आलेखको सुरुआत दुई प्रसङ्गबाट गरौं ।
प्रसङ्ग एकः बर्दिया राष्ट्रिय निकुञ्जसँगैको गाउँमा उमेरले ६० नाघेका एक जना थारूसँग मैले सोधेको थिएँ– तपाईंसँग खान पुग्ने जग्गा–जमिन छ । निकुञ्जभित्र बाघ, हात्ती र गैंडाको डर छ, सुरक्षाकर्मीले भेटे कारबाही गर्छन् तर पनि तपाईं निगुरो, घोंगी टिप्न जंगल किन जानुहुन्छ ?
उनको उत्तर थियो– यो त मेरो परम्परा हो नि ! सानैदेखि जंगलका खानेकुरा खाने बानी परेको, अहिले पनि जंगलबाटै ल्याएर खान मन लाग्छ ।
प्रसङ्ग दुईः मैले २०६० देखि ६५ सालसम्म धादिङको धुसा र जोगीमारा गाउँका चेपाङ समुदायले प्रयोग गर्ने कन्दमूलको अध्ययन गर्दा जंगली तरुलका सात वटा प्रजाति पाएको थिएँ । तरुलका सात प्रजाति हाम्रो सन्दर्भमा निकै ठूलो कुरा हो । हामीले घरगाउँमा रोप्ने तथा हुर्काउने विभिन्न नामका सबै तरुल मात्र एउटा प्रजाति हो ।
यी दुई प्रसङ्ग फरक समुदायका भए तापनि तिनमा समेटिएको साझा कुरा हो, वनका खानेकुराको महत्व ।
आज मार्च २१, अन्तर्राष्ट्रिय वन दिवस । यस वर्ष सयुक्त राष्ट्रसंघले वनका खानेकुरा (फरेस्ट्स एन्ड फूड) भन्ने विषयमा वन दिवस मनाउने निर्णय गरेको छ । यो सन्दर्भमा हामीले वनका खानेकुराको महत्व फर्केर हेर्ने र त्यस्ता खानेकुराको संरक्षण किन महत्वपूर्ण छन् भनेर चर्चा गर्नु सान्दर्भिक हुन्छ ।
अहिलेको मानव जातिको उत्पत्ति हुनुपूर्व मानव पुर्खाकै पालादेखि जंगलका खानेकुरा नै जीवनको मुख्य आधार थिए । अफ्रिकाबाट बाहिर निस्केको मानव प्रजातिले लामो समय फिरन्ते भएर बाँच्यो । लगभग १२ हजार वर्ष पहिले मानिसले मध्यपूर्वको एकठाउँमा बसेर खेती गर्न थाल्यो । आज मानिसले खेती गर्ने प्रजातिहरूको मूल खोज्दै जाने हो भने जंगलका प्रजातिमै गएर टुंगिन्छ । जात छनोट र सुधारको लामो प्रक्रिया मार्फत आजका बालीहरू विकसित भएका हुन् ।
मानिसले वन्यजन्तुको शिकार गर्ने र जंगली फलफूल खाएर आफ्नो लामो फिरन्ते जीवन बितायो । आधुनिक कृषिको सुरुआत पश्चात् पनि जंगली खानेकुरासँग मानिसको सम्बन्ध टुटेन बरु यस्ता जंगली खानेकुरा पोषण, खाद्य संस्कृति र जीवन धान्ने महत्वपूर्ण आधार बनिरहे । अहिले पनि एशिया, अफ्रिका र दक्षिण अमेरिकमा सयौं आदिवासी समुदाय आफ्नो खाद्यान्नको लागि जंगली फलफूल र कन्दमूलमा निर्भर छन् ।
जंगलको खानेकुरा भोक मेट्ने स्रोत मात्र होइनन्, आम मानिसको सांस्कृतिक आवश्यकता समेत हुन् । ग्रामीण विपन्न र चेपाङ जस्ता समुदायमा आफ्नो उत्पादनले चार महिनादेखि ६ महिना भन्दा थेग्दैन । उनीहरूको लागि जंगलबाट संकलन गरेका खानेकुरा थप महत्वपूर्ण हुने नै भए । साथै अन्य समुदायको पनि खेतीपाती बिग्रिँदा वा प्राकृतिक विपत्तिको बेला जंगलमा आम मानिसहरूको निर्भरता बढ्ने नै भयो । यद्यपि, पछिल्लो समय यो अब भोक मात्र बनेको छैन । शहर–बजारमा बस्ने मानिसहरूका लागि सोखको विषय समेत बन्दै आएको छ ।
कतिपय जंगली खानेकुरामा पाउने स्वाद तिनका घरेलु जातमा भेटिंदैन । नेपालमा तरुलका दुई दर्जनभन्दा बढी जात खेती गरिन्छन् तर वनतरुल जस्तो उच्चकोटिको स्वाद कुनै जातमा भेटिंदैन । वर्षायाममा जंगलमा पाइने देउले वा ढिम्की च्याउको स्वाद बेजोड हुन्छ । यस्ता च्याउका स्वादका पारखीहरू निकै मिहिनेत गरेर वा महँगो तिरेर पनि खान्छन् ।
जंगली फलफूल र कन्दमूल औषधिमुलो वा गुनिलो हुने भनेर पनि संकलन गरिन्छ । तराई र पहाडको जंगलमा हिउँदमा फुल्ने चुवा वा बर्खामा फुल्ने टटेलो फूलले उच्च रक्तचापमा राम्रो गर्ने हुँदा तरकारी/अचार बनाएर खाइन्छ ।
खोलाको माछा मार्ने, जंगलको बारुलो र भीर मौरीको मह संकलन गर्ने, खोल्सा र खोलामा पाहा संकलन गर्ने कुरामा जति दुःख र जोखिम छ; छ, त्यतिकै रोमाञ्चकता र सामूहिकताको संस्कार पनि । यस्ता जंगली खानेकुरा संकलन गर्ने कुरा कतै कतै त उत्सव जस्तै हुने पनि गर्दछ ।
सन् २०२२ मा प्रकाशित जैविक विविधता तथा पर्यावरणीय सेवा सम्बन्धी अन्तरसरकारी निकायको प्रतिवेदन अनुसार संसारमा ३१ हजार प्रजातिका वनस्पति र १५०० प्रजातिका च्याउ मानिसले जंगलबाट संकलन गरेर खान्छन् । सोही प्रतिवेदन अनुसार संसारमा हरेक पाँच जनामा एक जनाले जंगलको खानेकुरा संकलन गर्दछन् ।
सम्पन्न छन् हाम्रा वनजंगल
हामीलाई वन जंगलको स्रोत भन्ने बित्तिकै रूख र काठ सम्झना आउँछ । हाम्रो वन व्यवस्थापनको बहसको केन्द्रमा काठ छ । वनमा काठ मात्र अर्थोपार्जनको स्रोत हो भन्ने हिसाबले व्यवस्थापनका योजना बनेका छन् । यस्ता व्यवस्थापनका योजना तथा व्यवस्थापनमा वन भनेको काठको नवीकरणीय स्रोत हो र समृद्धिको लागि यसको अधिकतम दोहन गर्नुपर्छ भन्नेहरूको बोलवाला छ । तर वन व्यवस्थापन बारेको यस्तो धारणा निकै सतही मात्र हैन वनको बहुआयामिक महत्वको पूरापूर अवमूल्यन समेत हो ।
वन भनेको एउटा जीवन्त प्रणाली हो जसको विविधता अपरम्पार छ । एउटै रूखको जरादेखि टुप्पोसम्म सबैतिर विविधता छ । यिनै विविधता नै वन–जंगलका सम्पन्नताका आधार हुन् । विविध प्रजातिको उपस्थितिले हाम्रो वनलाई जीवन्त बनाएका मात्र छैनन् धेरै बृहत् वातावरणीय सेवाहरू उपलब्ध गराउन सकेका पनि छन् । अमूल्य सांस्कृतिक अभ्यासलाई समेत सम्भव पारेका छन् ।
