११ चैत, काठमाडौं । नेपालले इन्डोनेसिया र फ्रान्ससँग हवाई सम्झौता गर्ने तयारी गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले यसबारे जानकारी दिएका हुन् । प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा मन्त्रालयको कार्य प्रगति एवं आगामी आर्थिक वर्षको कार्यक्रम, योजना र रणनीति सम्बन्धमा जानकारी दिँदै उनले यस्तो जानकारी गराएका हुन् ।
उनले नेपाल र फ्रान्सबीच द्विपक्षीय हवाई सम्झौता र समझदारीपत्र संशोधन कार्य अगाडि बढाएको बताए ।
छलफलमा मन्त्री पाण्डेले नेपाल एयरलाइन्सलाई बलियो बनाउनुको विकल्प नरहेको समेत बताए । नागरिक उड्डयन क्षेत्र प्रभावकारी बनाउन हवाईजहाज खरिद आवश्यक रहेको समेत उनको भनाइ छ ।
नेपाल एयरलाइन्स बलियो हुँदा परिणाम राम्रो आउने उनको भनाइ छ । उनले अहिले स्वदेशी र विदेशीलाई हवाई टिकट मूल्यमा ठूलो असमानता रहेको समेत स्वीकार गरे ।
उनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुई निकायमा विभाजन गर्नेसम्बन्धी विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएको भन्दै अब प्रतिनिधिसभामा प्रस्तुत हुने तयारीमा रहेको जानकारी गराए ।
मन्त्री पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सञ्चालन सम्बन्धमा मन्त्रिपरिषद्बाट कार्ययोजना स्वीकृत गराई लागु गरिएको बताए ।