२९ माघ, काठमाडौं । गत साता बिहीबार कमलपोखरीस्थित ‘सानदार मःम’ पसलमा भएको खाना पकाउने एलपी ग्यास सिलिन्डर विष्फोटमा परी घाइते दुई जनाको उपचार क्रममा ज्यान गयो ।
संघीय राजधानीको केन्द्रमा भएको यो दुर्घटनाले नेपालमा पुनः एक पटक ग्यास सिलिन्डरको सुरक्षा र यसमा सरोकारवालाको भूमिकाबारे प्रश्न खडा गरेको छ ।
बजारमा औपचारिकतामा सीमित सरकारी अनुगमन र उत्पादक, विक्रेता र ढुवानीकर्ताले गर्ने लापरबाही जोखिममा उपभोक्ता परिरहेका छन् । तर, सरकारी संयन्त्र र उद्योगी भने सिलिन्डर दुर्घटनाको दोष उपभोक्तालाई दिएर आफ्नो दायित्वबाट पन्छिने गरेका छन् ।
सामान्यतया उपभोक्तालाई ग्यास सिलिन्डरको सुरक्षित प्रयोगबारे पर्याप्त जानकारी दिन नसक्नु र ढुवानी तथा भण्डारणमा गरिने लापरबाहीले बढी दुर्घटना निम्तिएको आगलागी नियन्त्रण विज्ञ तथा प्रशिक्षक किशोरकुमार भट्टराई बताउँछन् ।
नेपाल गुणस्तर तथा नापतौल विभागका प्रवक्ता प्रभातकुमार सिंहका अनुसार विभागले सिलिन्डर उत्पादन गर्ने उद्योगमा पुगेर सिलिन्डर जाँच गर्ने गर्छ ।
बजारमा औपचारिकतामा सीमित अनुगमनले ग्यास सिलिन्डरको जोखिम पत्ता लगाउन नसक्ने भएसँगै अब उपभोक्ता स्वयं सचेत नभएसम्म जोखिम कायमै रहने विज्ञहरूको भनाइ छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागका प्रवक्ता प्रभातकुमार सिंहका अनुसार विभागले सिलिन्डर उत्पादन गर्ने उद्योगमा पुगेर सिलिन्डर जाँच गर्ने गर्छ । सो क्रममा सरकारले तोकेको मापदण्ड पूरा गरे–नगरेको बारे अनुगमन र अध्ययन हुने उनी बताउँछन् ।
तर, बजार गएर सिलिन्डरको ‘हेल्थ’ बारे भने जाँच नहुने उनको भनाइ छ । सिलिन्डर विस्फोट हुनु वा ग्यास लिक हुनुमा निर्माण प्रक्रिया सही भए पनि त्यसपछिको स्टोरेज, ढुवानी, भान्सामा उपभोक्ताले प्रयोग गर्ने रेगुलेटर र पाइपको गुणस्तरको समेत भूमिका हुने भन्दै उनले यसमा सचेत हुनुपर्ने बताए ।
बजारमा ग्यास सिलिन्डरमा ढुवानीकर्ताले गर्ने लापरबाहीबारे कुनै पनि निकायले अनुगमन गरेको पाइँदैन ।
उता, नेपाल एलपी ग्यास उद्योग संघ अध्यक्ष शिवप्रसाद घिमिरे ९० प्रतिशत दुर्घटना उपभोक्ताले जान–अन्जानमा गर्ने गल्तीका कारण भइरहेको बताउँछन् ।
‘उद्योगीले जानाजान असुरक्षित सिलिन्डर बनाउँदै बनाउँदैन, यसमा ठूलो लगानी भएको हुन्छ, ब्रान्ड सुरक्षित होस् भन्ने चाहना सबैको हुन्छ,’ उनी भन्छन् ।
ग्यास सिलिन्डरको गुणस्तर चिह्न नेपाल गुणस्तर तथा नापतौल विभागले दिने भएकाले निगमले सिलिन्डरको स्वास्थ्यबारे अनुगमन र जाँच नगर्ने निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट बताउँछन् ।
उद्योगभित्र सिलिन्डरलाई सुरक्षित बनाउने आफ्नै संयन्त्र रहेको र त्यसमा फेल हुने सिलिन्डर बजार नपठाइने उनको दाबी छ ।
सोहीकारण सरकारले उपभोक्तालाई सुसूचित गर्न र सिलिन्डरको सुरक्षित प्रयोगमा लगानी बढाउनुपर्ने उनको भनाइ छ । सिलिन्डर उत्पादनका दौरान सोही सिलिन्डरमा निर्माण भएको वर्ष र प्रयोगको अवधि लेखिएको हुन्छ ।
नेपाल आयल निगम नेपालमा ग्यास आयात गर्ने एकमात्र निकाय हो । ग्यास सिलिन्डरको गुणस्तर चिह्न नेपाल गुणस्तर तथा नापतौल विभागले दिने भएकाले निगमले सिलिन्डरको स्वास्थ्यबारे अनुगमन र जाँच नगर्ने निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट बताउँछन् ।
त्यस्तै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले समेत ग्यास सिलिन्डरको सुरक्षाभन्दा पनि बजारमा ग्यास आपूर्ति अवस्थाबारे मात्र अनुगमन गर्छ ।
विभाग महानिर्देशक राजन पौडेलका अनुसार ग्यास किनबेचमा हुने कैफियतमा मात्र यस विभागलाई अनुगमनको अधिकार छ ।
उता, विभिन्न समयमा गरिएको बजार अनुगमन दौरान म्याद सकिएका, लिकेज भएका, कुच्चिएका र बिग्रिएका सिलिन्डर पर्याप्त भेटिने गरेका छन् ।
सिलिन्डर पहिलो पटक प्रयोगमा आएको १० वर्षपछि हाइड्रोलिक परीक्षणमा पठाउनुपर्छ । उक्त परीक्षणमा उपयुक्त ठहर भए पुनः ५ वर्ष प्रयोग गर्न उपयुक्त हुन्छ । परीक्षणमा पठाउन कम समय रहेका वा अवधि गुज्रिएका सिलिन्डर अनुगमन नगरी हेर्ने जिम्मा उपभोक्तामा मात्र छाड्दा बढी जोखिम भइरहेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना बताउँछन् ।
‘सिलिन्डरमा एक त अंग्रेजीमा संकेतका आधारमा मिति राख्ने गरिएको छ, त्यो हाम्रो भान्सामा सबै उपभोक्ताले कसरी पढेर बुझ्न सक्छ ?,’ उनको प्रश्न छ ।
बजारलाई सुरक्षित गराउने दायित्व सरकारी संयन्त्र र उद्योगीको भएको भन्दै अहिले ग्यास सिलिन्डरको सुरक्षाबारे हदैसम्म लापरबाही भइरहेको उनी बताउँछन् ।
‘भान्साको सुरक्षामा ग्यास, सिलिन्डर, रेगुलेटर, पाइप र ग्यास चुलोसम्मको गुणस्तरको भूमिका हुन्छ,’ उनी भन्छन्, ‘बजारमा सिलिन्डर मात्र सुरक्षित पठाएर हुँदैन, पाइप र ग्यास चुलोको गुणस्तरको अनुगमन खोइ ?’
अर्कातर्फ, ढुवानी क्रममा हुने लापरबाहीमा सबैले आँखा चिम्लिने गरेको भन्दै उनको गुनासो छ ।
‘ढलान सडकमा गाडीबाट सिलिन्डर पछारिने गरी फालिएको पाइन्छ, पक्की सडकमा सिलिन्डर घिसारेको पाइन्छ, त्यसले वेल्डिङ गरेको फलाममा कुनै असर पर्दैन भन्ने ग्यारेन्टी छ ?,’ उनको प्रश्न छ ।
प्रयोगकर्ताको संख्या बढ्दै जाँदा जोखिम समेत बढ्ने निश्चित छ । सहरी इलाकामा समेत असुरक्षित ग्यास प्रयोग ग्रामीण भेगमा अझ जोखिमपूर्ण हुन सक्छ ।
अहिले उपभोक्तालाई दोष दिएर बजारमा असुरक्षित सिलिन्डर तथा भान्साका सामान पठाउँदा यसको शिकार जोसुकै हुन सक्ने भन्दै उनले अनुगमनकारी र नियामक निकाय एकअर्कालाई जिम्मेवारी पन्छाउँदै उम्किने प्रवृत्ति गलत भएको बताउँछन् ।
यसको समाधानका लागि पेट्रोलियम कानुन र प्राधिकरण आवश्यक रहेको उनको भनाइ छ ।
‘एउटै निकायले सबै हेर्ने गरी जिम्मेवारी नदिएसम्म गल्ती हुँदा अरूको टाउकोमा दोष थोपर्ने सरकारी निकायलाई जिम्मेवार बनाउन सकिँदैन,’ उनी भन्छन् ।
सुरक्षित भान्साका लागि उपभोक्तामा जनचेतना जगाउन सबै निकाय जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । अहिले पेट्रोलियम पदार्थ सम्बन्धी कारोबारको नियमनका लागि आधा दर्जन ऐन तथा नियमावली रहे पनि एकीकृत ऐन बनाउनेतर्फ सरकार उदासीन देखिन्छ । उता, आफैंले आयत गर्ने ग्यासको गुणस्तर मापन गर्ने ल्याब आयल निगमसँग छैन ।
एलपी ग्यास उद्योग संघ अनुसार नेपालमा ग्यास प्रयोगको इतिहास ५५ वर्ष पुरानो छ । अहिले नेपालमा ५९ ग्यास उद्योग सञ्चालनमा छन् । यद्दपि, देशभरि ४३ प्रतिशत घरपरिवारमा मात्र ग्यासको पहुँच पुगेको छ ।
प्रयोगकर्ताको संख्या बढ्दै जाँदा जोखिम समेत बढ्ने निश्चित छ । सहरी इलाकामा समेत असुरक्षित ग्यास प्रयोग ग्रामीण भेगमा अझ जोखिमपूर्ण हुन सक्छ ।
संघका अनुसार अहिले नेपालमा १ करोड ७५ लाख सिलिन्डर छन् । देशभरि १२ हजार विक्रेता डिलरले ग्यास घरघरमा पुर्याउने गरेका छन् ।
ग्यास खपत पछिल्ला वर्ष भने केही कम हुन थालेको छ । प्रतिवर्ष १५ देखि २० प्रतिशतसम्म खपत बढिरहेकोमा अहिले प्रतिवर्ष ४ प्रतिशतमा खुम्चिएको छ । एलपी ग्यास खपत काठमाडौं र यस आसपासका भेगमा ४० प्रतिशत हुन्छ ।