११ चैत, काठमाडौं । गत साता प्रहरीले टोखाबाट सम्भवतः हालसम्मकै सबैभन्दा ठूलो परिणाममा विदेशी मुद्रा बरामद गर्यो । त्यो दिनको सटही दरअनुसार अमेरिकी डलर र यूरो गरी बरामद रकम नेपाली रुपैयाँमा २५ करोड २९ लाख ९ हजार ५ सय थियो ।
उपत्यकामा यति ठूलो परिणाममा शंकास्पद रुपमा विदेशी रकम बरामद भएपछि यसले धेरैको ध्यान तान्यो । प्रतिनिधिसभामा पनि सांसदहरूले प्रश्न उठाए । अझ करोडौं रकम लिएर जाँदै गरेका ना ७ ख १६७२ नम्बरको ट्रकका मालिक एवं चालक ‘फुच्चे’ भनिने कुसाङ लामाको पृष्ठभूमि जस्तो थियो, त्यसले झन् धेरै आशंकाहरू उब्जाए ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का वडाध्यक्ष साङ्बु लामाका अनुसार, प्रहरीले अवैध रकमसहित समातेका लामाको परिवारको आर्थिक पृष्ठभूमि एकदमै कमजोर छ ।
‘उहाँको बुबाआमा दुवैलाई म चिन्छु, अहिले घर जाने हो भने पनि आर्थिक हैसियत के हो भन्ने थाहा भइहाल्छ’, उनले भने, ‘यस्तो व्यक्ति एक्कासी त्यति धेरै रकमसहित पक्राउ परेको सुन्दा चकित भयौं ।’
हुन त लामा पहिलो पटक फौजदारी कसुरमा पक्राउ परेका व्यक्ति भने होइनन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) काजिकुमार आचार्यका अनुसार, उनी १३ पुस २०७३ मा तस्करीको ७ किलो सुनसहित पक्राउ परेका थिए ।
त्यसबेला गाडीको एयर फिल्टरभित्र लुकाएर तस्करी भएको सुन प्रकरणका आरोपित लामालाई जिल्ला अदालत, काठमाडौंबाट ३ करोड १६ लाख २६ हजार रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय भएको थियो ।
तर, तोकिएको जरिवाना तिर्न सक्ने स्थिति नभएपछि उनले जरिवाना वापत थप ४ वर्ष जेल बस्नु परेको अनुसन्धानमा संलग्न एक अधिकृत बताउँछन् ।
२०७८ सालमा थुनामुक्त भएपछि उनी फेरि गाडी चलाउन थालेका थिए । यहीबीच पछिल्लो समय ट्रकमा राखेर तस्करीमा संलग्न समूहले ठूलो परिणाममा विदेशी रकम ओसारपसार गर्ने गरेको सूचना प्रहरीले पाउने गरेको थियो ।
‘पहिले पनि यस्तै सूचना आइरहेका थिए, तर नोट फेला परेको थिएन’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘यसपटक चाहिँ लामो रेकीपछि समातेर गाडीसहित उनलाई टेकुमा ल्याएका थियौं ।’
टेकुमा ल्याएर लामो समयसम्म केरकार गरेपछि ट्रकमा चालक बस्ने क्याबिनको बायाँतर्फ माथिल्लो भागमा फल्सबटम बनाएर विदेशी मुद्रा लुकाएर राखेको अवस्थामा बरामद भएको थियो ।
प्रहरीका अनुसार, लामाविरुद्ध वीरगञ्ज भन्सार कार्यालयबाट समेत मुद्दा चलेको फेला परेको छ । ‘सबै पृष्ठभूमि हेर्दा उनले संगठित र्याकेटका लागि काम गरिहेको जस्तो देखिन्छ’, ती अधिकृत भन्छन्, ‘तर, विस्तृतमा अनुसन्धान गर्नलाई समय पर्याप्त भएन ।’
पक्राउ परेको २४ घन्टा पुग्नुअघि नै मुद्दा चलाउने निकायलाई बुझाइसक्नुपर्ने कानुनी जटिलतमा भएकाले प्रहरीले विस्तृतमा अनुसन्धान गर्न पाएन – रमेश बस्नेत, एसएसपी, उपत्यका अपराध अनुसन्धान कार्यालय
कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार, पक्राउ परेको २४ घन्टा पुग्नुअघि नै मुद्दा चलाउने निकायलाई बुझाइसक्नुपर्ने कानुनी जटिलतमा भएकाले प्रहरीले विस्तृतमा अनुसन्धान गर्न पाएन ।
‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाएका छौं, त्यहीँबाट विस्तृत अनुसन्धान भइरहेको छ’, उनले अनलाइनखबरसँग भने, ‘यो प्रकरणका थप पाटोहरु पनि त्यहीँबाट खुल्ला ।’
तर, कतिपय अनुसन्धान अधिकृतहरूले भने यो मामलाको जाँच राजस्व अनुसन्धान विभागबाट मात्र गर्ने विषयप्रति असन्तुष्टि जनाएका छन् । उनीहरूको बुझाइमा, यो मामलामा संगठित अपराध निवारण ऐन, २०७५ आकर्षित हुन्छ र यसमा विस्तृत जाँच प्रहरीबाटै हुनुपर्छ ।
प्रहरी स्रोतका अनुसार, प्रारम्भिक जाँचमा लामाले चलाएको गाडी एक महिनादेखि सामाखुसी क्षेत्रको एउटा ग्यारेजमा राखिएको पाइएको छ । त्यसपछि रकम लिएर उनी निस्किँदै गर्दा ४ चैतमा समातिएका हुन् ।
‘उनले प्रारम्भिक सोधपुछमै गाडी लिएर केरुङ जाँदै गरेको बताएका थिए, प्रारम्भिक जाँचमा यो सुन खरिदका लागि भुक्तानी भए जस्तो देखिन्छ’, एक अनुसन्धान अधिकृतले भने, ‘यसका आधारमा पनि यो प्रकरणमा विभिन्न तहमा थुप्रै मानिसहरू संलग्न रहेको हुनसक्ने देखिन्छ ।’
प्रहरीले बरामद गरेको रकमबाट मंगलबारको विदेशी विनिमय दरअनुसार, १८ लाख २० हजार ९५७.६३ अमेरिकी डलर हुन आउँछ । गोल्ड ब्रोकर डटकमले उल्लेख गरेअनुसार, चिनियाँ बजारमा सोमबार २४ क्यारेट सुनको भाउ प्रतिकिलो ९७,१७३.१६ अमेरिकी डलर छ ।
यस हिसाबमा हेर्दा प्रहरीले बरामद गरेको रकमबाट कम्तिमा १८.७४ किलो सुन खरिद हुनसक्ने देखिन्छ । यस हिसाबमा पनि यसको लगानीकर्ता एउटा व्यक्ति मात्र हुन नसक्ने कतिपय बताउँछन् । प्रहरीका अनुसार, यो विभिन्न व्यक्तिहरूबाट संकलित रकमहरू हुनसक्ने शंका छ ।
संगठित सुन तस्करीबारे छानबिन गर्न २०७४ सालमा गठित उच्चस्तरीय समितिका सदस्य समेत रहेका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्त लामाका अनुसार, पक्राउ परेका चालकको पृष्ठभूमि सुनसँग जोडिएको हुनु र आर्थिक अवस्थाका कारण यसमा एउटा संगठित समूह नै संलग्न हुनसक्ने पर्याप्त आधारहरू देखिन्छ ।
‘सबै पृष्ठभूमि हेर्दा यो योजनाबद्ध हिसाबले हुन खोजेको तस्करी जस्तो देखिन्छ, त्यस्तोमा एउटा सामान्य पृष्ठभूमिका व्यक्तिले एक्लै यो कारोबार गर्ने भन्ने हुनसक्ने कुरै होइन’, लामाले अनलाइनखबरसँग भने, ‘त्यसैले यसमा गम्भीर अनुसन्धानको आवश्यकता देखिन्छ ।’
संगठित अपराध निवारण ऐन, २०७० ले ‘कसैले तीन वा त्यसभन्दा बढी व्यक्तिहरू भएको आपराधिक समूहको लाभको लागि, समूहको निर्देशनमा, त्यससँग मिलेर वा सदस्य भएर जानीजानी वा नजानी’ गम्भीर अपराध गरे संगठित अपराध हुने भनिएको छ । यस्तो किसिमको अपराध अनुसन्धान कम्तिमा अधिकृत स्तरको प्रहरी कर्मचारीले गर्ने ऐनको परिच्छेद ५ मा व्यवस्था छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा निर्देशक समेत रहिसकेका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदी पनि यो प्रकरणमा हालसम्म खुलेका तथ्यले नै पक्राउ परेका व्यक्ति कुनै गिरोहबाट सञ्चालित रहेको देखिने बताउँछन् ।
‘फेरि सुनको कारोबार भनेको चीनबाट आउने, नेपाल टान्जिट हुँदै भारत जाने हो भन्ने हामीलाई थाहा छ, त्यस हिसाबमा यसमा तीन देशका अपराधी जोडिन्छन्’, उनले अनलाइनखबरसँग भने, ‘यस्तो यो संगठित समूहले गरेको अपराध भएकाले यसमा त्यसअन्तरगत अनुसन्धान हुनुपर्छ ।’
