सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको पार्टी पंक्ति यतिबेला वडाकेन्द्रित अभियानमा छ । ‘जरा अभियान’ नाम दिएर आगामी वैशाखसम्म चल्ने अभियानमा केन्द्रीय पदाधिकारीहरू समेत परिचालित छन् ।
मिसन–०८४ अन्तर्गत एमालेको यो चौथो ठूलो अभियान हो । तीन महिने ‘मिसन ग्रासरुट’, मध्य पहाडी लोकमार्ग केन्द्रित ‘संकल्प यात्रा’ र एक वर्षे शुद्धीकरण अभियान चलाइसकेको एमालेले जरा अभियान मार्फत गैरएमालेसम्म पुग्ने लक्ष्य लिएको छ ।
यही जरा अभियानबारे एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालसँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानीः
तपाईंहरू मिसन–०८४ को लक्ष्यसहित वडाकेन्द्रित अभियानमा हुनुहुन्छ । एमालेलाई यति धेरै अभियान किन चाहिएको ?
पार्टी भनेकै सजीव चिज भएकाले गतिशील हुन्छ । नेकपा एमाले गतिशील पार्टी हो । चलायमान कम भयो भन्ने हुँदा नेतृत्वले सक्रिय हुने अभियान ल्याउँछ ।
आमचुनावमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको कारण नेतृत्व र कार्यकर्तासँगै मिलेर खोजौं भनेर मिसन ग्रासरुट चल्यो ।
मिसन ग्रासरुटको उद्देश्य एमाले कहाँ चुक्यो भन्ने थियो । त्यो अभियानमा प्राप्त सुझावका आधारमा अहिले वडाकेन्द्रित अभियानमा छौं । वडा केन्द्रित अभियानमा प्रदेश र जिल्लाले समन्वय गर्ने र कार्यकारी चाहिँ आधारतभूत तहका कमिटीलाई बनाइएको छ ।
मूलतः पालिका र वडालाई केन्द्रविन्दूमा राखेका छौं । जराकेन्द्रित अभियानको खास उद्देश्य कमिटीमा रहेका र नरहेका जनजनसम्म पुग्ने अभियान हो ।
यसअघिका अभियान कमिटी परिचालनका निम्ति थियो । कमिटीले सुझाव दिने कुरा थियो । अहिले जनस्तरसम्म पुग्ने र एमालेले गरेका सकारात्मक कामहरू प्रचार गर्ने हो । विशेषगरी गैरएमाले र उमेर पुग्न लागेकालाई एमालेसँग नजिक ल्याउने हो । जहाँसम्म फैलिन सकिन्छ, त्यहाँसम्म पुग्ने हो ।
तर मुख्य कुरा त आउने चुनावमा बहुमत ल्याउने होला नि ?
जनताले रुचाएको पहिलो पार्टीका रूपमा त अहिले पनि एमाले स्थापित नै छ । सर्वाधिक लोकप्रिय मत एमालेले नै ल्याएको छ । ७७ जिल्ला मध्ये ४४ जिल्लामा एमालेले पहिलो शक्ति छ । तर, पहिलो पार्टी पनि कत्रो भन्ने हो ।
०७९ सालमा एमालेको हैसियत अनुसारको पहिलो पार्टी बनाउन सकिएन, अब ०८४ मा बनाउने हो । त्यो भनेको ५० प्रतिशत प्लस एकभन्दा बढी हो ।
संसदमा मात्र होइन, हरेक ठाउँको जनमतको हिसाबमा ५० प्रतिशत भन्दा बढी व्यक्तिलाई एमालेमा आबद्ध गराउने हो । प्रतिशतका हिसाबले पहिलो पार्टी भन्ने कुरा सामान्य भयो । त्यो त गर्दै आएका छौं ।
सरकारको नेतृत्व गरिरहेको पार्टीले मिसन ०८४ भनिरहँदा संगति मिलिरहेको छैन जस्तो लाग्दैन ?
