१९ फागुन, काठमाडौं । काठमाडौं विश्वविद्यालयको प्राध्यापक संघले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । केयूको उपकुलपतिका लागि नाम सिफारिस गर्न समितिले ढिलाइ गरिरहेका बेला संघले आन्दोलनको घोषणा गरेको हो ।
संघका सभापति डा. विकास अधिकारीसँग आन्दोलन गर्नुको कारणबारे संक्षिप्त कुराकानी गरेका छौं :
प्राध्यापक संघले आन्दोलन गर्नुपर्ने के कारण आइलाग्यो ?
काठमाडौं विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्न ढिलो भयो । उपकुलपति नियुक्त नहुँदा केयूमा कार्यकारीको परिषद् बस्न सक्दैन । अहिले लिगलरुपमा रजिस्ट्रार र स्कुल अफ आर्टसको डिन मात्र कार्यकारीको सदस्य हुनुहुन्छ ।
केही निर्णय गर्न पनि कार्यकारी पूर्ण छैन । तीन वर्ष भयो तलब बढेको छैन । वैज्ञानिक हिसाबले तलब वृद्धि गर्न एक वर्षदेखि भनिरहेका छौँ । यसको निणर्य कार्यकारीले गर्नुपर्ने हुन्छ । कति डिनको कार्यकाल सकिएको छ । निर्देशक र विभागीय प्रमुख पनि खाली छ ।
यसले अध्ययन अनुसन्धानमा प्रभावित गरेको छ । दैनिक प्रशासनिक काम ठप्प हुने स्थिति बनेको छ । त्यसैले समयमै उपकुलपति बनाउन दबाब दिन आन्दोलन घोषणा गर्न बाध्य भएका हौं ।
भनेपछि नाम सिफारिस गर्न दबाब दिनु भएको हो ?
केयूमा राजनीतिक हस्तक्षेपले जित्ने कि संस्थागत हितले जित्ने भन्ने छ । हाम्रो चिन्ता यतातिर हो । समितिमा दुई लाइनबाट छलफल भएको देखिन्छ । एउटा राजनीतिक भागबन्डा, अर्को संस्थाको हितमा हेरेर निर्णय गर्ने भन्ने । राजनीतिक भागबन्डा गर्दा कांग्रेसको भागमा उपकुलपति, एमालेको भागमा रजिस्ट्रार हुने भयो ।
सात वटा डिन एमाले, कांग्रेस माओवादीको भनेर हुने देखियो । अरु विश्वविद्यालयमा जस्तो मोडेल थियो त्यस्तो केयूमा थिएन । यसपटक केयूमा भागबन्डाबाट हुने कि संस्थापक उपकुलपति सुरेशराज शर्माले भनेको जस्तो संस्थाको हितमा गर्ने भन्ने लडाईं हो ।
उपकुलपति रजिस्ट्रार जस्ता पद भागबन्डा हुँदा कांग्रेस एमालेको प्राध्यापक हुने भयो । यसले प्राज्ञिक वातवरण बन्दैन ।
कुनै एक व्यक्तिलाई बनाउनुपर्छ भने संघको माग हो ?
यही व्यक्तिलाई बनाउनुपर्छ भनेको होइन । उच्च प्राज्ञिक क्षमता भएको, संस्थालाई बुझेको र कम्तिमा दुई दशक बढी विश्वविद्यालयमा बिताएको व्यक्ति उपकुलपति बन्नुपर्छ ।
जो सुकै आएपनि सेवा आयोगबाट प्राध्यापक भएको हुनुपर्छ भन्ने हो । १० जनाको सर्ट लिस्टमा उच्च प्राज्ञिक क्षमता भएको अध्ययन अनुसन्धान बुझेको व्यक्ति समिति छन् । ती व्यक्तिबाट उपकुलपति बनाउनुपर्छ । यसले केयूको हित गर्छ ।
दुई दशक काम गरेका मात्र सक्षम हुन्छन् भन्न खोज्नु भएको हो ?
आफैंले कमाएर चलाउनुपर्ने विश्वविद्यालय हो । राज्यले न्यून आर्थिक सहयोग गर्छ । केयू आफ्नै आय स्रोतले चल्ने हो । रिसर्च फन्डहरू जुटाउनु पर्छ । विद्यार्थी आकर्षित गरेर शुल्कबाट चल्ने हो ।
भागबन्डामा गयो भने विद्यार्थी आाउने क्रम रोकिन्छ । भागबन्डा नगरी उच्च प्राज्ञिक व्यक्ति केयूको नेतृत्वमा आउनुपर्छ । प्राज्ञिक व्यक्ति आउँदा रजिस्ट्रार डिनहरू पनि त्यसै अनुसारको आउँछन् । उपकुलपति भागबन्डामा जाँदा सबै पद भागबन्डामा जान्छ ।
अब आन्दोलन कहिलेम्म चल्छ ?
उपकुलपति नियुक्ति गर्न तीन दिनको सयम दिएका थियौं तर भएन । निर्वाचित संघ भएकाले प्राध्यापकहरूले भनेपछि आन्दोलन घोषणा गरेका हौं । अब कुलपति, सहकुलपति, सिनेट सदस्यहरूलाई भेटेर जानकारी गराउँछौं । फेरि एक हप्ताको समय दिएका छौं । यो अवधिमा पनि नभए पठनपाठन अवरुद्ध नहुनेगरी अर्को आन्दोलनमा जान बाध्य हुन्छौं ।