-नारायण गाउँले
बेलायती प्रधानमन्त्री टेरिसा मेले आज पार्टीप्रमुखबाट राजीनामा दिइन् । संसदमा बहुमत नै भए पनि सरकारको मुख्य एजेन्डा ‘ब्रेग्जिट’मा भने उनी सधैँ अल्पमतमा परिन् ।
पार्टी प्रमुख नै प्रधानमन्त्री बन्ने हुनाले यसलाई प्रधानमन्त्री पदबाट दिइने राजीनामाको रूपमा बुझिन्छ । राजीनामा दिनु सामान्य समाचारमात्रै रह्यो धेरैका लागि तर मलाई एउटा क़ुराले निकै छोयो ।
तीन वर्षअघि भएको जनमत सङ्ग्रहले बेलायतलाई ईयूबाट छुट्टिने म्यान्डेट दियो । कसैले राजीनामा नमागे पनि ‘छुट्टिनु हुन्न’ भन्ने पक्षका प्रधानमन्त्री डेभिड़ क्यामरुनले राजीनामा दिए । त्यसपछि आएकी टेरिसाले जनमत सङ्ग्रहको म्यान्डेटलाई हदैसम्म पूरा गर्ने प्रयास गरिन् । दर्जनौं पल्ट कोसिस भए पनि विपक्ष र आफ्नै सांसदहरूको असहयोगले गर्दा त्यो पारित भएन । न संसदले विकल्प दियो न उनको ‘डिल’ पास गर्यो । उनले चाहेको भए ‘नो डिल’ ब्रेग्जिट हुन सक्थ्यो र उनी केही बेर प्रधानमन्त्री बनिरहन सक्थिन् । यद्यपि त्यो देशको हितमा हुन्नथ्यो ।
तर, उनले राजीनामा दिने बेला घण्टौं लामो भाषण गरेर कसैलाई गाली गरिनन् । साह्रै छोटो स्पिच थियो त्यो ।आफू असफल भएको स्वीकार गरिन्, तर विपक्षको कारण भनिनन् । मैले संसदको विश्वास जित्न सकिन भनेर आफैले जिम्मा लिइन् । आफ्नै मन्त्री र सांसद, जसले उनलाई सहयोग गरेनन्, हामीकहाँ भए आत्मघाती भनिने थियो तर उनले तिनको विश्वास जित्न नसक्नु आफ्नै कमजोरी बताइन् । जिम्मेबारी पूरा गर्न नसकेकोमा पश्चात्ताप (regret) व्यक्त गर्दै अश्रुपूर्ण अनुहारले राजीनामाको घोषणा गरिन् । त्यस्तो बेला पनि उनले आफूले गर्न नसकेको काम अब आउने प्रमले गर्ने मात्रै भनिनन्, राजनीति अप्ठेरो अवस्थामा भए पनि देश एक रहेको भन्न छुटाइनन् । कस्तो सन्तुलित वक्तव्य ! प्रधानमन्त्रीको भाषा यस्तो होस् न !
जसले र जे कारण असफल भए पनि प्रधानमन्त्रीय व्यवस्थामा त्यसको जिम्मेबारी प्रमकै हो र अरूलाई दोष दिएर आफूलाई चोख्याउने छूट त्यहाँ हुँदैन । अब उनी फेरि अध्यक्ष लड्ने, कसैको खुट्टा तान्ने या फेरि सत्तामा आउँछु कि भनेर तिर्छे दाउ खेल्ने छैनन् । बोलेको र प्रतिबद्धता व्यक्त गरेको कुरो समयमैं पूरा गर्नु अनिवार्य हुन्छ र त्यहाँ किन्तु-परन्तुको ठाउँ हुँदैन ।
देशका मुद्दाको समाधान आफ्नो जिम्मेबारी हो भन्ने बोध र नघुमाई सोझो भाषामा असफलता स्वीकार गर्ने र पछि हट्ने क्षमता नेतामा चाहिने रहेछ । मलाई नेपालको संविधानसभाको याद आयो । दिइएको चार वर्षमा प्रचण्डदेखि माधव नेपाल र झलनाथ खनालदेखि बाबुरामसम्म प्रधानमन्त्री बने र पनि संविधान नबनी त्यो भङ्ग भयो । तर, कसैले असफलता स्वीकार गरेन । अहिले त आफूलाई आफैले निर्णय गरेर राष्ट्रपतिबाट मेडल नै थापेको देखियो । हाम्रा प्रम बेलायत आउँदै हुनुहुन्छ । पक्कै केही सिक्नकै लागि होला । नुके थाहा, फर्केपछि आफैले तोकेको मितिमा पानीजहाज चढेर कलकत्ता पुग्ने टिकट बेच्न नसकिएकोमा माफी पो माग्नुहुन्छ कि ?
(गाउँलेको फेसबुकवालबाट साभार)