Wednesday, March 26, 2025
घरसमाचारसंसद्‌मा रुखो सुनिँदै पीएस

संसद्‌मा रुखो सुनिँदै पीएस

१० चैत, काठमाडौँ । नेकपा एमालेमा प्रष्ट बोल्ने नेताका रुपमा चिनिन्छन्, पृथ्वीसुब्बा गुरुङ (पीएस) । तर पछिल्लो समय उनको रुखो शैली संसद्‌मा आलोचित बन्दै गएको छ । आइतबार राष्ट्रिय सभामा उनको रुखो बोलीलाई लिएर सांसदहरूले चर्को आलोचना गरे । रुखो शैली नसच्याए अप्ठ्यारो पर्ने चेतावनीसम्म सांसदले दिए ।

राष्ट्रिय सभामा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’माथि सैद्धान्तिक छलफलमा सांसदहरूले अनेकन प्रश्न उठाए । जवाफ दिन रोष्ट्रम पुगे, सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पीएस गुरुङ ।

छलफलमा सांसदहरूले योगमाया आयुर्वेदिक विश्वविद्यालयको नाम परिवर्तन गर्नुको कारण खोजेका थिए । सरकारले ‘विदुषी योगमाया हिमालयन आयुर्वेदिक विश्वविद्यालय’ नामकरण गर्ने प्रस्ताव गरेको छ ।

जवाफमा मन्त्री गुरुङले विश्वविद्यालयको नाम परिवर्तन गर्नुको कारण खुलाएनन् । बरु अनावश्यक शब्द प्रयोग गर्दै विपक्षीमाथि हावी हुन खोजे ।

‘एकथरी साथीहरू (विपक्षी दलका सांसदहरू) ले योगमाया विश्वविद्यालयको नाम परिवर्तन गरेको कुरा ‘…माथिको खटिरा जस्तो ठान्नुभयो,’ गुरुङको जवाफ छ ।

अर्थात्, किन विश्वविद्यालयको नाम परिवर्तन गरेको भनेर जवाफ दिनेतिर मन्त्री गुरुङ गएनन् । सरकारलाई परिवर्तन गर्न मन लाग्यो र गर्‍यो भन्न पीएसले फूल र सुनका कुरा गरे ।

‘सत्तापक्षले ठान्यो, सरकारले ठान्यो र विधेयक प्रस्तुतकर्ता मैले पनि ठानेँ– यो फूलमाथिको बुट्टा जस्तो, सुनमाथिको सुगन्ध जस्तै लागिरहेछ । मेरो उत्तर यत्ति हो । यसमा (विधेयकमा योगमाया आयुर्वेदिक विश्वविद्यालयको किन नाम परिवर्तन गर्नुपर्‍यो भन्ने प्रश्नमा)’ प्रश्नकर्ता सांसदलाई पीएसको जवाफ छ ।

मन्त्री गुरुङ फेरि विषयमा गएनन् । प्रतिपक्षीको प्रवृत्ति केलाउनेतिर लागे । प्रतिपक्षमा रहने सांसदको प्रवृत्ति केही न केही खोट देखाउने रहेको भनेर कथा सुनाए ।

‘एउटा उदाहरण दिन चाहन्छु, त्यो उदाहरण दिएपछि काफी हुन्छ । धेरै उत्तर दिइराख्नुपर्छ भन्ने लाग्दैन,’ गुरुङले भने । उदाहरण भन्दै गुरुङले पृथ्वी नारायण क्याम्पस पोखरामा एक जना खानामा खोट लगाउने विद्यार्थी रहेको कथा सुनाएका हुन् ।

मन्त्री पीएसले संसद्‌मा सुनाएअनुसार २०२५/०२६ सालतिर पृथ्वी नारायण क्याम्पस पोखरामा धेरै अञ्चलबाट विद्यार्थीहरू पढ्न जान्थे । क्याम्पसको होस्टल सानो थियो ।

विद्यार्थीहरू होस्टल बाहिर डेरा गरेर पनि बस्थे । डेरा गरेर बस्ने विद्यार्थीहरू पोखरा होटेल भन्ने होटलमा खाना खान्थे । उक्त होटलमा विद्यार्थीहरु महिनावारी खाना खान्थे ।

ती विद्यार्थीमध्ये एक जना विद्यार्थीले खाना खाइसकेपछि एउटा न एउटा खोट लगाउँथे । कहिले खाना गिलो भयो भन्थे, कहिले अलि साह्रो भयो भन्थे । कहिले किन नुन चर्को ? भन्थे । कहिले नुन अनिलो भन्थे । कहिले पिरो भयो भन्थे । कहिले दाल पातलो भयो त कहिले दाल बाक्लो भयो भन्थे । एक दिन सबै मिलेर उसले खोट लगाउन नसक्ने गरी खाना बनाए । तर फेरि पनि उक्त विद्यार्थीले एक ढिको नुन बढी राखेको भए नुन चर्को नै हुन्थ्यो भनेर खोट लगाइछाडे ।

मन्त्री गुरुङले कथाका पात्र ती खोट लगाउने विद्यार्थीसँग विपक्षी दलका सांसदको तुलना गरे । ‘त्यो साथी र प्रतिपक्षको भनाइको कुरामा कुनै फरक छैन । एउटा–एउटा दोष लगाइराख्ने, एउटा–एउटा समस्या देखाइराख्ने । एउटा–एउटा गल्ती छ भनेर देखाइराख्ने प्रतिपक्षको धर्मै रहेछ । यसकारण त्यसको (विपक्षीका प्रश्नको) ओखती छैन,’ मन्त्री गुरुङले भने ।

अर्थात्, मन्त्री गुरुङले १२ वटा ऐन संशोधन गर्ने गरी प्रस्तावित विधेयकमा विपक्षी दलका सांसदको गरेका प्रश्न र सुझावलाई केवल खोटको संज्ञा दिए । ती प्रश्न र सुझाव सरकारले सुन्दैन भन्न कथाको सहारा लिए ।

प्रश्न सोध्ने सांसदलाई मन्त्री गुरुङको प्रतिप्रश्न छ– फूलको आँखामा फुलै संसार, काँडाको आखामा काँडै संसार । यो विधेयकमा ल्याइएका जेजति प्रावधान छन्, सबै फूलैफूल देख्या छौं हामीले । तपाईंहरु (विपक्षी सांसद)ले सबै काँडैकाँडा देख्नुभएको छ । मिलन कहाँनेर हुन्छ ?

विपक्षीका सुझाव किन संशोधन गर्न सकिँदैन भनेर विषय बुझाउनेतिर लागेनन् । बरु प्रश्नकर्ता सांसदको दृष्टिमै समस्या देखाउने प्रयास गरे । प्रश्न गर्ने सांसदको आखामै काँडा रहेकोसम्म भन्न भ्याए ।

संसद्‌मा सरकारले विधेयक ल्याउने अभ्यास ज्यादा छ । त्यसमा प्रतिपक्षको समेत सुझाव समेटेर पास गर्ने गरिन्छ । तर मन्त्री गुरुङले सरकारी विधेयकमा आफूले सत्तापक्ष र प्रतिपक्षको मिलन नदेखेको भनेर सबै सुझावहरू पन्छाइदिए ।

‘…फूलको आँखामा फुलै संसार, काँडाको आखामा काँडै संसार । यो विधेयकमा ल्याइएका जेजति प्रावधान छन्, सबै फूलैफूल देख्या छौं हामीले । तपाईंहरु (विपक्षी सांसद)ले सबै काँडैकाँडा देख्नुभएको छ । मिलन कहाँनेर हुन्छ ?,’ गुरुङको प्रतिप्रश्न छ ।

सरकारले सबै विधेयक राम्रोका लागि ल्याएको जिकिर गर्दै उनले विधेयकमा विरोध गर्ने ठाउँ नरहेको दोहोर्‍याए । अर्थात्, सरकार सर्वेसर्वा हो भन्ने उनको दलिल थियो ।
जबकि, प्रतिस्थापन विधेयक ल्याउँदा विधेयकको नाममा प्रतिस्थापन शब्द नराख्दा सभामै लफडा भएको थियो । तर मन्त्री गुरुङले सरकारतिर कुनै खोट नरहेको र विपक्षीतिर खोटैखोट रहेको देखाउने प्रयास गरे ।

गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई १० वर्षसम्म भिसा निःशुल्क गर्ने सरकारी प्रस्ताव छ । यस्तो प्रस्तावित प्रावधानमा विपक्षी सांसदहरूले प्रश्न उठाएका थिए ।
यो प्रश्नको जवाफमा पनि मन्त्री गुरुङ उस्तै गरी रुखो सुनिए ।

‘विदेशी लगानी, गैरआवासीय नेपालीको लगानी नेपालमा ल्याउन प्रवद्र्धन गर्नुपर्छ भन्नेमा हामी सबै सहमत हो । कोही अअहमत हुँदै हुनुहुन्न । लगानी ल्याउनुहुन्न भन्नेमा कोही पनि छैनौं हामी । अनि विरोध गरेकोले मैले तुक नदेखेको हो । त्यसकारण मैले तपाईंहरुको आँखामै काँडा छ त काँडै देख्नुहुन्छ भनेको हो,’ मन्त्री पीएस गुरुङको जवाफ छ ।

विदेशी लगानी आर्कषित गर्न र गैरआवासीय नेपालीलाई नेपालप्रति भावनात्मक रुपमा जोडिराख्न भिसासम्बन्धी नयाँ प्रबन्ध गरिएको भन्न पनि पीएसले प्रश्नकर्ता सांसदको दृष्टिमा दोष देखाए ।

प्रश्नकर्ता सांसदमाथि प्रतिप्रश्न गर्ने पीएस एक्ला मन्त्री होइनन् । स्वयं प्रधानमन्त्री केपी शर्मा ओली सांसदहरूमाथि विषय बाहिर गएर छेडखानी र होच्याउने प्रयासमा संसद्‌मा प्रस्तुत हुने पात्रमा पर्छन् ।

प्रधानमन्त्री ओलीकै रुखो शैली सञ्चारमन्त्री पीएस गुरुङले पनि पच्छ्याएका हुन् ।

आइतबार रोष्ट्रममा उभिएर मन्त्री गुरुङ विपक्षीप्रति नरमभन्दा गरम शब्द प्रयोग गरेर प्रहार गर्नेमै केन्द्रित रहेपछि लगत्तै सभामा उनको जवाफको शैलीमाथि सांसदहरूले प्रश्न उठाए ।

नेकपा एकीकृत समाजवादीका सांसद बेदुराम भुसालले मन्त्री गुरुङको उत्तरमा विधेयकमाथिको छलफलमा प्रतिपक्ष नबसोस् भन्ने भाव रहेको बताए ।

‘माननीय मन्त्रीको उत्तर सुन्दा– यो छलफलमा प्रतिपक्ष नबसोस्, उसले कुरा नउठाओस् भन्ने रहेछ । यदि सत्तापक्षले त्यस्तै चाहेको हो भने प्रतिपक्षविहीन संसद् चाहेको हो भने भनोस्, हामी छलफलमा नबस्न सक्छौं,’ सांसद भुसालले भने ।

अन्यथा, प्रतिपक्षले औंल्याएका विषय सुन्न र त्यसको विषयकेन्द्रित जवाफ दिन उनको आग्रह छ ।

विधेयकमा गलत कुराहरू समेत रहेको भनेर आफूहरूले प्रश्न उठाएको उल्लेख गर्दै भुसालले आफूहरूको आखामा काँडा रहेको भन्ने मन्त्री गुरुङको अभिव्यक्तिको प्रतिवाद गरे । ‘मन्त्रीजीकै आँखामा काडा होइन, रोग लागेको छ कि भन्ने शंका लाग्यो । गलत कुरालाई पनि सही देख्ने रोग,’ भुसालले भने ।

सत्तापक्ष एक्लै बसेर विधेयक पास गर्न चाहेको भने भन्न उनले पुनः आग्रह गरे । ‘सत्तापक्ष एक्लै बसेर विधेयक पास गर्न चाहेको हो ? हो भने हामी उठ्न सक्छौं, छोडिदिन सक्छौं । होइन भने यो तरिकामा सहज तरिकाले जान सकिँदैन,’ सांसद भुसालले सरकारलाई चेतावनी दिए ।

नेकपा माओवादी केन्द्रकी गंगाकुमारी बेलबासेका अनुसार मन्त्री गुरुङको स्पष्टीकरण दिने शैलीले प्रतिपक्षलाई चिढ्याएको छ । प्रतिपक्षलाई सरकारले अनावश्यक बोझ देखिरहेको जवाफबाट थाहा लाग्ने उनले बताइन् । ‘हामीलाई बोझ देख्नुभएको महसुस भएको छ । सरकारले यो शैली सच्याउँछ कि सच्याउँदै भन्ने गम्भीर प्रश्न उठेको छ,’ उनले भनिन् ।

बेलबासेका अनुसार सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङको जवाफ दिने शैलीले सांसदहरूको अवहेलना गरेको छ ।

‘हामी सबै माननीयहरूमाथि एउटा प्रश्न उठेको छ,’ उनले थपिन्, ‘के सरकार यसैगरी जान खोजेको हो ? यसैगरी जान चाहेको हो भने आज मात्रै होइन, बाँकी दिनमा पनि यसैगरी जान्छ र सदनलाई अवहेलना गर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं ।’

नेकपा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले विपक्षीलाई फूलको आँखाले हेर्न मन्त्रीलाई सुझाइन् ।

‘म पनि आग्रह गर्न चाहन्छु– फूलको आँखाले हेरौं । तर जवाफमा त्यो भएन,’ उनले भनिन् । अध्यादेशबाट कानुन बनाउने विषयको प्रक्रियामै सहमत हुन नसकिने उनले दोहोर्‍याइन् । सरकार अनावश्यक दम्भी भएर अगाडि बढ्न खोजिरहेको उल्लेख गर्दै उनले सधैं सबै व्यक्ति उस्तै रुपमा रहने ढंगले नसोच्न मन्त्रीहरूलाई आग्रह गरिन् ।

माओवादी केन्द्रकी सांसद रेणु चन्दले मन्त्रीहरूलाई जवाफ दिँदा पदीय मर्यादा ख्याल गर्न सुझाइन् । ‘मन्त्रीज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु– हामीले जनताले भनेको कुरा यहाँ भन्ने हो । त्यो यहाँलाई मन पर्न सक्छ, मन नपर्न सक्छ । यहाँहरु जिम्मेवार व्यक्ति हुनुहुन्छ । अभिव्यक्ति दिने बेलामा आफ्नो पदको गरिमा अनुसार अभिव्यक्ति दिनुपर्ने हुन्छ,’ उनले भनिन् ।

विपक्षी दलको मुख थुन्ने दुस्प्रयास नगर्न पनि चन्दको चेतावनी छ । ‘हमारे मुँह से जो निकले वही सदाकत है । हमारे मुँह में तुम्हारी जुबान थोड़ी है ।’ मन्त्री गुरुङलाई सांसद चन्दले सचेत गराइन् । सरकारका हर कार्यमा निरन्तर निगरानी र खबरदारी गरिरहने उनको प्रतिवद्धता छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -