Tuesday, April 30, 2024
घरसमाचारतातोपानी नाका सञ्चालन र चुनौतीबारे सर्वपक्षीय छलफल 

तातोपानी नाका सञ्चालन र चुनौतीबारे सर्वपक्षीय छलफल 

सिन्धुपाल्चोक । पुरानै लयमा फर्केको नेपाल–चीन बीचको व्यापारिक तातोपानी नाका पुग्ने अरनिको राजमार्गबारे सम्बद्ध सबैले चिन्ता व्यक्त गरेका छन् । 

सिन्धुपाल्चोक क्षेत्र न. १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटाको अग्रसरतामा बुधवार तातोपानी भन्सार कार्यालयमा भएको सर्वपक्षीय छलफलमा सहभागीले बाह्रबिसेदेखि लिपिङसम्मको सडक मर्मत हुन नकस्दा नाका सञ्चालनको दिगोपनाबारे समेत चिन्ता व्यक्त गरेको छन्  ।

सङ्घदेखि स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, भन्सार प्रमुख, अध्यागमन, क्वारेन्टाइन, उद्योग वाणिज्य सङ्घ र स्थानीयको उपस्थितिमा तातोपानी नाका सञ्चालन र चुनौतीबारे छलफल भएको हो ।

लामो समय बन्द रहेर गत भदौ १५ गतेदेखि मानवसहित दोहोरो आवतजावत खुलेको नाकाको सञ्चालन र चुनौतीबारे पूर्व बजेट छलफल र बर्षातको समय पनि सुरु हुन लागेकोले सर्वपक्षीय छलफल राखिएको सांसद सापकोटाकाले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नाका पुग्ने सडकको स्तरोन्नति चीनले गरिदिने विषयमा भएको सहमतिका सन्दर्भमा चिनियाँ पक्षसँग छलफल भएको जानकारी दिँदै सांसद सापकोटाले सडक विभागले बनाएको डिपिआरअनुसार सडक स्तरोन्नति गरिदिन आग्रह गरिएको बताउनुभयो । चीनले नेपालले तयार गरेको डिपिआरअनुसार काम गरेर सडक हस्तान्तरण गर्ने अवस्था नभएमा अर्थ मन्त्रालयबाट बजेट विनियोजन गरेर सडक स्तरोन्नति गरिने उहाँले बताउनुभयो ।  सांसद सापकोटाले सडक स्तरोन्नति, नाकामा अध्यागमन सहितको एकीकृत भवन, नेपालतर्फm स्वागत द्वारका विषयमा आफूले गम्भीरतापूर्वक अग्रसरता लिएर काम गरिरहेको जानकारी दिनुभयो ।

जुरेदेखि लिपिङखण्डलाई प्राथमिकता दिएर काम गर्न सडक विभागलाई सुझाव दिँदै उहाँले कोदारीको इको पहिरो क्षेत्र, डाक्लाङ क्षेत्र, जुरे र बाह्रबिसे क्षेत्रमा सडक सुचारु गर्ने साधन तयारी अवस्थामा राख्न निर्देशन गर्नुभयो । सांसद सापकोटाले सडक विभागका अधिकारीहरूलाई तत्कालीन र दीर्घकालीन  प्राथमिकता अनुसार काम गर्न सुझाव दिनुभयो ।

भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाले स्थानीय सरकारले नाका सञ्चालनका लागि सहजीकरण गरिरहेको बताउनुभयो । अरबौँको राजश्व उठाउने तातोपानी नाकालाई राज्यले गाइको दूध खाएर स्याहार नगरेजस्तो भएको गुनासो गर्नुभयो ।

उहाँले आगामी वर्षसम्म पनि सडक सुधार नभए नाका सञ्चालनमा कठिनाइ हुन सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो । अध्यक्ष शेर्पाले राजश्व उठे अनुसार राज्यले तातोपानी नाकालाई विशेष ध्यान दिनुपर्ने माग गर्नुभयो । उहाँले भन्सार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा अप्ठेरो अवस्था रहेको बताउनुभयो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले नाका क्षेत्रमा क्रमिक सुधार भए पनि धेरै काम हुन बाँकी रहेको बताउनुभयो । बाटोलाई प्राथमिकता दिने सवालमा सबैको एकमत रहेको उल्लेख गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी आचार्यले सङ्घीय सरकारले बजेट निर्माण गर्दा सडक स्तरोन्नतिको विषयलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । 

छलफल आयोजनाका लागि सांसद सापकोटालाई धन्यवाद दिँदै उहाँले नेपालका गाडी लिएर चीनतर्फ जाने विषयमा छलफलको पहल गरिदिन र निकट भविष्यमा हुने नेपाल चीन उच्चस्तरीय छलफलमा नाकासँग जोडिएका विषय उठाइदिन आग्रह गर्नुभयो ।

सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपि सन्तोष खड्काले प्रहरीले सीमा क्षेत्रको सुरक्षा संवेदनशीलतालाई विशेष ख्याल गरेको जानकारी दिँदै राजश्व चुहावट र अवैध सामान नियन्त्रणका सम्बन्धमा सुरक्षा सजकता अपनाइएको बताउनुभयो । नेपाली पक्षबाट हुने सानो गल्तीले पनि नकारात्मक सन्देश प्रवाह हुने भएकोले प्रविधिमा भएको उच्चस्तरको विकासलाई सुरक्षा क्षेत्रमा प्रयोग गर्ने वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो ।

