राकेश गुप्ता/
सर्लाही /सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबास बजारमा रहेको लालीगुँरास एकेडेमीले आफ्नो ४० औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। यस अवसरमा विद्यालयले विविध कार्यक्रमको आयोजना गरेको थियो।
विद्यालयको संस्थापक अध्यक्ष उतम राज शर्माको अध्यक्षता तथा ईश्वरपुर नगर प्रमुख मनोज कुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सर्लाही जिल्लाकै पहिलो निजी विद्यालयका रूपमा परिचित लालीगुँरास एकेडेमीले नर्सरीदेखि कक्षा १२ सम्मको अध्ययन व्यवस्था गर्दै आइरहेको छ। वार्षिकोत्सवको अवसरमा विद्यालयले शैक्षिक प्रदर्शनी, साँस्कृतिक कार्यक्रम तथा विभिन्न सम्मान कार्यक्रमको आयोजना गरेको थियो।
विद्यालयले उत्कृष्ट पाँच जना अभिभावकलाई सम्मान गर्नुका साथै ईश्वरपुर नगरपालिका वडा नं. ८ मा रहेको आदर्श निम्न माध्यमिक विद्यालयका निवृत्त शिक्षक प्रेमकुमार थारुलाई विशेष सम्मान प्रदान गरेको छ। त्यस्तै, नर्सरीदेखि कक्षा १० सम्मका हरेक सेक्सनका ३४ जना विद्यार्थीलाई उत्कृष्ट विद्यार्थी पुरस्कार तथा १४ जना विद्यार्थीलाई खेल प्रतिभा पुरस्कार प्रदान गरिएको प्रधानाध्यापक उज्जवल शर्माले जानकारी दिए।
विद्यालयले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा सिर्जनात्मक कार्यक्रम गर्दै आएको बताएको छ। हाल लालीगुँरास एकेडेमीमा ५९ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् भने १६५० जना विद्यार्थी अध्ययनरत छन्। साथै, विद्यालयले प्रत्येक वर्ष विभिन्न शीर्षकमा गरी २०० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई मासिक शुल्कमा छात्रवृत्ति प्रदान गर्दै आएको विद्यालय प्रशासनले जनाएको छ।