Tuesday, March 25, 2025
घरसमाचारम्याराथनमा अनिश र हाफ म्याराथनमा सन्तोषी पहिलो

म्याराथनमा अनिश र हाफ म्याराथनमा सन्तोषी पहिलो

९ चैत, काठमाडौं । तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन २०२५ मा शनिबार अनिश थापामगर च्याम्पियन भएका छन् । यस्तै महिला हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो भइन् ।

म्याराथनमा पुरुष खेलाडीको मात्र सहभागिता रहेको थियो र त्यसमा अनिशले २ घण्टा २० मिनेट र १९ सेकेन्डमा दौड पूरा गरे । शीर्ष तीन स्थानका लागि कडा प्रतिस्पर्धा भएको दौडमा सुशीलकुमार शाही दोस्रो भए । उनले दौड २ घण्टा २० मिनेट र २५ सेकेन्डमा पूरा गरे । यस्तै तेस्रो हुने केन्याली धावक स्टेफन कोसीले २ घण्टा २० मिनेट ४८ सेकेन्डमा दौड टुंग्याएका थिए ।

कुल १५ लाख २७ हजार रुपैंया पुरस्कार राशि भएको पिस म्याराथन च्याम्पियन भएर अनिशले ३ लाख ५० हजार रुपैंया प्राप्त गरे । यस्तै सुशीलले २ सय ५० र स्टेफनले १ लाख ५० हजार रुपैंया हात पारे ।

महिला हाफ म्याराथनमा सन्तोषीले १ घण्टा २० मिनेट २५ सेकेन्डमा दौड पूरा गर्दै च्याम्पियन भइन् र १ लाख ५० हजार रुपंया जितिन् । पूर्णलक्ष्मी न्यौपाने १ घण्टा २१ मिनेट ३७ सेकेन्डमा दोस्रो भइन र उनले १ लाख रुपैंया प्राप्त गरिन् । यस्तै ८० हजार रुपैंया जित्ने क्रममा चिनिया धाविका चेन वेइ तेस्रो भइन् ।

उनले दौड २ घण्टा २४ सेकेन्डमा पूरा गरिन् । पुरुष ५ किलोमिटर दौडमा नागेश्वर अहिर, गणेशसिंह रावत र भुपेन्द्र सुनार शीर्ष तीन स्थानमा रहे । नागेश्वरले १५ मिनेट ४६.८ सेकेन्डमा दौड पूरा गरे ।

गणेशले १५ मिनेट ५०.४ सेकेन्ड र भुपेन्द्रले १६ मिनेट ०.१ सेकेन्डमा दौड पूरा गरे । महिला ५ किलोमिटर दौडमा २१ मिनेट १४.४४ सेकेन्डमा दौड पूरा गर्दै नीरमाया चौधरी पहिलो भइन् । त्यसपछि दुई चिनिया धाविका आइन् । त्यसमा छिन वान्चीले ३३ मिनेट २७.१८ र वाङ याचीले ३३ मिनेट ४०.२७ सेकेन्डमा दौड पूरा गरे ।

यस्तै ५ किलोमिटर दौडको ब्वाइजमा कृष्ण परियार १६ मिनेट १९.६ सेकेन्डको समय निकाल्दै पहिलो भए । त्यसपछि अमृत विश्वकर्मा १६ मिनेट २८.३ सेकेन्डमा दोस्रो तथा र उमेश बराई १६ मिनेट ५६.३ सेकेन्डको समयमा क्रमशः दोस्रो र तेस्रो भए । गर्ल्स ५ किलोमिटर दौडमा भने चाँदनी पासी, कुशुम ठगुन्ना र माया बाराई शीर्ष तीन स्थानमा रहे । दौड पूरा गर्न चाँदनीलाई २१ मिनेट ४८.३ सेकेन्ड, कुशुमलाई २२ मिनेट २८.६ तथा मायालाई २ मिनेट ३६.७ सेकेन्ड लागेको थियो ।

दौड लुम्बिनी स्क्वायरबाट सुरु भएर त्यहीं टुंगेको थियो । कार्यक्रमका अवसरमा तीन किलोमिटरको वाकाथनको पनि आयोजना गरिएको थियो ।

पिस म्याराथन नेपाल ओलम्पिक कमिटीको आयोजना तथा चिनिया राजदूतावासको सहयोगमा भएको हो । विजेता खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र चिनिया राजदूत चेन सोङलगायत अन्य पदाधिकारीले पुस्कार वितरण गरे ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -