१४ चैत, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोलि समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा गर्न लागेको प्रदर्शनलाई सकारात्मक पहलको रुपमा लिएको बताएका छन् ।
राजनीतिक दलहरू एक आपसमा प्रतिस्पर्धा गर्ने बताउँदै उनले प्रतिगमनको कू प्रयासका विरुद्ध भोलि हुने प्रदर्शन सकारात्मक रहेको बताएका हुन् ।
‘प्रतिपक्षमा रहेको समाजवादी मोर्चाले १५ गतेका दिन गणतन्त्रका पक्षमा गर्न लागिरहेको जनप्रदर्शन प्रतिगमनको कू प्रयासका विरुद्धको सकारात्मक पहल हो,’ पोखरेलले भनेका छन् ।
महासचिव पोखरेलले अहिलेको युग जनसचेतनाले सुसम्पन्न लोकतन्त्रको युग रहेको बताउँदै उक्त कुरा इतिहासले धेरै पटक प्रमाणित गरेको पनि बताएका छन् ।
‘एक अर्काको आलोचना र विरोध पनि गर्दछन् । जनअभिमतबाट आफूलाई स्थापित गर्ने कोशिस समेत गर्दछन्,’ महासचिव पोखरेलले भनेका छन्, ‘तर जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामाथि कसैले धावा वोल्दछ भने त्यसको डटेर सामना पनि गर्न सक्दछन् ।’
शुक्रबार काठमाडौंका फरक–फरक ठाउँमा राजावादी र गणतन्त्रवादी समूहले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् ।