चाइना म्यान्ड स्पेस प्रोग्रामका प्रवक्ता झाङ जिङबोका अनुसार हाल चन्द्रमामा मानव अवतरणसम्बन्धी अनुसन्धान तथा विकासका सबै परियोजनाहरू सुचारु रूपमा अघि बढिरहेका छन् । उहाँले लङ मार्च–१० रकेट, चन्द्र अवतरण पोसाक र अन्वेषण सवारी निर्माणलाई यस दिशामा ‘फलदायी उपलब्धि’ का रूपमा वर्णन गर्नुभयो । झाङले भन्नुभयो, “सन् २०३० सम्ममा चन्द्रमामा व्यक्ति पठाउने हाम्रो लक्ष्य अटल र स्पष्ट छ ।”
यो घोषणासँगै चीनले आफ्नो तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा पठाउन लागेको नयाँ अन्तरिक्ष यात्री टोलीको परिचय पनि गराएको छ । यो मिसन चीनको बढ्दो अन्तरिक्ष क्षमताको अर्को महत्त्वपूर्ण चरण हो । नयाँ चालक दलमा झाङ लु, वु फेइ र झाङ होङझाङ रहनुभएको छ । उहाँहरू आगामी शुक्रबार राति ११ः४४ बजे जियुक्वान प्रक्षेपण केन्द्रबाट प्रस्थान गर्नुहृनेछ ।
झाङ लुले यसअघि सेन्झाउ–१५ मिसनमा सहभागिता जनाइसक्नुभएको थियो भने वु फेइ र झाङ होङझाङका लागि यो पहिलो अन्तरिक्ष यात्रा हुनेछ । उहाँहरूले तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा पुगेर करिब छ महिनासम्म अनुसन्धान गर्ने योजना छ ।
यो यात्रामा अन्तरिक्ष यात्रीहरूले दुई नर र दुई पोथीसहित चारवटा मुसा पनि साथ लैजानेछन् । यी जनावरहरूमा भारहीनता र सीमित वातावरणको प्रभाव अध्ययन गरिनेछ, जसले भविष्यको दीर्घकालीन अन्तरिक्ष यात्रामा जैविक अनुसन्धानका लागि मूल्यवान् जानकारी प्रदान गर्नेछ ।
चीनले सन् २०११ मा अमेरिकी प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) बाट अलग भएपछि आफ्नै तियाङ्गोङ, अर्थात् ‘हेभनली प्यालेस’, नामक अन्तरिक्ष स्टेसन निर्माणको काम सुरु गरेको थियो । उक्त कार्यक्रम पिपुल्स लिबरेसन आर्मीको प्रत्यक्ष प्राविधिक समन्वयमा सञ्चालन भइरहेको छ, जसले अमेरिकामा राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ता पैदा गरेको छ ।
तियाङ्गोङ अहिले पूर्णरूपमा सञ्चालनमा छ र चीनले यसलाई पृथ्वीको कक्षामा दीर्घकालीन वैज्ञानिक प्रयोगशाला बनाउने लक्ष्य लिएको छ । प्रत्येक नयाँ टोलीले त्यहाँ सूक्ष्म गुरुत्वाकर्षण, जैविक अनुकूलन र प्राविधिक परीक्षणमा अनुसन्धान गर्छ ।
विश्लेषकहरूका अनुसार चीनको सन् २०३० लक्ष्य विश्वका अन्य अन्तरिक्ष शक्तिहरू — अमेरिका र रूस — सँगको प्रतिस्पर्धामा निर्णायक कदम हुनेछ । यदि सबै योजना सफल भए चीन सो समयसम्म चन्द्रमामा मानव अवतरण गराउने दोस्रो देशका रूपमा स्थापित हुनेछ । (रासस/एपी)
