जिल्लाका सशस्त्र प्रहरी प्रमुख एसपी राजेश्वर पोखरेलले जनशक्ति र स्रोत साधनको अभिभावकबीच  नाका क्षेत्रमा सुरक्षा दिइरहेको जानकारी दिनुभयो । उहाँले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा ९ वटा सीमा पिल्लर रहेकोमा बोक्चेन क्षेत्रमा ५४.२ नम्बरको पिल्लरको सुरक्षा एवं २०७१ सालमा भोटेकोशी बाढीले बगाएको ५४.३ नम्बरको सीमा पिल्लर राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

अनुसन्धानका प्रमुख राजन प्रजापतिले भूराजनीतिक हिसाबले महत्त्वपूर्ण नाकाबारे विशेष ख्याल गरिएको बताउनुभयो ।

तातोपानी भन्सार प्रमुख दयानन्द केसीले भन्सारले तोकिएको लक्ष्य अनुसार आठ अर्ब राजश्व उठिसकेको जानकारी दिँदै यो वर्ष १२ अर्ब राजश्व उठ्ने विश्वास व्यक्त गर्नुभयो । नाका सुचारु भएपछि व्यापार, राजश्व, मानिसहरूको आवतजावत बढिरहेको केसीले बताउनुभयो । आगामी साउनदेखि तातोपानी नाका देशकै अत्याधुनिक नाका बन्ने चरणमा रहेको उहाँले बताउनुभयो । 

उहाँले भन्सार पुरानै लयमा फर्किए पनि सडक र पूर्वाधारका कारण चुनौती कायम रहेको बताउनुभयो । भन्सार प्रमुख केसीले  विगत १९ महिनायता भन्सार प्रमुख रहनुभएका केसीले तातोपानी नाका भएर स्थलमार्गबाट आउने चिनियाँ पर्यटकको सङ्ख्या बढिरहँदा नेपालमा झमेला रहेनछ भन्ने भन्ने सन्देश दिन नहुने बताउनुभयो । उहाँले तातोपानी नाका उज्ज्वल भविष्य भएको नाका रहे पनि अहिले आउनेहरूले ७२ साल अघिभन्दा पनि कमजोर अवस्थाको बाटो देखेर दिक्क मान्ने गरेको सुनाउनुभयो ।

कृषि मन्त्रालय अन्तरगत प्लान्ट, पशु र खाद्य गरी तीन वटा क्वारेन्टाइन हेरिरहनुभएका कौशल ओझा, विकास धौभन्जर र कल्पना पाण्डेले सहज रूपमा काम भइरहेको बताउनुभयो  ।

डिभिजन सडक कार्यालय चरिकोटका इन्जिनियर सुरज महर्जनले अरनिको हाइवेको बाह्रबिसेदेखि कोदारी क्षेत्रको स्तरोन्नतिका लागि चार अर्ब खर्च लाग्ने देखिएको जानकारी दिँदै यसका लागि बजेट सुनिश्चित हुन नसकेको बताउनुभयो । उहाँले यो वर्ष बजेट अभावका कारण बिग्रेको बाटो पन्छाउने बाहेकका काम गर्न सकिने अवस्था नरहेको बताउनुभयो । उहाँले अलि अलि भएको बजेटले टालटुलको काम मात्रै भइरहेको जानकारी दिनुभयो  ।

अध्यागमन अधिकृत दिपेन्द्र पौडेलले तातोपानी अध्यागमन कार्यालय समेत नएर अफ्ठेरो झेलिरहनुपरेको गुनासो गर्नुभयो । सरदरमा दैनिक सय जना चिनियाँ पर्यटकले तातोपानी नाका भएर आवतजावत गर्ने गरेको जानकारी दिँदै उहाँले नेपाललाई देख्ने पहिलो मुहार अध्यागमन कार्यालय नै नाजुक अवस्थामा रहेकोले भौतिक अवस्थामा सुधारका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका महासचिव ईश्वर गुभाजुले भन्सार कार्यालयले व्यापारीलाई गरिरहेको सहरीकरणप्रति धन्यवाद ज्ञापन गर्दै नाका खुलेको आठ महिनामा पलाएको आशा कायम रहने वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो । राजनीतिक दलका तर्फबाट भीम पराजुलीले नाकालाई  व्यापार र पर्यटन दुवै क्षेत्रमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो । उहाँले बाह्रबिसे माथिको सडकको स्तरोन्नतिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

भोटेकोशी गाउँपालिका वडा नं ३ का अध्यक्ष मिना सोनाम शेर्पाले खुर्सानी बारीदेखि नाकासम्म पुग्ने सडकलाई नै पहिलो प्राथमिकतामा राखेर काम गर्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले पार्किङ व्यवस्थापनमा पनि काम गर्न आवश्यक रहेको बताउनुभयो । छलफलपछि सांसद सापकोटा सहितको टोलिला लिपि हुँदै मितेरी पुल तरेर चिनिया भूभागसम्म पुगेर स्थलगत जानकारी लिएको थियो ।

साभार लिंक

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img
- Advertisment -