यद्यपि, राजश्व अनुसन्धान विभागले छानबिन गर्दैमा संगठित अपराधमा जाँच गर्न बाधा नपुग्ने उनी बताउँछन् । ‘यसमा विभागले खुलेका तथ्यहरुका आधारमा संगठित अपराधमा प्रहरीलाई थप अनुसन्धानका लागि जिम्मा दिनसक्छ’, उनले भने, ‘यो प्रकरणको जरासम्म पुग्ने हो भने त्यसको आवश्यकता पनि छ ।’
कतिपय अन्य प्रहरी अधिकृतहरु पनि राजश्व अनुसन्धान विभागसँग राजश्व छली अनुसन्धानको मात्र विज्ञता हुने भएकाले त्यहाँबाट जाँचमा कठिनाइ हुने बताउँछन् ।
‘विभागबाट मात्र अनुसन्धान गर्न दिने हो भने त्यो मुख्य नाइकेसम्म पुग्न बाधा पुर्याउने काम हो’, एक अधिकृतले भने, ‘सरकार यदी यसमा साँच्चै गम्भीर छ भने प्रहरीलाई जतिसक्दो चाँडो अनुसन्धानमा जोड्नुपर्छ ।’
प्रहरीले नै पठाएकाले अनुसन्धान गरिरहेका हौं तथापि, भोलि जाँच गर्दै जाँदा यसमा संगठित अपराध अन्तरगत अनुसन्धान गर्नुपर्ने देखिए त्यहाँ पनि पठाउँछौं – चण्डीप्रसाद घिमिरे, महानिर्देशक, राजश्व अनुसन्धान विभाग
प्रतिनिधिसभामा बोल्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद् माधव सापकोटाले त ‘उपल्लो तहको कनेक्सन’को शंका गर्दै छानबिन समिति गठनको माग गरेका छन् ।
‘यो घटनामा संलग्न रहेका उच्च तहका नेता, कर्मचारी जो हुन्, कानूनी दायरामा ल्याउन जोडदार माग गर्दछु’, उनले भनेका छन्, ‘यति ठूलो मात्राको तस्करी उपल्लो तहको कनेक्सन नभइ सम्भव छैन ।’
सत्तारुढ दल नेपाली कांग्रेसकै सांसद एवं संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कहिले १८, कहिले ३३ किलो सुनका नाममा चालक र भरियालाई पक्रने र मालिकसम्म नपुग्ने प्रवृत्ति देखिएको स्मरण गराएका छन् ।
‘… मेन नाइकेलाई समात्न सफल भएन भने फेरि आँखामा छारो हालेजस्तो देखिन पुग्छ, सरकार नाइकेसम्म पुगोस्’, उनले अगाडि भने, ‘जुन तहको भएपनि कारबाहीको दायरामा ल्याइयोस् ।’
अनुसन्धान अधिकृतहरूका भनाइमा चाहिँ तत्काललाई यसमा सांसद वा अन्य विभिन्न स्वार्थ भएकाहरूले खोजेजस्तो राजनीतिक ‘नेक्सस’ तत्काललाई देखिन्नँ । तर, यसमा विभिन्न व्यवसायीहरू जोडिने सम्भवना चाहिँ रहन्छ ।
‘त्यो उपल्लो लेयरमा हुनसक्छ, त्यस हिसाबले गम्भीर अनुसन्धान हुनुपर्ने विषय हो’, एक अनुसन्धान अधिकृत भन्छन्, ‘भोलि प्रहरीबाटै थप अनुसन्धान हुने परिस्थितिमा त्यसतर्फ पनि जाँच हुन्छ ।’
राजश्व अनुसन्धान विभागका प्रमुख चण्डीप्रसाद घिमिरे चाहिँ प्रहरीबाटै विदेशी विनिमय ऐनअनुसार अनुसन्धान गर्न लेखी भएकाले अनुसन्धान गरिरहेको बताउँछन् ।
‘प्रहरीले नै पठाएकाले अनुसन्धान गरिरहेका हौं तथापि, भोलि जाँच गर्दै जाँदा यसमा संगठित अपराध अन्तरगत अनुसन्धान गर्नुपर्ने देखिए त्यहाँ पनि पठाउँछौं’, घिमिरेले अनलाइनखबरसँग भने, ‘अहिले विदेशी विनिमयको कसुरमा अनुसन्धान भइरहनुको अर्थ त्यसमा नगर्ने भन्ने होइन, भोलि सम्पत्ति शुद्धीकरण वा अरुलाई पनि लेखी पठाउन सक्छौं ।’
यो पनि पढ्नुस्
टोखाबाट बरामद २५ करोडको मालिक को ?
टोखामा बरामद २५ करोडको ‘नेक्सस’ सुन कारोबारीसँग
२५ करोडसहित टोखाबाट समातिएका लामालाई राजस्व अनुसन्धान पठाइयो