काठमाडौं । नेटफ्ल्क्सिले बहुप्रतीक्षित वेब-श्रृंखला ‘स्क्विड गेम’ सिजन ३ को रिलिज मिति घोषणा गरेको छ । जसअनुसार यो दक्षिण कोरियाली सिरिजको नयाँ संस्करण १३ असार (२७ जुन, २०२५)मा स्ट्रिमिङ हुनेछ ।
दोस्रो सिजनले प्लाटफर्ममा कीर्तिमान रचेको केही महिना नबित्दै तेस्रो सिजनको मिति घोषणा भएको हो । तेस्रो सिजनलाई श्रृंखलाको अन्तिम अध्याय मानिएको छ ।
तेस्रो सिजनको मिति घोषणासँगै उक्त सिजनका फस्टलुक पनि सार्वजनिक गरिएको छ । जहाँ कलाकारलाई उनीहरूको लुक्समा देखिएको छ ।
‘स्क्विड गेम’ नेटफ्ल्क्सिको सबैभन्दा लोकप्रिय सिरिज हो । अमेरिकामा मात्र दोस्रो सिजनलाई एकै सातामा ४.९२ बिलियन पटक हेरिएको विवरणहरूमा जनाइएको छ, जुन २६ डिसेम्बर, २०२४ मा रिलिज भएको थियो ।
खतरनाक खेल रोक्न मुख्य पात्र गी-हुनले चालेको दृश्यसँगै दोस्रो सिजन समाप्त भएको थियो । जसले दर्शकमा कौतुहलता जगाएको छ । मुख्य पात्रको रोलमा लि-जङ जेले अभिनय गरेका छन् ।
फ्रन्ट म्यान (ली ब्युङ् हुन)सँग मुख्य पात्र गी-हुनलाई आमनेसामने देखाइएको छ । नेटफ्ल्क्सिले फाइनल खेलको लागि तयारी हुनु भन्दै पोस्टर पनि सार्वजनिक गरेको छ ।