राधेश्याम साह/
रौतहट/रौतहट जिल्ला क्रिकेट संघको आयोजनामा गौर राइस मिल खेलमैदानमा मेयर कप क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। गौर नगरपालिकाको विशेष पहलमा आयोजित ‘मेयर कप २०८१’ को उद्घाटन नगर प्रमुख शम्भु साहले गरेका हुन्।
प्रतियोगितामा गौर नगरका नौ टोलीबीच प्रतिस्पर्धा हुनेछ। आयोजक समितिका अनुसार यस प्रतियोगिताको उद्देश्य युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै शारीरिक फिटनेसप्रति सचेत गराउनु रहेको छ।
उद्घाटन समारोहमा रौतहट जिल्ला क्रिकेट संघका अध्यक्ष पवन साह, गौर नगरपालिकाका योजना शाखा प्रमुख जितेन्द्र भारती, शिक्षा संयोजक उत्तम भट्टराई, विभिन्न वडाका अध्यक्षहरू, मधेश प्रदेश उपाध्यक्ष पवन साह, मधेश प्रदेश सदस्य तथा रौतहट जिल्ला क्रिकेट संघका सचिव प्रमोद साह लगायतका स्थानीय जनप्रतिनिधि तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगिताको पहिलो खेलमा गौर नगरपालिका वार्ड नं. ६ टिमले टस जितेर फिल्डिङ रोजेको थियो। आयोजक समितिका अनुसार प्रतियोगितामा सहभागी विभिन्न टिमहरूले जिल्लाका युवा क्रिकेट खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त गर्नेछन्। खेलकुदले युवा पुस्तालाई शारीरिक रूपमा सक्रिय बनाउन महत्वपूर्ण भूमिका खेल्ने आयोजकहरूले बताएका छन्।
उद्घाटन कार्यक्रममा नगर प्रमुख शम्भु साहले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिका निरन्तर सहयोगी रहने प्रतिबद्धता जनाए। उनले खेलाडीहरूका लागि आवश्यक पूर्वाधार विकास तथा सहयोग उपलब्ध गराउने योजना रहेको बताए।
रौतहट जिल्ला क्रिकेट संघका अध्यक्ष पवन साहले यस्ता प्रतियोगिताहरूले जिल्लामा क्रिकेटको विकासमा महत्वपूर्ण योगदान गर्ने बताए। मधेश प्रदेश उपाध्यक्ष पवन साहले मधेश प्रदेशमा क्रिकेट संरचनालाई मजबुत बनाउन निरन्तर काम भइरहेको जानकारी गराए।
गौरमा सुरु भएको यस प्रतियोगिताले खेलप्रेमीहरूमा उत्साह थपेको छ। खेल हेर्नका लागि स्थानीय दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। केही दिनसम्म सञ्चालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिनेछ। आयोजक समितिले यो प्रतियोगिता हरेक वर्ष आयोजना गरिने प्रतिबद्धता व्यक्त गरेको छ।