१३ चैत, काठमाडौं । साविक विजेता अर्जेन्टिना अर्को वर्ष नर्थ अमेरिकामा हुने फिफा विश्वकप २०२६ मा छनोट भएको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत उरुग्वे र बोलिभियाबीचको खेल गोलरहित बराबरीमा सकिएपछि अर्जेन्टिनाले ब्राजिलसँग खेल्नुअघि नै विश्वकपमा स्थान पक्का गरेको हो ।
१० राष्ट्र सम्मिलित दक्षिण अमेरिकी छनोटबाट ६ टिम सिधै विश्वकपमा छनोट हुने व्यवस्था छ ।
छनोटमा १३ खेल खेल्दा अर्जेन्टिना २८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको टिममाथि अर्जेन्टिनाले ६ अंकको अग्रता बनाएको छ ।
साविक विजेता समेत रहेको अर्जेन्टिना अर्को वर्ष अमेरिका, मेक्सिको र क्यानाडामा हुने विश्वकपको लागि छनोट हुने पहिलो दक्षिण अमेरिकन टिम समेत बनेको छ ।
अहिले छनोट अन्तर्गत अर्जेन्टिनाले ब्राजलिसँग खेलिरहेको छ ।
तीन आयोजकसहित अहिलेसम्म ७ टोली विश्वकपमा स्थान बनाइसकेका छन् । एसियाबाट जापान र इरान तथा ओसियानाबाट न्युजिल्याण्ड छनोट भएका हुन् ।
सन् २०२६ को फिफा विश्वकपमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।