आन्दोलनबाट आएकाले हाम्रो स्कुलिङ त्यस्तै भयो । तर अहिले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भनेका छौं । यो निर्माण, सिर्जना र रचनाबाट अगाडि जाने कुरा हो ।
गलत सूचनाका माध्यमबाट आफ्ना गलत कर्तुतलाई छोप्ने र त्योभन्दा राम्रो गरेका मान्छेहरूमाथि चाहिँ अनर्गल प्रचार गरेर ध्यान त्यतातिर डाइभर्ट गरियो भने कु–कृत्यहरू छोपिन्छ भन्ने मनोविज्ञान छ । तर सत्य त सत्य हो । एकदिन उजागर हुन्छ, यो नेपाली समाजको विशेषता पनि हो ।
तर आमप्रवृत्ति भने व्यवस्था बदल्न आन्दोलन गर्नुपर्छ र आन्दोलन गर्न आलोचनात्मक चेत चाहिन्छ भन्ने धङ्धङी पाइन्छ । आलोचना गरेर बोल्दा प्रिय भइन्छ कि भन्ने प्रवृत्ति छ ।
हामी सरकारमा रहेर पनि राष्ट्र र जनताको पक्षमा अधिकतम् काम गर्छौं, पार्टीले त्यसलाई सहयोग गर्छ । राष्ट्र र जनताको पक्षमा सरकारले गर्न नसकेका कामहरू भयो भने पार्टीले आफ्नो एजेन्डा बनाएर जनतामा लान्छ ।
अहिले संयुक्त सरकारमा छौं र यसका सीमाहरू छन् । चाहे जस्तो मात्र गर्ने हो भने समीकरण नरहला । त्यसैले सहमतिका आधारमा सहकार्यको माध्यमबाट अगाडि जाने हो । त्यो भनेको सम्झौताका आधारमा नै जाने हो ।
तर मिसन ०८४ मा चाहिँ सचेत जनताको मत लिएर जनताको रखबारीमै राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा बेरोकतोक काम गर्ने अनुमति लिने हो ।
एमाले सत्तामा बसेर अर्को सत्ताको तयारी गर्दैछ ?
दल केका लागि गठन भएको ? दल भनेको रमाइलाका बेला गठन गर्ने र चुनावका बेला चुप लागेर बस्ने त होइन नि !
चुनावमा जाने, जनताको म्यान्डेट लिने र सत्ता चलाउनकै लागि पार्टीहरू निर्माण गरेका छौं । यद्यपि कतिपय पार्टी सत्ता चलाउन होइन, अस्तित्व रक्षाका लागि लागेका छन् । कति पार्टीहरू राष्ट्रिय पार्टी हुन र वैधानिकता पाउने लडाइँमा छन् । हैसियत हैसियतका पार्टी छन् ।
कांग्रेस र एमाले जस्ता पार्टीहरू जनताको म्यान्डेटमा सत्ता चलाउनकै लागि हो । यसलाई सत्तादेखि सत्तैसम्म भनेर बुझ्न हुन्न । चुनावमा बहुमत ल्याएर जनताको सेवा गर्ने र अर्को चुनावको तयारी गर्ने हो । के त्यसो भए ०८४ सालपछि एमाले चुनावबाट विश्राम लिन्छ त ? होइन । बरु विकसित परिस्थितिका आधारमा समाज र राष्ट्रलाई योगदान गर्न नयाँ एजेन्डाका साथ अगाडि जान्छौं ।
एमालेको एकल बहुमतको सरकारले जनता र राष्ट्रको पक्षमा पाँच वर्ष काम गरिसकेपछि भनिरहन नपरोस्– सरकार भनेको त एमालेको जस्तो बनाउनुपर्छ ।
जनताको प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?
आमरूपमा सत्ताको विरोध गर्नु नै जिम्मेवारी हो, त्यसैमा लोकप्रियता र प्रशंसा पाइन्छ भन्ने खालको बिम्ब छ । यस्तो प्रवृत्तिले मानिस जिम्मेवार बन्नेभन्दा अराजक बन्नेतिर प्रोत्साहित भएको देखिन्छ । नेतृत्वलाई एकदमै तल्लो स्तरको गालीगलौज गर्दा स्तर प्रदर्शन गरियो भन्ने बुझाइ देखिन्छ ।
धेरै मान्छेको मति यतिसम्म बिग्रिएको छ कि जिउँदो मान्छेलाई श्रद्धाञ्जलि लेख्न पाइयो भने ठूलो परिवर्तनका लागि योगदान गरेको सम्झन्छन् । तर त्यसले मुलुक र राज्यलाई कहाँ पुर्याउँछ ? जनताका हकअधिकार कसरी स्थापित हुन्छ ? यसतर्फ विचार पुगेको देखिंदैन ।
तपाईंले जस्तो कुरालाई प्रवृत्ति भन्नुभयो, उनीहरूले धेरै ठूलो मत नै पाइसक्यो नि !
सामाजिक अराजकताका कारणले वातावरण अलिक धमिलो हुन्छ कि भनेर सचेत हुन जरुरी छ । वातावरण धमिलो भयो भने अरू पार्टीमा पनि असर पर्छ । जनतामै त्योखाले प्रदूषण भयो भने त्यसले पार्टीहरूलाई पनि प्रदूषित गर्न सक्छ । हाम्रो अभियानहरूले त्यस्तो तुवाँलो हटाउने कुरामा सहयोग पुग्छ ।
नयाँ शक्तिहरूको उदयको भयले पनि पुराना पार्टीहरूले अभियान चलाइरहेका हुन् ?
बजारमा कसैले चमकधमक गर्यो भने मान्छेहरूमा भय हुन्छ । सज्जन धेरै भए पनि एकाध त्यस्तै मान्छेले समाज कब्जा गरेको छ कि भन्ने पर्छ । चर्चा त्यसैको हुन्छ । सज्जनहरूले पनि त्यसैको कुरा गर्छन् । किनभने यस्तो नगर्नुपर्ने हो, तर किन गर्यो भन्दा पनि उसकै चर्चा हुन्छ । अहिले चलिरहेको बिम्ब त्यही खाले हो ।
कुनै अप्ठयारो नमानी भन्छु– जान्नेलाई छान्ने भनेर आएका मान्छेहरूले के गरे भन्दा नागरिकता दुईटा, पासपोर्ट दुईवटा, श्रीमती तीन चारवटा । ठगी गर्दा पनि हजार र लाखमा होइन, करोडमा । देखिएकै छ नि !
गलत सूचनाका माध्यमबाट आफ्ना गलत कर्तुतलाई छोप्ने र त्योभन्दा राम्रो गरेका मान्छेहरूमाथि चाहिँ अनर्गल प्रचार गरेर ध्यान त्यतातिर डाइभर्ट गरियो भने कु–कृत्यहरू छोपिन्छ भन्ने मनोविज्ञान छ । तर सत्य त सत्य हो । एकदिन उजागर हुन्छ, यो नेपाली समाजको विशेषता पनि हो ।
यही कुरा अभियानमा भनिरहनुभएको छ ?
