Wednesday, March 12, 2025
घरक्राइम चेकऊर्जामन्त्री खड्का र ईयू राजदूतबीच शिष्टाचार भेट, ऊर्जा क्षेत्रमा सहकार्य विस्तारका विषयमा...

ऊर्जामन्त्री खड्का र ईयू राजदूतबीच शिष्टाचार भेट, ऊर्जा क्षेत्रमा सहकार्य विस्तारका विषयमा छलफल

काठमाडौं, २७ फागुन – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि युरोपियन युनियन (ईयू) की राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा सम्पन्न उक्त भेटमा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा युरोपियन युनियनले पुर्‍याउँदै आएको योगदान तथा भावी सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको थियो।

राजदूत लोरेन्जोले जलवायु परिवर्तन न्यूनीकरण, वैकल्पिक ऊर्जा प्रवर्द्धन तथा स्वच्छ ऊर्जाको प्रयोगलाई तीव्रता दिन नेपालसँग सहकार्य गर्न ईयू प्रतिबद्ध रहेको बताउनुभयो। साथै, नेपालले छिमेकी मुलुकहरूसँग गर्दै आएको ऊर्जा साझेदारीलाई ईयूले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै यस क्षेत्रमा थप सहयोगका लागि पहल गरिने आश्वासन दिनुभयो।

मन्त्री खड्काले नेपाल सरकारको सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य हासिल गर्न दातृ निकायहरूको सहयोग महत्वपूर्ण हुने बताउँदै ईयूको निरन्तर समर्थनप्रति आभार व्यक्त गर्नुभयो। उहाँले नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक संसद्मा पेश भइसकेकाले चाँडै पारित हुने विश्वास व्यक्त गर्नुभयो।

उक्त अवसरमा मन्त्री खड्काले नेपालका ऊर्जा परियोजनाहरूमा ईयूको लगानी र प्राविधिक सहयोग महत्वपूर्ण रहेको बताउँदै भविष्यमा दुवै पक्षबीच सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा व्यक्त गर्नुभयो। यसक्रममा, अप्पर अरुण, दुधकोशी जलाशययुक्त आयोजना जस्ता परियोजनाहरूमा लगानी गर्न ईयू इच्छुक रहेको राजदूत लोरेन्जोले जानकारी दिनुभयो।

भेटमा चिलिमे–त्रिशूली प्रसारण लाइन को उद्घाटन तथा अन्य सम्भावित सहयोगका विषयमा समेत छलफल भएको थियो। ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारी, सहसचिव जीवछ मण्डललगायत मन्त्रालयका उच्च अधिकारीहरू छलफलमा सहभागी रहनुभएको थियो।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -