Tuesday, October 15, 2024
घरविचारधर्म संस्कृतिसंसारमै नि:स्वार्थ मायाकी खानी ‘आमा’

संसारमै नि:स्वार्थ मायाकी खानी ‘आमा’

 

 

 

 

–सीता पौडेल

आमा शव्द आफैंमा यति सुन्दर, परिपूर्ण र पवित्र छ कि लाख कोशिश गरेर पनि हामी अरु कुनै शव्दमा भेट्न सक्दैनौं । मायाकी खानी, ममतामयी आमा अनि उनको निश्चल र निस्वार्थ मायाको अगाडी अरु कुनै पनि यस्तो माया छैन जसको मायामा स्वार्थ नहोस् ।

उत्कृष्ट मानवजाती हामीमा मात्र नभई पशुपन्छीहरुमा पनि मादा प्राणीले आफ्नो सन्तानलाई त्यसरी नै माया गरि रहेको हुन्छ । चराचुरुङ्गीहरुमा पनि त जब सम्म बचेरोको पखेटा लागेर उड्न सक्दैन तब सम्म टाढा टाढाबाट आहारा खोजेर आफ्नो चुच्चोको सहायताले खाना ल्याएर बचेराको पेट भराउने गर्छिन् ।
आमा बिनाको घर र पानी बिनाको माछा उस्ता उस्तै हुन् भन्ने कुरा मात्र त्यो मानिसले बुझ्दछ जसले आमाको निस्वार्थ मायालाई बुझेर महसुस गरेको हुन्छ र उनको सामिप्यलाई आफ्नो सफलता मानेको हुन्छ ।
आमाले आफ्नो सन्तानलाई त्यतिबेला देखि निस्वार्थ माया गर्न थाल्छिन् जब देखि आफू गर्भवति भएको थाहा पाँउछिन् । नौ महीनासम्म गर्भ भित्र नै उनले आफ्नो सन्तानको स्वास्थ्य र सुरक्षाको लागि हरेक सावधानीहरु अपनाउन सुरु गर्छिन् ।

यो सुन्दर संसारमा आफ्नो सन्तानलाई ल्याउन उनले असह्य प्रसव वेदना सहदै जीवन र मृत्युको संघारमा उभिएर कठोर संघर्ष गर्छिन् । शिशुको जन्म संगसंगै उनका धेरै अभिभाराहरु बढ्न थाल्छन् तर ऊनी उफ्फ सम्म नगरी आफ्नो सन्तानलाई ज्ञान, शिक्षा, अनुशासन, संस्कार र सदाचारको पाठ पढाउँदै हुर्क्याउन थाल्छिन् । जतिसुकै दु:ख कष्ट आई परेपनि आफूलाई नै बिर्सेर सन्तानको पेट भर्न पछि पर्दिनन् ।

आमाको लागी हामी जति पनि बयान गरौं कम नै हुन्छ । दु:खद र यथार्थ कुरा के हो भने जब सन्तान बढ्दै जान्छ र उसका असीमित इच्छा र चाहनाले नेटो काटदै जान्छ, त्यतिबेला ऊ आमाको हरेक त्याग र समर्पणलाई भुल्दै सांसारिक र भौतिक मायामोहको खोजीमा भौंतारिन थाल्छ । ऊ ठिक त्यस मृग जस्तै हुन्छ जुन मृगले आफ्नै नाभिमा रहेको कस्तुरीबारे थाहा नपाएर कस्तुरीको बास्नालाई पछ्याउँदै वन भरि भौंतारिएको हुन्छ ।

वृद्ध भई सके पछि तिनै ममतामयी आमा सन्तानको लागि भार बन्न पुग्छिन्, तिनका अर्ती उपदेश अब सन्तानलाई अपाच्य हुन्छ । तिनको समर्पण र त्यागको बदलामा बडो निर्दयीताका साथ उनलाई वृद्धाआश्रम लगिन्छ । उनले दिएका ज्ञान, उपदेश अनि सारा शिष्टता र संस्कारलाई बिर्सेर असभ्यता, अशिष्टता अनि विकृतिलाई भित्र्याउँछन् । सन्तान जति कपुत भएपनि आमाको मायामा कहिल्यै कुनै कमी आउँदैन बरु उनी चिन्तित बन्न पुग्छिन् तर सन्तान…?

आमाको प्रसङ्गमा मलाई आज आफ्नो जन्मभूमि, मातृभुमी नेपाल आमाको पनि कुरा गर्न मन लाग्यो । नेपाल आमाका हामी कपुत सन्तानले आज उनलाई त्यसरी नै धरधरी रुवाएका छौं । अती नै मनोहर र सुन्दरताले भरिएको उनको काखमा बसेर उनैले नै दिएको गाँस बाँसमा रमाउँदै उनैको अपमान गर्न कुनै कसर बाँकि राखेका छैनौं ।

धिक्कार छ हामी जस्ता कपुत सन्तानलाई  जसले आमाको संरक्षण गर्न जानेनौं र पटकपटक उनको छातीमा प्रहार गरिरह्यौं र अझै पनि गर्दै छौं । नेपाल आमाको सुन्दरताको चिरफार गर्दा के हामीमा अलिकति पनि अफसोस छैन ? छातीमा हात राखेर स्वच्छ मनले मनन गरौं यदि छ भने मातातिर्थ औंसीको शुभअवसरमा प्रण गरौं कि अब हामी असल सपुत बन्दै नेपाल आमाको आँसु पुछ्दै उनको मुहारमा उज्यालो र हाँसो ल्याउने छौं भनी ।

प्रकाशन मितिः २०७३ वैशाख २३ गते बिहीबार

साभारः क्राइमचेक साप्ताहिक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -