Sunday, March 23, 2025
घरसमाचारबैतडीकी भुपी : गायिका बन्ने सपनाले काठमाडौं आइन्, स्ववियु अध्यक्ष जितिन्

बैतडीकी भुपी : गायिका बन्ने सपनाले काठमाडौं आइन्, स्ववियु अध्यक्ष जितिन्

८ चैत, काठमाडौं । पद्मकन्या बहुमुखी क्याम्पस (पीके) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा विजयी भएपछि बैतडी पाटन नगरपालिका–२ सिलङ्गा, जलकुडाकी भुपेश्वरी (भुपी) ऐरलाई बधाई र शुभकामना थाप्न भ्याइ नभ्याइ छ । सामाजिक सञ्जाल र फोनमा उनलाई बधाइको ओइरो छ ।

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट टिकट नपाएपछि भुपी स्वतन्त्र समूह बनाएर चुनावी मैदानमा उत्रिएकी थिइन् । संघीय राजधानी काठमाडौंको मुटुमा रहेको पीके क्याम्पसबाट उनको समूहले नै चुनाव जितेपछि अहिले भुपीको चर्चा चुलिएको छ ।

त्यसो त उनी यसअघि २०७९ को स्ववियु चुनावमा नेविसंघबाट सचिवमा निर्वाचित भएकी थिइन् । त्यतिबेला देखि नै उनी चर्चामा थिइन् ।

यसपटक सुरुदेखि नै उनले स्ववियुको अध्यक्षमा दाबी गरेकी थिइन् । तर नेविसंघले उनलाई टिकट दिन आनाकानी गर्‍यो ।

‘अघिल्लो चुनावमा नेविसंघबाट सचिव बनें । दुई वर्ष काम गरें । सेवा भाव बोकेर राजनीतिमा भविष्य बनाउने सपना बोकेको थिएँ । विद्यार्थीको हक अधिकार र ऐजेन्डा बोकेर हिँडे । तर पावर, गुटबन्दी, दादागिरी र नातावादले गर्दा अन्यायमा परेपछि स्वतन्त्र समूह बनाएका हौं,’ उनले भनिन्, ‘स्ववियुले जे मान्याता बोक्दैन । त्यो भन्दा फरक गरी माथि (नेविसंघ) बाट भयो ।’

सचिव भएर दुई वर्ष काम गर्दा विद्यार्थीको माया पाएकी भुपीलाई विद्यार्थीहरूले नै स्ववियुको स्वतन्त्र अध्यक्षको उम्मेदवारी दिन प्रस्ताव राखे । त्यसपछि उनी स्वतन्त्र समूह बनाएर चुनावी मैदानमा होमिएकी थिइन् ।

आधिकारिताको विवादले नै ५ चैतमा हुनुपर्ने चुनाव भएन । त्यसपछि भुपीको समूह स्वतन्त्ररूपमा नै चुनाव लड्ने भयो । र, ७ गते मतदान भयो । अन्ततः भुपीको प्यानलले नै बाजी मार्‍यो ।

‘स्ववियुका लागि म योग्य हुँ भनेर आफैंले घोषणा गरेको होइन । सचिव भएर दुई वर्ष काम गर्दा विद्यार्थीबाट माया भरोसा पाएँ । भुपी दिदीले काम गर्छिन्, दिदी आउनु पर्छ भनेर धेरै विद्यार्थी बहिनीले भनेपछि उम्मेदवारी दिएको हुँ,’ उनी भन्छिन्, ‘टिकट वितरणमा पार्टीले बेवास्ता गर्‍यो, जालझेल भयो । म भन्दा पनि मेरो विद्यार्थी बहिनीहरूको भरोसा र आशामाथि अन्याय गरियो ।’

पद्मकन्यामा भुपीलाई विद्यार्थीहरू आशाको केन्द्र मान्छन् । ‘जसले मलाई आशा र भरोसा गरेका छन् । टिकट नपाएपछि विद्यार्थीलाई कस्तो हुन्छ ? शिक्षाको मन्दिरभित्र हुने दादागिरीलाई चिर्न स्वतन्त्र समूह बनाएका हौं,’ उनी भन्छिन् ।

स्वतन्त्र समूह बनाएर उनले उम्मेदवारी दर्ता गराएपछि नेविसंघले भुपी आधिकारिक हो भनेर पत्र पनि पठाएको थियो । जबकि त्यतिबेलासम्म नेविसंघको आधिकारिक उम्मेदवार पूर्णिमाया परियारको टिमले पनि उम्मेदवारी दर्ता गराएको थियो ।

आधिकारिताको विवादले नै ५ चैतमा हुनुपर्ने चुनाव भएन । त्यसपछि भुपीको समूह स्वतन्त्ररूपमा नै चुनाव लड्ने भयो । र, ७ गते मतदान भयो । अन्ततः भुपीको प्यानलले नै बाजी मार्‍यो ।

‘हामीले स्वतन्त्र समूह बनाएका थियौं । नेविसंघको अर्को समूह पनि दर्ता भएकाले समस्या भयो । यसअघि दुई वर्ष नेविसंघ प्यानलबाट सचिव भएर आउँदा भनेजस्तो काम गर्न सकिएको थिएन । त्यसैले स्वतन्त्र समूहबाट चुनावमा उठ्यौं,’ भुपी भन्छिन् ।

चुनाव जितेकी भुपीले ७३० मत ल्याउदा निकटतम प्रतिस्पर्धी नेविसंघकी पूर्णिमाया परियारले ३७९ मत ल्याइन् । दोब्बर बढी मत ल्याएर भुपी विजयी भइन् । सचिवमा पनि भुपी प्यानलकै सन्ध्या बस्याल ६९५ मतसहित र कोषाध्यक्षमा संकल्पिका थापा ६६६ मत सहित निर्वाचित भइन् । सचिव पदमा निकटतम प्रतिस्पर्धी विपना न्यौपानेले ३६१ र कोषाध्यक्ष पदकी निकटतम प्रतिस्पर्धी चाँदनी शाहले ४०५ मत पाए ।

