१६ माघ, काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लबले महिला फुटबलमा आफ्नो शक्तिलाई फेरि एकपटक प्रमाणित गर्दै एन्फा महिला लिगको उपाधि जितेको छ ।
सिंगल लिग, डबल राउण्डको सुपर लिग हुँदै प्लेअफ अनि फाइनल समावेश गरेर खेलाइएको महिला लिगमा एपीएफ अपराजित रहँदै च्याम्पियन बनेको हो ।
महिला फुटबलको लिग संरचना नेपालमा कहिल्यै स्थिर नै छैन । बढुवा, घटुवाको व्यवस्था त परै जाओस महिला लिग प्रत्येक वर्ष एउटै संरचनामा समेत हुँदैछ ।
कहिले नकआउट जस्तो, कहिले डबल राउण्ड रोविन लिग, कहिले सिंगल लिग, कहिले एकै लिगमा ३ चरणमा फरक-फरक सिस्टम गरेर महिला फुटबल आयोजना भइरहेको छ । अनि त्यसमा पनि हरेक वर्षको लिग कुन क्लबले खेल्ने, क्लबको मापदण्ड के हुने भन्ने पनि टुङ्गो हुँदैन ।
आखिर जस्तो किसिमको लिग आयोजना भएपनि, जस्तो प्रयोग भएपनि, जुन क्लब वा नगरपालिका वा प्रदेश टिम सहभागी भएपनि अन्तिममा जित्ने एपीएफले नै हो भने जस्तो बनिसकेको छ ।
असली अर्थमा भन्दा एपीएफ महिला फुटबलको शक्ति हो र ‘ट्र्यू च्याम्पियन’ नै हो । महिला लिगको बुधबार दशरथ रंगशालमा भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ४-० ले पराजित गर्दै एपीएफ फेरि च्याम्पियन बनेको हो ।
एपीएफले यसअघि पनि विभिन्न फर्म्याटमा भएको लिग लगातार तीन पटक जितेको थियो र अहिले लगातार चौथो पटक जितेको हो ।
एपीएफले पुलिससँगै गोलरहित बराबरी खेल्दै महिला लिगको यात्रा सुरु गरेको थियो । त्यसपछि लगातार १८ खेल जित्दा एपीएफले अन्तिम खेलमा त्यही पुलिसविरूद्ध सहज जित निकालेको हो ।
यस पटक लिगमा कूल १९ खेल खेल्दा एपीएफले एक खेल छाडेर सबै खेल जित्यो । पहिलो चरणमा ९ मध्ये ८ खेल जितेर एक खेल बराबरी खेलेको एपीएफले सुपर लिगमा सबै ८ खेल जित्यो । अनी क्वालिफायर वान र फाइनल पनि जित्यो ।
पहिलो पटक लिगमा प्रशिक्षक बनेका एपीएफका मुख्य प्रशिक्षक जिवेश पाण्डेले अपराजित भएर च्याम्पियन हुँदा खुशी व्यक्त गरे । ‘च्याम्पियन हुँदा खुशी लाग्छ नै । यो लिगमा पनि एउटा म्याच ड्र भयौ, अरु सबै खेलमा नतिजा ल्याएर नै जित्यौं’ पाण्डेले लिग जितेपछि भने, ‘सबैले राम्रो फुटबल खेल्यो । त्यसले गर्दा राम्रो भयो।’ प्रशिक्षक पाण्डेले यो जित आफ्नो टिम, संगठन, आफ्नो परिवार, खेलाडी सबैलाई समर्पित गर्ने बताए ।
एन्फाले हरेक पटक फरक फर्म्याटमा लिग आयोजना गरेकोले आधिकारिक रुपमा तथ्यांक उपलब्ध छैन । तर एउटा सत्य के हो भने झण्डै पछिल्लो एक दशक एपीएफको महिला टोली घरेलु फुटबलमा हावी बनिरहेको छ र त्यसमा आयोजना भएका लिगको उपाधि एपीएफले नै जितेको छ । एपीएफका प्रशिक्षक पाण्डेले पनि लामो समयदेखि एपीएफ टिम अपराजित नै रहेको बताए ।
एपीएफकी पूर्व कप्तान समेत रहेकी अनु लामाले २०६९ मा धनगढीमा भएको महिला लिगमा फाइनलमा पराजित भएयता एपीएफ अपराजित रहेको बताइन् । पछिल्ला चार लिग अपराजित रहँदै च्याम्पियन बनेको एपीएफ लिगमा ४३ खेलसम्म अपराजित छ ।
सन् २०१७-१८ मा भएको महिला लिगमा एपीएफले पुलिसलाई हराएर च्याम्पियन बनेको थियो । नकआउट फर्म्याटमा भएको त्यस प्रतियोगितामा क्षेत्रिय टिम ५ र ३ विभागी गरी १० टोलीको सहभागिता थियो । जहाँ एपीएफले समूह चरणमा ३ तथा सेमिफाइनल र फाइनल गरी ५ खेल जितेको थियो । त्यसपछि भूकम्पका कारण लिग हुन सकेन र एकै पटक २०२१ मा लिग भयो । ७ टिम सहभागि डबल राउण्ड रोविनका आधारमा भएको त्यस लिगमा एपीएफले सबै १२ खेल जितेर अपराजित रहँदै च्याम्पियन बन्यो । त्यसपछि पछिल्लो पटक सन् २०२२ मा ८ टोली सहभागि डबल लिग नै सुरु भयो । तर पहिलो चरण पछि स्थगित भएको लिगको दोस्रो चरण सुरु हुन सकेन र पहिलो चरणकै नतिजाका आधारमा एपीएफलाई विजेता घोषित गरिएको थियो । जहाँ एपीएफले पहिलो चरणमा खेलेको ७ वटै खेल जितेको थियो ।
फाइनलमा पराजित भएपनि पुलिसका प्रशिक्षक भोलानाथ सिलवालले आफ्नो टिमको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए । एपीएफ जस्तो बलियो टिम विरूद्ध पहिलो हाफमा राम्रो खेलेको र दोस्रो हाफमा थकानले गर्दा खेलाडीले राम्रो खेल्न नसकेको उनले बताए । टिममा फरवार्डको कमी महसुस भएको उनले बताए । पुलिसकी फरवार्ड रेखा पौडेल लिग खेल्न यूएईमा छन् भने दिपा न्यौपाने घाइते भएकोले आराममा छिन् ।
यसै खेलपछि राष्ट्रिय टिम र एपीएफका पूर्वकप्तान तथा लेजेण्ड अनु लामाले पनि आफ्नो खेलाडी करियर अन्त्य गर्दै बुट थन्क्याइन् । यसअघि नै राष्ट्रिय टिमबाट सन्यास लिएकी उनले अब घरेलु फुटबल पनि नखेल्ने निर्णय लिइन् । त्यसमा पनि अन्तिम खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै अन्तिम समयमा गोल गर्दै ट्रफी उचाल्नुको मज्जा नै बेग्लै थियो ।
व्यक्तिगतर्फ पनि एपीएफकै वर्चस्व
एपीएफको पहिलो रोजाइमा राष्ट्रिय टिममा ८ खेलाडी एक साथ खेलेका थिए । सेट टिमकै एन्जिला र साबित्रा नहुँदा पनि एपीएफको टिम राष्ट्रिय टिम जस्तै थियो । अधिकांशले राष्ट्रिय टिमको पहिलो रोजाइमै खेल्दै आएका छन् ।
मैदानमा एपीएफले विपक्षीमाथि डोमिनेट गर्दा च्याम्पियन एपीएफले व्यक्तिगत विधाको अवार्डमा वर्चस्व जमायो । एन्फाले प्रदान गरेको मोस्ट भ्यालुएबल प्लेअर, बेस्ट गोलकिप र रहाइएस्ट स्कोरर सबैको अवार्ड एपीएफले क्लिन स्पीप नै गर्यो ।
एपीएफकी मिडफिल्डर सविता राना मगर लिगको मोस्ट भ्यालुयबल प्लेअर (एमभीपी) बनिन् । उनले एमभीपी अवार्डसँगै नगर १ लाख प्राप्त गरिन् । सविताले एमभीपीए अवार्ड पाएपछि आफूले अवार्ड पाउने नसोचेको बताइन् । साथै उनले आफ्नो यो सुरुवात भएको उत्कृष्ट खेल अझै आउन बाँकी रहेको बताइन् ।
यस्तै एपीएफकै फरवार्ड रश्मी घिसिङले सर्वाधिक ३५ गोल गर्दै हाइएस्ट स्कोररको अवार्ड र नगद ५० हजार पाइन् । राष्ट्रिय टिमकै लागि सर्वाधिक गोलको कीर्तिमान बनाएकी एपीएफबाट खेल्ने फरवार्ड सावित्रा भण्डारी साम्बा नहुँदा एपीएफको स्कोरिङ जिम्मा रश्मीले नै पाएकी थिइन् । त्यसमा उनले न्याय गर्दै सर्वाधिक गोल गरिन् । टिमले आफूलाई विश्वास गर्दा सर्वाधिक गोल गर्न सफल भएको उनले बताइन् ।
एपीएफकी युवा गोलकिपर सावित्री किसनले बेस्ट गोलकिपर बन्दै अवार्ड र नगद ५० हजार नै प्राप्त गरिन् । सावित्रिले पनि बेस्ट गोलकिपर अवार्ड पाउँछु भनेर नसोचेको र पहिलो लिगमै यो अवार्ड पाउँदा यसले मोटिभेट गर्न र भविष्यमा अझ राम्रो प्रदर्शन गर्ने बताइन् ।
नियमित गोलकिपर तथा राष्ट्रिय टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा युरोपियन लिग खेल्ने भएपछि लिगमा अनुपस्थित हुँदा एपीएफको पोष्ट सम्हालेकी सावित्रिले पहिलो पटक शीर्ष लिगमा बेस्ट गोलकिपरको अवार्ड पाएकी हुन् ।
१९ खेलमा एपीएफको नतिजा
एपीएफले आफ्नो पहिलो खेलमा पुलिससँग गोलरहित बराबरी खेल्दै लिग सुरु गरेपनि त्यसयता लगातार १८ वटै खेल जित्यो । त्यसमा एपीएफले दुवै विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबसँग समान ४ खेल खेल्यो । त्यसबाहेक बागमती युथ क्लब र वालिङ नगरपालिकासँग एपीएफले ३-३ खेल जित्यो ।
सुपर लिगमा एपीएफले उत्कृष्ट प्रदर्शन गर्दै सबै ८ खेल जित्यो । डबल लिगको सुपर लिगमा शीर्ष स्थानमा रहेको एपीएफले क्वालिफायर वानमा आर्मीलाई हराएर सिधै फाइनलमा प्रवेश गरेको हो ।
एपीएफले पहिलो चरणको सिंगल लिगमा ९ खेलमा कूल ५३ गोल गर्दा २ गोल मात्र व्यहवरेको थियो । यस्तै सुपर लिग र प्लेअफ गरी १० खेल खेल्दा एपीएफले ४९ गोल गर्यो भने ४ गोल व्यहोरेको थियो । समग्रमा एपीएफ यस लिगमा १९ खेलमा १०२ गोल गर्दा जम्मा ६ गोल मात्र व्यहोर्यो ।
एपीएफ ०-० पुलिस
एपीएफ २-१ आर्मी
चन्द्रपुर नगरपालिका ०-६ एपीएफ
वालिङ नगरपालिका १-२ एपीएफ
कर्णाली प्रदेश ०-६ एपीएफ
संकटा ०-३ एपीएफ
एपीएफ ८-० कोशी प्रदेश
एपीएफ १९-० सुदूरपश्चिम प्रदेश
एपीएफ ७-० बागमती युथ क्लब
सुपर लिग
एपीएफ ५-१ बागमती
एपीएफ ९-० वालिङ
एपीएफ ६-० पुलिस
एपीएफ ३-१ आर्मी
बागमती ०-६ एपीएफ
वालिङ ०-१० एपीएफ
पुलिस ०-२ एपीएफ
आर्मी १-२ एपीएफ
क्वालिफायर वान
एपीएफ २-१ आर्मी
फाइनल
एपीएफ ४-० पुलिस
एपीएफको गोलकर्ता
रश्मी कुमारी घिसिङ : ३५ गोल
सबिता राना मगर : ११
सरु लिम्बु : ११
अनिता केसी : ९ गोल
अनिता बस्नेत : ९ गोल
प्रिती राई : ७ गोल
रेन्का नगरकोटे : ५ गोल
गीता राना : ५ गोल