११ चैत, काठमाडौं । दाङको घोराही उपमहानगरपालिका ९ खैरास्थित प्लाई उद्योगमा लागेको आगो निभाउन हम्मेहम्मे परिरहेको छ । आज बिहानपख करिब २ बजेदेखि सुरु भएको आगलागी अहिले सवा नौ बजेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।
आगो निभाउन बर्दिया, बाँके र कपिलवस्तु जिल्लाबाट समेत दमकल मगाइएको छ । सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, वन कार्यालयको अग्नि नियन्त्रक टोली र स्थानीय आगो निभाउन खटिएका छन् । तर आगो अझै नियन्त्रणमा आएको छैन ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले दाङका घोराही, तुलसीपुर र लमहीका तीनवटा दमकलले आगो निभाउन नसकेपछि बाँके, बर्दिया, कपिलवस्तु र रुपन्देहीबाट समेत दमकल मगाइएको बताए ।
‘दाङका तीनवटा, बाँकेका दुईवटा, कपिलवस्तुबाट दुई वटा, बर्दिया र रुपन्देहीबाट समेत एक–एक वटा दमकल झिकाइएको छ,’ प्रजिअ लम्सालले भने ।
आगो बस्तीमा नसरोस् भनेर चारैतिरबाट आगो निभाउने प्रयास भइरहेको उनले जानकारी दिए ।
सांग्रिला ब्राण्डको प्लाई उत्पादन गर्दै आएको गणपती नामको सो उद्योग करिब सात बिघा जग्गामा फैलिएको छ । त्यहाँ काठ र कच्चा पदार्थहरु धेरै भएकाले आगो भयानक भएको छ ।
आगोले उद्योगको संरचनामा पूरै क्षति भएको प्रमुख जिल्ला अधिकारी लम्सालले बताए ।
‘उद्योगको पनि र हाम्रो पनि चासो वरपरका अरु घरमा आगो नफैलियोस् भन्ने हो, त्यसैअनुसार सुरक्षा र सतर्कताको उपाय अपनाइएको छ,’ प्रजिअ लम्सालले भने, ‘उद्योगको संरचना त पूरै ध्वस्त भइसकेको छ । धेरै काठ भएकाले अझै पनि जलिरहेको छ ।’
जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् इन्सपेक्टर कविराज रोकाय आगो फैलिन नदिएर बस्तीलाई सुरक्षित बनाइएको बताउँछन् ।
आगलागीबाट करोडौं क्षति भएको प्रारम्भिक अनुमान छ । तर आगो पूर्णरुपमा निभाइसकेपछि मात्रै क्षतिको विवरण संकलन गर्ने इन्सपेक्टर रोकायले बताए ।