नयाँका हिसाबले कुनै थ्रेट भएका कारणले यो अभियान सञ्चालन गरेका होइनौं । हामीले यत्रो परिवर्तनका लागि योगदान गर्यौं । ०४६ सालकै आन्दोलनको कुरा गरौं । ०६२/०६३ सालको आन्दोलन, संविधान बनाउने कुरा, हामीले प्राप्त गरेका यी उपलब्धिहरूको संरक्षण गर्नुपर्ने दायित्व पनि हामीसँगै छ ।
अस्पष्ट हुनुपर्ने केही कुरा छैन । ०४६ सालको परिवर्तन र ०६२/०६३ सालको आन्दोलनको नेतृत्व पनि कांग्रेससँग मिलेर नै गर्यौं । त्यो आन्दोलनमा माओवादीका साथीहरू पनि हाम्रै ब्यानरमा व्यक्तिगत रूपमा सहभागी हुनुभयो । यस्तो छ, पृष्ठभूमि ।
सम्झौतामा बनेकाले संविधानमा कतिपय कन्फ्यूजन छन् । अब एमालेको बहुमतसहितको सत्ता भयो भने मुलुक स्थिरतातिर जान्छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ हुँदै समाजवादको आधार खडा गर्नेतिर जान्छ । कांग्रेसको बहुमत आयो भने उसको आफ्नो खाले समाजवाद छ ।
तर दुई दिनका लागि आउनुभएका साथीहरूले समाजमा योगदान गर्ने कुराभन्दा पनि मनोरञ्जन दिइरहनुभएको छ । मनोरञ्जनले मात्रै मान्छेको जिन्दगी चल्दैन । त्यसैले ती साथीहरूको उच्चतम रूप भनेको ०७९ सालको निर्वाचन नै हो । उनीहरूबाट कुनै भय मान्नुपर्ने, आतंकित हुनुपर्ने छैन ।
नयाँ भनेकाहरूले जितेको ठाउँमा पनि त्यही देखियो त ! धरानमै पनि अहिलेसम्म पानी छ्यालब्याल भयो भन्ने थियो, मान्छेहरूलाई । तर तीन वर्ष पुगेपछि रित्तो गाग्री लिएर आउनुभयो, सिंहदरबार । हिजो पानी ख्वाएँ भनेर गर्व गर्नुभाथ्यो, आज पानी पाइएन भन्ने ठाउँमा उहाँ पुग्नुभयो ।
जनता चाहिँ केही जान्दैनन्, हामीले जे गर्छौं, त्यसैको लहैलहैमा लाग्छन् भन्ने अर्थमा बुझ्नु हुँदैन । २१औं शताब्दीका जनता हुन् । चेतनाको अभाव छैन । हरेक सूचनामा पहुँच छ ।
तर तपाईँहरूले थ्रेस होल्डको प्रतिशत बढाउने कुरा गरिरहनुभएको छ नि त ?
संविधान बनाउने बेला पनि थ्रेसहोल्डको कुरा नउठेको होइन । तर त्यतिखेर संविधानसभामा ३५ वटाभन्दा बढी दल थिए । मुलुकमा पहिलोपटक संविधानसभाबाट संविधान बनाइँदैछ भने सबैको सहमति खोज्यौंभन्दा ३ प्रतिशतको थ्रेसहोल्ड राख्यौं ।
तर कस्तो भयो भने मूल राजनीतिक पार्टीहरू दर्शकदीर्घामा बस्नुपर्ने, अनि थ्रेसहोल्ड नकटाएका र मरेर थ्रेसहोल्ड कटाएकाहरूले नेतृत्व गर्नुपर्ने ठाउँमा मुलुक पुग्यो । यस्तो अस्थिरता न्यूनीकरण गर्न थ्रेसहोल्डलाई बढायौं भनेका हौं ।
जनतालाई विश्वास गर्ने हो भने अरू सबै कुरा सहायक होला नि ?
हामी एकल बहुमत भनिरहेका छौं भने कसैले एक दुईवटा सिट ल्याउने/नल्याउने कुरा गौण हुन् । तर राष्ट्रिय मान्यता पाउने कुरा गरिएको हो नि यहाँ ! कुनै दललाई नामेट गर्ने कुरा होइन ।
अहिले पनि राष्ट्रिय दल नभएका पार्टीहरू छन् । तर विभिन्न कारणले ह्वीप लाग्ने परिपाटी छ । संविधानको मर्मअनुसार थ्रेसहोल्ड नकटाउने दलका सांसद स्वतन्त्र हुन्छन् ।
कांग्रेससँगको सहकार्यबारे कार्यकर्ता के भन्छन् ?
अस्पष्ट हुनुपर्ने केही कुरा छैन । ०४६ सालको परिवर्तन र ०६२/०६३ सालको आन्दोलनको नेतृत्व पनि कांग्रेससँग मिलेर नै गर्यौं । त्यो आन्दोलनमा माओवादीका साथीहरू पनि हाम्रै ब्यानरमा व्यक्तिगत रूपमा सहभागी हुनुभयो । यस्तो छ, पृष्ठभूमि ।
यद्यपि चुनावी प्रतिस्पर्धामा हिजो, आज र भोलि पनि कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी हुन् भन्ने हेक्का हामीले राखेकै छौं । तर, राष्ट्रमा अस्थिरता र अराजकताको अन्त्य गर्न एउटा संस्कार बसाएर जानुपर्ने स्थिति बन्यो । सहकार्य त हामीले माओवादीसँग पनि गरेको हो ।
संविधान जारी भएपछि माओवादीसँग मिलेर चुनाव लड्यौं । संसदमा झन्डै दुई तिहाइ प्राप्त गर्यौं । तर त्यतिखेर तीब्रतर गतिमा विकास गर्ने कुराहरूमा पार्टीभित्रै असहयोग भयो । हामीले लगेका विधेयकहरू अलपत्र परे । बहुमत हुँदाहुँदै पनि आन्तरिक दबाब र प्रभावका कारण पास गर्न सकेनौं ।
हाम्रो पार्टी पटकपटक फुटाइयो । नेकपाबाट एमाले र माओवादीलाई अलगअलग बनाइयो । त्यति गर्दा पनि यो मुलुकको नेतृत्व एमाले र केपी ओलीले गर्नुहोला भन्ने ठानेर एमाले नै विभाजन गरियो । त्यसका बाबजुद पनि हामीले जे उपलब्धि प्राप्त गर्यौं, जनताको यो मूल्यांकन उच्च शीरमा राख्नुपर्छ ।
गत चुनावपछि भने एमालेविरुद्ध बनेको अपवित्र गठबन्धनलाई तोड्नुपर्छ भन्ने कुरा हरेक ठाउँबाट आयो । दुई दुई चोटी माओवादीलाई नै प्राथमिकतामा राखेर प्रधानमन्त्री बनाइयो । माधव नेपाललाई राष्ट्रपतिको प्रस्ताव गरियो ।
भनेपछि कांग्रेससँग सत्ता सहकार्य परिस्थितिको उपज हो ?
एउटा संस्कारयुक्त प्रतिस्पर्धा गरौं भन्ने कांग्रेससँग सहमति बनेर सत्ता सहकार्य गरेका छौं । यसमा समय अवधिको कुरा छ, निश्चित अवधि पछि कांग्रेसको नेतृत्वमा सरकार बन्छ ।
दोस्रो– ०८४ मा हुने आम निर्वाचनमा कांग्रेस र एमाले आफ्ना घोषणापत्र, विचार र चिन्हमा नै देशव्यापी रूपमा चुनाव लड्ने, कसैको पनि वैशाखी नटेक्ने ।
जनताले एमालेलाई बहुमत दिए, हामी सरकार चलाउँछौं, कांग्रेस वेटिङ गभर्मेन्टमा बस्छ, कांग्रेसलाई बहुमत दियो भने उसले सरकार चलाउँछ ।
त्यसो गर्दा पनि भएन भने त्यसपछिको समीकरणबारे परिस्थितिले बताउँला । तर एक्लाएक्लै चुनाव लड्ने हो ।
स्ववियू चुनावबाटै हामी स्वस्थ प्रतिस्पर्धाको अभ्यास थाल्छौं । हारे पनि के भयो त, नयाँ नेतृत्व आउँछ । भोलिका लागि कार्यकर्ताको विकास हुन्छ । र, सत्तामा बस्नेबित्तिकै हरेक ठाउँमा मोर्चाबन्दी गर्नुपर्छ भन्ने होइन ।
अब कतिलाई कांग्रेसभन्दा वामपन्थीहरूसँग मिल्दिएको भए हुन्थ्यो भन्ने एउटा कोण होला । तर दुईचोटीको हाम्रो अभ्यास विफल भयो ।