१० चैत, काठमाडौं । भक्तपुर बालकोटका यश गौतमले कौशलटारमा चिया पसल गर्दै आइरहेका छन् । चियालाई नै स्पेसल बनाएर बेच्ने उनले ग्राहकको मन जित्न विभिन्न चिया मसला पनि प्रयोग गर्छन् । उनले चियामा प्रयोग गर्ने मसलामा सुकुमेल, दालचिनी, कालो मरिच, ल्वाङ लगायत छन् ।
उनले आफूलाई आवश्यक पर्ने चिया मसला बालकोटकै एक थोक (होलसेल) पसलबाट लैजाने गर्छन् । ती मसलामध्ये सुकुमेलको भाउ धेरै नै महँगो भएको उनले बताए । दुई दिनअघि उनले १ किलो सुकुमेललाई ६ हजार रुपैयाँ तिरेर ल्याएको बताए ।
यता, काठमाडौं बुद्धनगरका एक चिया पसल सञ्चालकले पनि केही दिनअघि अनामनगरस्थित एउटा होलसेल पसलबाट एक किलो सुकुमेल ५ हजार ५ सय रुपैयाँमा किनेर ल्याएको बताए ।
अनलाइनखबरले बुद्धनगरदेखि नयाँबानेश्वर क्षेत्रका दर्जन बढी खुद्रा पसलमा स्थलगत रिपोर्टिङ गर्दा सुकुमेल किलोको न्यूनतम ५ हजार ५ सयदेखि ६ हजार ५ सय रुपैयाँसम्म बिक्री गरिएको भेटियो ।
तर, न्युरोड मखन गल्लीमा रहेका होलसेल पसलहरूमा भने सुकुमेल किलोको ४ हजार ५ सय रुपैयाँसम्ममा पाइन्छ ।
नेपाल खाद्य किराना व्यवसायी संघका उपाध्यक्ष टंकप्रसाद शेरचन अन्तर्राष्ट्रिय बजारका कारण नेपालमा सुकुमेल महँगो हुन गएको बताउँछन्
‘मसलाको रानी’ भनेर चिनिने सुकुमेल संसारमै महँगा मसलामध्ये एक हो । अहिलेको अवस्थामा यसको एक किलोको प्याकेट किन्न न्यूनतम ४ हजार ५ सयदेखि ६ हजार ५ सय रुपैयाँसम्म खर्च गर्नुपर्छ । सुकमेल जतिसुकै महँगो भए पनि चियादेखि मिठाईसम्म बनाउन प्रयोग गरिन्छ ।
होलसेलमै महँगो सुकुमेलको भाउ खुद्रा पसलसम्म आइपुग्दा आकास छोइसकेको हुन्छ । होलसेल व्यापारी तथा खुद्रा व्यापारीले उपलब्ध गराएको भाउ केलाउँदा सुकुमेलमा होलसेल र खुद्रा भाउको अन्तर किलोमै अधिकतम २ हजार रुपैयाँ देखिन्छ ।
सुकुमेलको भाउ महँगो भएकै कारण होला यसका होलसेल र खुद्रा विक्रेता दुवै यसबारे खुलेर बोल्न चाहँदैनन् । मखन गल्लीका सुकुमेलका होलसेल व्यापारीमात्र नभई अन्य बजारमा खुद्रा व्यापारी समेत सुकुमेलको भाउबाहेक अन्य जानकारी दिन नचाहने अनलाइनखबरको स्थलगत रिपोर्टिङले देखायो ।
सुकुमेल किन हुन्छ महँगो ?
नेपाल खाद्य किराना व्यवसायी संघका उपाध्यक्ष टंकप्रसाद शेरचन अन्तर्राष्ट्रिय बजारका कारण नेपालमा सुकुमेल महँगो हुन गएको बताउँछन् ।
नेपालमा सुकुमेल उत्पादन नहुने हुँदा पूर्णरूपमा दोस्रो मुलुकमा भर पर्नुपर्ने उनको भनाइ छ ।
‘अहिले डलरको भाउ बढेर १ सय ३८ रुपैयाँ पुगेको छ, यसमा डलर मूल्यले पनि फरक पार्छ,’ उपाध्यक्ष शेरचनले अनलाइनखबरसँग भने, ‘सुकुमेल दोस्रो मुलुकबाट आउने हो । फेरि, भन्सार पनि महँगो छ । मूल्य महँगो हुनुमा विविध कारण समावेश छन् ।’
सुकुमेल नेपालमा खासै उत्पादन हुँदैन : कृषि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ कृषि अर्थशास्त्री तथा सूचना अधिकारी महानन्द जोशी नेपालमा सुकुमेल खासै उत्पादन नहुने बताउँछन् ।
उनका अनुसार नेपालमा सुकुमेलको व्यावसायिक उत्पादन हुँदैन । ‘नेपालमा व्यावसायिक उत्पादन नै भए दुई–चार जनाले गरेका होलान्,’ जोशीले अनलाइनखबरसँग भने, ‘नभए सबै आयातित नै हो । मुलुकमै उत्पादनको ठूलो तथ्यांक छैन ।’
नेपालको आन्तरिक बजारको कुरा गर्दा मुलुकमा उत्पादन नहुने भएपछि आयातित वस्तुको मूल्य स्वाभाविक महँगो हुने सूचना अधिकारी जोशी बताउँछन् ।
‘मुलुकमा उत्पादन नहुने र विदेशबाट आयातित वस्तु भएको हुनाले सुकुमेलको मूल्य महँगो पर्न गएको हो,’ उनले भने ।
नेपालमा सुकुमेल धेरै आयात दक्षिण भारतबाट हुन्छ । सूचना अधिकारी जोशीका अनुसार दक्षिण भारतमा ‘अक्सन मार्केट’ (लिलामी बजार) नै लागेको हुन्छ । त्यहाँबाट अनलाइन अक्सन भएर यूएईको दुबई, कुवेत लगायत देशमा निर्यात हुन्छ ।
नेपालमा आयात हुने सुकुमेलको परिमाण थोरै हुन्छ । भारतबाहेक ग्वाटेमाला, मलेसिया लगायत देशबाट नेपालमा सुकुमेल आयात हुने गरेको छ ।
नेपालमा कति खपत हुन्छ सुकुमेल ?
‘अहिले बजारमा यस्तो अराजकताको स्थिति सिर्जना भयो कि जसले जति मूल्य तोकेर बेच्दा पनि चलेको छ,’ उपभोक्ता अधिकारकर्मी विष्णु तिमल्सिना भन्छन्, ‘यही अराजकताको परिणाम सुकुमेलमा पनि देखिएको हो ।’
चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना (साउन–फागुन) अवधिमा २३ करोड ७६ लाख ५१ हजार रुपैयाँ बराबरको ९४ हजार १५ किलो सुकुमेल आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
त्यसैगरी गत आव २०८०/८१ मा नेपालले १ अर्ब ४३ करोड ३ लाख ८७ हजार रुपैयाँ बराबरको ९ लाख ९९ हजार ६ किलो सुकुमेल आयात गरेको तथ्यांक भन्सार विभागसँग छ ।
विभागका अनुसार नेपालले आव २०७९/८० मा १ अर्ब ३९ करोड ८८ लाख ५४ हजार बराबरको १० लाख ७४ हजार ६ सय ९६ किलो सुकुमेल आयात गरेको थियो । २०७८/७९ मा भने ७२ करोड ४६ लाख ५६ हजारको ४ लाख ६७ हजार ३ सय ४८ किलो आयात गरेको थियो ।
त्यसैगरी २०७७/७८ मा ९९ करोड ६५ लाख ४६ हजार रुपैयाँ बराबरको ५ लाख ६४ हजार ६ सय ५६ किलो, २०७६/७७ मा ९३ करोड ३३ लाख ३९ हजारको ४ लाख ७१ हजार १ सय २४ किलो र २०७५/७६ मा २९ करोड ५ लाख ५७ हजार बराबरको १ लाख ८६ हजार ८ सय ८९ किलो सुकुमेल आयात भएको भन्सारको तथ्यांकमा देखिन्छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आव ८ महिनाको तथ्यांक केलाउँदा नेपाली व्यापारीले सुकुमेलको भाउ भन्सारमा प्रतिकिलो औसत १ हजार ६ सय ७७ रुपैयाँ तोक्ने गरेको देखिन्छ ।
भारतमा सुकुमेलको भाउ कति ?
छिमेकी भारतमा पनि सुकुमेलको भाउ उच्च नै रहेको देखिन्छ । इन्डियन मार्ट डटकमका अनुसार ५ मिलिमिटर आकारको हरियो सुकुमेलको भाउ किलोको ३ हजार भारु अर्थात् ४ हजार ८ सय नेपाली रुपैयाँ रहेको छ ।
सानो खालको ६ मिलिमिटर आकारको सुकुमेलको भाउ किलोको २ हजार ८ सय २० भारु अर्थात् ४ हजार ५ सय १२ नेपाली रुपैयाँ छ ।
त्यसैगरी ८ मिलिमिटर आकारको ठूलो हरियो सुकुमेलको भाउ किलोको ४ हजार भारु अर्थात् ६ हजार ४ सय नेपाली रुपैयाँ रहेको छ ।
सुकुमेलको विश्वबजार आकार
संसारभरि रुचाइने सुकुमेलको विश्वबजार आकार कत्रो होला ? ग्लोबल न्युजवायरका अनुसार सुकुमेलको बजार आकार सन् २०२३ मा ८१ करोड १० लाख २१ हजार अमेरिकी डलर अर्थात् १ खर्ब ११ अर्ब ८० करोड ८९ लाख रुपैयाँ बराबर रहेको थियो ।
यो आकार सन् २०३३ पुग्दा १ अर्ब ३५ करोड १६ लाख डलर अर्थात् १ खर्ब ८६ अर्ब ५२ करोड ८ लाख रुपैयाँ बराबर पुग्ने प्रक्षेपण गरिएको छ । ‘सुकुमेल भाउमा तत्काल सरकारले अनुगमन गर्नुपर्छ’
उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमल्सिना सुकुमेलमा तत्कालै सरकारले अनुगमन गर्नुपर्ने बताउँछन् ।
उनका अनुसार कुनै पनि सामानमा २० प्रतिशत नाफा खान नपाउने भन्ने कानुनी व्यवस्था सरकारले अध्यादेशबाट खारेज गरेपछि बजारमा कालोबजारी मौलाएको छ ।
‘अहिले बजारमा यस्तो अराजकताको स्थिति सिर्जना भयो कि जसले जति मूल्य तोकेर बेच्दा पनि चलेको छ,’ महासचिव तिमल्सिना भन्छन्, ‘यही अराजकताको परिणाम सुकुमेलमा पनि देखिएको हो ।’
नेपालमा मूल्यसम्बन्धी नीति, नियम र कानुन नहुँदा र सरकारले पनि राम्रोसँग अनुगमन, निरीक्षण नगर्दा सीमित व्यापारीले आफूखुसी मूल्य निर्धारण गरेर उपभोक्तामाथि अपराध गरिरहेको उनी बताउँछन् ।