Wednesday, March 12, 2025
घरक्राइम चेकश्रम रोजगार मेलामा यातायात महासंघको अनुपस्थितिप्रति वरिष्ठ उपाध्यक्ष सिटौलाको असन्तुष्टि

श्रम रोजगार मेलामा यातायात महासंघको अनुपस्थितिप्रति वरिष्ठ उपाध्यक्ष सिटौलाको असन्तुष्टि

काठमाडौं । नेपालका यातायात व्यवसायीहरूको साझा संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले श्रम रोजगार मेलामा महासंघको प्रतिनिधित्व नहुनु गम्भीर विषय भएको टिप्पणी गरेका छन्।

सिटौलाले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यातायात व्यवसायी महासंघको सहभागिता विना आयोजना गरिएको श्रम रोजगार मेला औचित्यहीन रहेको बताएका छन्।

उनका अनुसार नेपालमा सार्वजनिक यातायात क्षेत्रले झण्डै १५ लाख श्रमिकलाई प्रत्यक्ष रोजगारी प्रदान गर्नुका साथै ४० लाखभन्दा बढी नागरिकको जिविकोपार्जनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। साथै, यस क्षेत्रमा निजी क्षेत्रबाट झण्डै १२ खर्ब रुपैयाँ लगानी भइसकेको तथ्य उल्लेख गर्दै उनले सार्वजनिक यातायातको प्रभावकारिता उजागर गरेका छन्।

“सार्वजनिक यातायात क्षेत्रले व्यापार, उद्योग, पर्यटन र समग्र सेवाक्षेत्रलाई चलायमान बनाउन योगदान दिएको छ। यसले न केवल वस्तु तथा जनशक्ति सहज रूपमा ओसारपसार गर्न सहयोग गर्छ, बरु इन्धन खपत घटाई प्रदूषण न्यूनीकरणमा समेत महत्वपूर्ण टेवा पुर्‍याउँछ,” सिटौलाले भने।

यस्तो महत्वपूर्ण क्षेत्रको सहभागिता बिना आयोजना गरिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सेमिनार, गोष्ठी र छलफलहरू व्यावहारिक दृष्टिकोणले प्रभावहीन बन्ने मात्र होइन, तिनको औचित्य समेत खण्डित हुने उनको तर्क छ।

“देशकै एक प्रमुख उद्योग मानिने सार्वजनिक यातायातलाई नीति निर्माण, योजना विकास तथा समसामयिक समस्या समाधानका मञ्चहरूमा समेट्न नसक्दा यस्ता कार्यक्रम प्रभावहीन हुने मात्र होइन, सरकारी ढुकुटीको दुरुपयोग समेत हुन सक्छ,” सिटौलाले भने।

सरकारी पहलले व्यावहारिक सुधारका लागि सम्बन्धित सबै पक्षलाई समेट्न आवश्यक रहेको औंल्याउँदै उनले सार्वजनिक यातायात क्षेत्रको भूमिका र योगदानलाई उपेक्षा गरिनु गम्भीर भूल हुने चेतावनी दिएका छन्।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -