियाले आफन्तको नाममा कम्पनी खोलेर कम भन्सार मूल्यमा गाडी भित्र्याउँदै आएका छन्। अडुकियासँग कमल मालपानीले पनि गाडी तस्करीको साझेदारीमा काम गर्दै आएको भन्सार विभाग स्रोतको भनाइ छ।
स्रोतका अनुसार अडुकियाले उक्त गाडी मालपानीलाई ४ करोड १७ लाखमा बेचेको देखाइए पनि उनीहरूबीच धेरै साँठगाँठमा तस्करीको काम हुँदै आएको छ। मालपानी र भारतीय नागरिक अडुकियाले नक्कली कागजपत्र खडा गरी एक सय प्रतिशतभन्दा बढी राजस्व छली गरेर आधिकारिक बिक्रेता नै नलिई ल्याण्ड रोभर कम्पनीको डिफेण्डर गाडी भित्र्याउँदै आएका हुन्।
उनीहरूले भन्सार विभाग, वाणिज्य विभाग र यातायात व्यवस्था विभागका कर्मचारीहरूसँग सेटिङ गरी धेरै सवारीसाधनहरू कम राजस्व तिरेर भ्यिाइरहेका छन्। भन्सार विभागले अडुकियाको कम्पनी काइरोसलाई १०१ प्रतिशत भन्सार महशुल कम गराई गाडी भित्र्याउन अनुमति दिएको खुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यसमा छानविन गरिरहेको छ।
राजस्व छलीको सेटिङमा मुछिएका सबै तानिए छानविनमा
अख्तियारले नेपालमा अहिलेसम्म भित्रिएका ल्याण्ड रोभर डिफेण्डरको सबै विवरण मगाएपछि अडुकिया र मालपानीको धन्दा बाहिर आएको हो। जसका कारण राजस्व छलीको सेटिङमा मुछिएका भन्सार विभाग, वाणिज्य विभाग र यातायात व्यवस्था विभागका धेरै कर्मचारीहरू अख्तियारको छानविनमा तानिएका छन्।
काइरोसको अवैध कामलाई यातायात व्यवस्था विभागले पनि साथ दिएको छ। काइरोस इन्टरनेसनलले हङकङमा दर्ता भएको अटोमोबाइल युनिभर्सल डेभलभमेन्ट इन्टरनेसनल (औडी) नामक एक साधारण कम्पनीबाट आधिकारिक बिक्रेताको प्रमाणपत्र लिएर उक्त डिफेण्डर गाडी भित्र्याएको देखिन्छ।
औडी पनि अडुकियाकै कम्पनी रहेको प्रष्ट हुने भन्सार विभाग स्रोत बताउँछ। जबकि नेपालको भन्सार महशुल दरबन्दीको पाना नम्बर पाँच सय चौँसठीमा सवारी वा सवारीसाधन पैठारीसम्बन्धी विशेष व्यवस्थाअनुसार सवारी वा सवारीसाधन पैठारी गर्दा विभिन्न सर्तहरू पालना गर्नुपर्ने व्यवस्था गरिएको छ।
सो व्यवस्थाअनुसार निर्माता कम्पनी वा निजको आधिकारिक बिक्रेताबाट खरिद गरिएका नयाँ सवारी वा सवारीसाधन नेपालस्थित आधिकारिक बिक्रेताले मात्र पैठारी गर्न पाउने स्पष्ट उल्लेख छ। यस प्रयोजनका लागि वाणिज्य विभागबाट एजेन्सी दर्ता अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ।
तर, अडुकियाको कम्पनी काइरोसले आफू ज्यागुअर ल्याण्ड रोभर (जेएलआर) को आधिकारिक बिक्रेता रहेको दाबी गरेर गाडी भित्र्याउँदै आएको छ। तर, जेएलआरले नेपालमा आफ्नो कुनै पनि आधिकारिक बिक्रेता नरहेको प्रष्ट पारिसकेको छ।
हिमालय टाइम्स दैनिकबाट
















