१० चैत, काठमाडौं । भारतमा शनिबारदेखि सुरु भएको १८औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् ।
आजको पहिलो खेलम साविक उपविजेता सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्ने छन् । खेल अपराह्न पौने ४ बजेदेखि हैदराबादमा सुरु हुनेछ ।
हैदराबादको कप्तानमा अस्ट्र्लियन प्याट कमिन्स छन् भने राजस्थानको कप्तान सुरुवाती तीन खेलका लागि रियान पराग छन् । सन्जु सामसन चोटबाट पूर्णरूपमा रिकभर भइनसकेकाले उनी ब्याटरको रूपमा ‘इम्प्याक्ट’को रूपमा खेल्ने बुझिएको छ ।
त्यस्तै आजको दोस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स भिड्ने छन् । ५-५ पटकका विजेता यी दुई टोलीबीचको खेल चेन्नईमा बेलुकी पौने ८ मा सुरु हुनेछ ।
चेन्नईको कप्तानमा रुतुराज गायक्वाड छन् भने मुम्बईको यस खेलमा सुर्यकुमार यादवले कप्तानी गर्नेछन् । हार्दिक पान्ड्या एक खेलका लागि प्रतिबन्धित भएकाले उनी टिममा हुने छैनन् ।
यसअघि शनिबार भएको पहिलो खेलमा साविक विजेता कोलकाता नाइट राइडर्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरुले विजयी सुरुवात गरेको छ ।