प्यानल नै जित्नुको आधारमा जनता र विद्यार्थीको मत जस्तो ठूलो केही नहुने बताउँछिन् भुपी । ‘दुई वर्ष नेता सचिव भएर होइन । विद्यार्थी बहिनीको कहिले दिदी त कहिले अभिभावक बनेर काम गरेँ । गुरु-गुरुआमाले पनि छोरी भन्नु हुन्छ । बैतडीबाट आएपछि यो मेरो दोस्रो घर भयो । घरको सदस्य भएर दादागिरी देखाइन । टिमवर्क पावरफुल हो । यही नै जितको आधार हो,’ उनी भन्छिन् ।

यतिसम्म कि भोट नहाल्ने भनेर बसेका विद्यार्थी समेत उनी स्वतन्त्र उठेपछि भोट हाल्न आए । ‘स्वतन्त्र उठेपछि भुपीलाई भोट दिनुपर्छ भनेर बहिनीहरू आउनु भयो । कसैको रोल नम्बर कसैको कार्ड नमिलेकाले भोट दिन पाउनु भएन । भोट हाल्न नपाएर रुनु पनि भयो । म प्रति बहिनीहरूको आशा हो । उहाँहरूले आफूभित्र मलाई देख्नु भएको हो,’ भुपी भन्छिन् ।

‘पढ्दै गायिका र वकिल बन्छु भनेर काठमाडौं आएकी हुँ । पद्मकन्या छिरेपछि जीवनले यस्तो मोड लियो,’ उनी भन्छिन् ।

नेविसंघको बागी भएर उनले नेविसंघको उम्मेदवारलाई पराजित गरेर पद्मकन्यामा इतिहास बनाएकी भुपी अबको दुई वर्ष स्ववियुलाई विद्यार्थीको साझा संस्था बनाउने योजना सुनाउँछिन् ।

‘सिद्धान्तको हिसाबले म डेमेक्य्राट हुँ । सिद्धान्त छोड्ने छैन । तर स्ववियु साझा संस्था हो । कुनै संगठनमा आवद्ध नभई विद्यार्थीको एजेन्डामा काम गर्छु । अबको दुई वर्ष विद्यार्थीको साझा मान्छे हुँ,’ उनी भन्छिन् ।

चुनाव जितेपछि अफूसँग पराजित भएकालाई पनि साथमै लैजाने उनको योजना छ । ‘चुनाव हुनुमा विपक्षीको पनि योगदान छ । विद्यार्थी, क्याम्पस प्रशासन, विपक्षी समूह, गुरुआमाहरू सबैको राय सुझाव लिएर नै काम गर्छु,’ उनले भनिन् ।

गायिका बन्ने सपना बोकेर काठमाडौं आएकी थिइन् भुपी

पद्मकन्याको स्ववियु अध्यक्षमा निर्वाचित भएकी भुपी गायिका र वकिल बन्ने सपना बोकेर काठमाडौं आएकी थिइन् । बैतडी पाटन नगरपालिका–२ सिलङ्गा, जलकुडाकीमा जन्मिएकी भुपेश्वरी ‘जलकुडाकी भुपी’ नामले पनि चर्चित छिन् ।

साहित्यमा झुकाव भएकी भुपेश्वरीको साहित्यिक नाम भुपी हो । १२ कक्षासम्म बैतडीमै अध्ययन गरेकी भुपी उच्च शिक्षा पढ्न २०७६ मा काठमाडौं छिरेकी थिइन् ।

‘पढ्दै गायिका र वकिल बन्छु भनेर काठमाडौं आएकी हुँ । पद्मकन्या छिरेपछि जीवनले यस्तो मोड लियो,’ उनी भन्छिन् ।

स्नातक तहको अध्ययन हालसालै सकाएकी भुपी स्नातकोत्तरको अध्ययन गर्ने तयारीमा पनि छिन् ।

पद्मकन्या छिरेपछि उनी अतिरिक्त गतिविधिमा सक्रिय हुन थालिन् । ‘गायन, वक्तृत्वकला, भलिबल हरेक क्रियाकलापमा सक्रिय भएर लागेँ,’ उनी भन्छिन् ।

काठमाडौं आएको केही समयसम्म उनलाई नेपाली भाषा बुझ्न समेत कठिन हुन्थ्यो । ‘काठमाडौंमा अनौठो मान्छे, अनौठो अनुभव भाषा बुझ्न पनि समय लाग्यो । संघर्ष गर्दै गएँ । हरेक गतिविधिमा संल्गन भएपछि त्यहाबाट यहाँ आएर गर्न सकिने रहेछ भन्ने हिम्मत आयो,’ उनी भन्छिन्, ‘नेपाली राम्रोसँग बालेको नबुझ्ने अवस्था थियो । बैतडीकै भाषा र लवज आउँथ्यो ।’

उनी राम्रो भलिबल खेलाडी समेत हुन् । पद्मकन्या आएपछि उनको हिमचिम र संगत नेविसंघका नेताहरूसँग भयो । र, उनी पनि नेविसंघमै सक्रिय भइन् ।

‘गीत गाएर स्टेजमा पर्फमेन्स देखाउँछु भनेर बैतडीबाट काठमाडौं आएकी थिएँ । स्ववियु अध्यक्ष भएँ । अब विद्यार्थीको सेवामा समर्पित हुनेछु,’ भुपीले भनिन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -