काठमाडौं । समकालिन र नयाँ पुस्तालाई समेत प्रभावित पार्दै अभिनय कर्ममा सक्रिय हरिवंश आचार्यले यस क्षेत्रमा ५ दशक बिताइसके । यही लामो यात्राबारे अहिलेका चर्चित अभिनेता विजय बरालसँग भलाकुसारी गर्दै उनले भने, ‘मेरो उमेर ६७ भयो, तर म काम गर्ने बेला तपाईंको उमेर ३७ वर्षको भएर सोच्छु ।’
दुई पुस्ताका यी कलाकारबीच तेस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवको अन्तिम दिनको अन्तिम सेसनमा मंगलबार भलाकुसारी भएको हो ।
आफूलाई शारीरिक रुपमा स्वस्थ राख्न अनुशासित भएर सामान्य कसरत गर्ने बताउँदै हरिवंशले भने, ‘मानसिक रुपमा स्वस्थ राख्न म नकारात्मक कुरालाई टेबलटेनिसको बललाई हिर्काएजस्तै गरी प्याट्ट अर्कोतिर फाल्छु ।’ उनले आध्यात्मिक रुपमा पनि ध्यान अभ्यासले फाइदा पुगेको सुनाए ।
चरित्र निर्वाह गर्ने क्रममा कहिले युवा त कहिले वृद्ध बन्नुपर्ने भएकोले आवश्यकताअनुसार डेन्टिङ पेन्टिङ पनि गर्ने बताए ।
मण्डला थिएटरको आँगनमा उनले आफूले पहिलो पटक राष्ट्रिय नाचघरमा नाटक गर्दाको क्षण स्मरण गर्दै आफ्ना गुरुहरू जितेन्द्र महत अभिलाषी र हरिप्रसाद रिमाललाई सम्झिए । डायलग बोल्ने कुरामा गुरु रिमालले सिकाएको ज्ञान पछिसम्म उपयोगी भएको उनले बताए । उनले भने, ‘त्यसबेला अहिले जस्तो थिएटर नभएकोले रेडिमेड हलहरुमा गएर प्रस्तुति दिने दिन सम्झिएँ ।’
हास्य व्यंग्य, प्रहसन र नाटकमा धेरै फरक छैन भन्दै उनले आफू सधैं नाटकको नजिक रहेकोमा जोड दिए । कार्यक्रममा आफू नाटकको पृष्ठभूमिबाट आएकोले नै जग बलियो भएको तर्क गर्दै उनले अहिलको सिनेमा क्षेत्र नै थिएटरका कलाकारले नेतृत्व गरेको तर्क गरे ।
‘पूर्णबहादुरको सारंगी’पछि चर्चाको शिखरमा पुगेका विजयले हरिवंशलाई सोधे, ‘एउटा सफल कलाकारले आफूलाई सफलताको विन्दुमा टिकाइराख्न कत्तिको सहज हुन्छ वा तनाव हुन्छ ? त्यसलाई कसरी टिकाइराख्ने ?’
‘उमेर र अनुभव यति धेरै भइसक्यो तर मलाई हरेक पटक शोमा जानुभन्दा अगाडि मुटु ढुकढुक भइरहेको हुन्छ । दुई तीन पल्ट ट्वाइलेट पनि जान्छु । मनमा एक किसिमको डर उत्पन्न भइरहेको हुन्छ,’ उनले भने, ‘त्यो डर नै अनुशासन हो । हरेक पटक लेख्दा यसअघिको भन्दा राम्रो लेख्न सक्छु कि सक्दिनँ भनेर सचेत हुन्छु ।’
पुराना सन्दर्भ स्मरण गर्दैगर्दा हरिवंशले आफ्नो आगामी फिल्म ‘भूठान’मा काम गर्दाको प्रसंग पनि सुनाए । उनले भने, ‘भूठानको स्क्रिप्ट दुई तीन पटक पढेपछि यस चलचित्रमा काम गरे भने मैले पक्कै नयाँ केही गर्न सक्छु भन्ने लाग्यो, अनि मैले भूठानमा काम गर्ने निर्णय लिएँ ।’