वीरगंज/सशस्त्र प्रहरीले १० किलो गाँजा बरामद गरेको दाबी गरे पनि गाँजा कसबाट बरामद भयो भन्ने मूल प्रश्नमा भने मौनता देखाएको छ। बरामद सामाग्री छ, तर त्यसको मालिक (गाँजा व्यापारी) कहीं अत्तोपत्तो छैन-यही तथ्यले स्थानीयवासीदेखि सुरक्षास्रोतसम्म सशस्त्र प्रहरीको भूमिकामाथि आशंका र आलोचना तीव्र बनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वा पर्सा अन्तर्गतको बीओपी पिडारीगुठाबाट खटिएको टोलीले जगरनाथपुर गाउँपालिका-१ बिसनपुर्वामा जाँचका क्रममा १० किलो गाँजा फेला पारेको बताइए पनि यो गाँजा बेवारिसे थियो कि कसैको साथबाट समातिएको हो-विवरण खुलाइएको छैन।
सशस्त्र प्रहरीद्वारा जारी विज्ञप्तिमा ‘कसरी, कहाँबाट, कसको साथबाट’ भनेर स्पष्ट उल्लेख नगरिनु आफैँमा गम्भीर प्रश्नको ढोका खोल्ने परिस्थिती बनेको छ।
“सामग्री त समातिन्छ, मानिस भने छोडिन्छ। सूचना लीक, मिलेमतो र आर्थिक लेनदेनको खेल त्यहि हो।” भन्ने प्रश्न तेर्सिएको छ।
सीमा नजिकैका नाकाहरूमा पछिल्लो समय सशस्त्र प्रहरीको आँखा अगाडि तस्करी बढेको, र विभिन्न समूहले “बार्गेनिङ” गर्दै सामान ‘त्याग्ने’ तर व्यक्तिलाई सुरक्षित पार्ने प्रचलन बढ्दै गएको आरोप दाबीका साथ उठ्दै आएको छ।
बरामद गरिएको गाँजा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा बुझाइएको सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता विश्वराज योन्जनले जानकारी दिए। तर सम्बद्ध व्यक्तिहरू फरार भए कि प्रहरीले नै छोड्यो? यसमा कुनै जवाफ छैन।
सुरक्षा निकायभित्रकै केही स्रोतले पनि पछिल्लो समय सशस्त्र प्रहरीको मिलेमतोमा सीमा क्षेत्रमा अवैध कारोबार अस्वाभाविक रूपमा बढेको बताउँदै आएका छन्। भारतीय सीमा नजिकका पोस्टहरूमा ‘संकेत पाएपछि तस्कर भाग्ने र सामग्री मात्र फाल्ने’ जस्ता गतिविधि देखिनु एक योजनाबद्ध खेलको संकेत भएको उनीहरूको टिप्पणी छ।
यसरी व्यापारी सुरक्षित, गाँजा मात्र समातिएको घटनाले फेरि एकपटक सीमा सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको दाबी छ, तर यस्ता अस्पष्ट विवरणहरूकै कारण “अनुसन्धान” शब्द पनि अहिले शंका पैदा गर्ने शब्दजस्तै बनेको” स्थानीयको कटाक्ष छ।














