काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) मंगलबार सम्पन्न भएको छ । अमजद परवेजको निर्देशन र रमेश रञ्जनको लेखन रहेको मैथिली नाटक ‘सामा चाको सामा चाको अहिवा हे’ मञ्चनसँगै महोत्सव सकियो ।
थापागाउँस्थित मण्डला थिएटरको प्राङ्गणमा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले दमाहा बाजा बजाउँदै महोत्सव सुरु भएको थियो । महोत्सवमा १२ देशका १७ नाटक मञ्चन भए ।
जापान र नेपालको ‘कन्दाता एन्ड शकुन्तला’, भारतको ‘एबओर्जिनल क्राइ’ र ‘तमासा’, चीनको ‘मोचौ मोचौ’, ट्युनिसियाको ‘एसेच’, इरानको ‘एन्टिगोनी’, लिथुवानीया र स्पेनको ‘अराइभ्ड’, चीनको ‘चार्मिङ जिन्जु ओपेर एपिसोड्स’लगायत नाटक मञ्चन भए । नेपालबाट ‘झोडा’ र ‘सामा चाको सामा चाको अहिवा हे’ छनोटमा परेका थिए ।
महोत्सवमा नाटकसँगै कलासंस्कृति, सिनेमा, मिडिया, नीति, राजनीतिलगायत विविध विषयमा हरेक दिन छलफल भए । महोत्सवको पहिलो अन्तरक्रिया यही विषयमा केन्द्रित थियो ।
महोत्सवकै आकर्षण मानिएको अन्तिम दिनको छलफलमा दुई फरक पुस्ताका अभिनेता हरिवंश आचार्य र विजय बरालबीच संवाद भयो । ‘सिमली छायाँमा बसी’ शीर्षकको छलफलमा हरिवंशसँग विजयले नाटक र सिनेमाका नयाँ र पुराना सन्दर्भको चर्चा गरे ।
‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्च : रैथाने ज्ञानको उज्यालो’ नारासहित महोत्सव आयोजना गरिएको थियो । महोत्सव अध्यक्ष तथा अभिनेता दयाहाङ राईले मञ्चन, प्रस्तुति र दर्शकको उत्साहजनक सहभागिताले आफूलाई सन्तुष्ट बनाएको र महोत्सवलाई निरन्तरता दिन ऊर्जा थपेको बताए ।
‘हिजोको रंगमञ्चको यात्रादेखि आजसम्म आइपुग्दा हामीलाई पुरानो पुस्ताले आफ्नो ज्ञान र अनुभव हस्तान्तरण गर्नुभयो । आज हामी हाम्रो पुस्ताले सिकेको ज्ञान र अनुवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रक्रियामा छौं,’ उनले भने, ‘महोत्सवको तेस्रो संस्करणमा हामीले रैथाने ज्ञानको उज्यालो थिममा त्यही हस्तान्तरणको अभ्यास गर्यौं ।’
महोत्सवमा विभिन्न देशबाट सयभन्दा बढी कलाकार सहभागी थिए । एक साता चलेको महोत्सवमा हजारौं श्रोता, दर्शकले सहभागिता जनाए । महोत्सव संयोजक केदार श्रेष्ठले भने, ‘विश्वभरका कलाकार र नेपाली कलाकारले एक अर्काको कामबाट सिक्ने अभ्यास हो महोत्सव । निटफेस्टको एक हप्ता सांस्कृतिक विविधताको आदानप्रदानमा बित्यो । यही नै महोत्सवको उपलब्धी हो ।’
नाटक हेर्नदेखि छलफल सुन्न र अन्य प्रस्तुति हेर्ने दर्शक हरेक दिन बढेको समेत उनले बताए । महोत्सवमा संसारभरका १ सय १५ नाटक आवेदनमा परेका थिए ।