सन् २०२२ मा प्राध्यापक कृष्णकुमार श्रेष्ठको नेतृत्वमा लिखित नेपालको वनस्पतिको बृहत् सूचीमा नेपालमा जंगलका ७७० भन्दा बढी सपुष्पक वनस्पतिका प्रजाति कुनै न कुनै रूपमा खाइने उल्लेख गरिएको छ । सोही पुस्तकमा नेपालमा ३३५ प्रजातिका फलहरू खाइने विवरण समेत समाविष्ट गरिएको छ ।
खेती गर्ने प्रजाति सीमित छन् तर जंगलबाट संकलन गरेर खाने प्रजातिको विविधता व्यापक छ । मानिसले फलफूल, कन्दमूल, मह, शीत मह, माछा, गँगटा, सागपात, च्याउ, तामा र टुसा, चोप, धूप जस्ता विविध खानेकुरा वनजंगलबाट संकलन गरेर खान्छन् ।
च्याउविज्ञ डा. शिव देवकोटाका अनुसार नेपालमा २२० भन्दा बढी प्रजातिका च्याउहरू जंगलबाट संकलन गरेर खाने गरिन्छ ।
देशको पूर्वदेखि पश्चिमसम्म विभिन्न ११ प्रजातिका न्यूरोहरू संकलन गरेर खाने गरेको जानकारी उन्युँ विज्ञ धनराज कँडेलको अभिलेखबाट बुझ्न सकिन्छ । जलुको, मोरंगे, सिप्लिगान, कोइरालाको फूल र पात पनि ग्रामीण क्षेत्रमा धेरैका भान्सामा उपयोग गरेको देख्न सकिन्छ । नेपालको पूर्वदेखि पश्चिमसम्म अनि दक्षिणी समथर भूभागदेखि उच्च पहाडी क्षेत्रसम्म च्याउ स्थानीयको लागि महत्वपूर्ण खानेकुरा हो । बर्खा लागेसँगै च्याउ, निगुरो, जिब्री साग, मजुर खुट्टी, तामा वा निगालोका टुसाको स्वाद लिन सबै लालायित हुन्छन् ।
नेपालका पैयुँ जातका विविध प्रजातिमा अध्ययन गरेका युवा वैज्ञानिक दीपक खड्काका अनुसार नेपालमा पाइने २० प्रजातिका जंगली पैयुँहरूमध्ये १२ वटा प्रजातिमा खान मिल्ने फल हुन्छन् । त्यसै गरेर नेपालमा पाइने सात (सम्भवतः अझ बढी) जातका कटुसका फल खाने गरिन्छ, कटुस जस्तै फल्ने अर्खौलो र बान्टे जस्ता प्रजातिका फल पनि खाइन्छ ।
महलो वा मलायोको चुक तथा पूर्वी पहाडमा घारेघुरे तथा पश्चिम पहाडमा ढँटेलोको खानेतेल बनाएर प्रयोग गर्ने गरेका उदाहरण पनि देख्न सकिन्छ । दीपक खड्का नेतृत्वमा जुम्लाको सिंजामा गरिएको एक अध्ययन अनुसार त त्यो क्षेत्रमा मात्र १३ वटा जंगली प्रजातिका वनस्पति खानेतेल बनाउन प्रयोग गरिने रहेछ । चिप्लेको बोक्रा, काउलोको बोक्रा अनि ओदालको चोप सेलरोटी बनाउँदा पिठो लेसाइलो बनाउन प्रयोग गरिन्छ । त्यसैगरी लौठ सल्लाको पात, खयरको बोक्रा, घोडामार्चाको पात, हिउँवाको पात, पारिजातको फूल जस्ता विभिन्न वनस्पतिलाई चियाको रूपमा समेत पिउने गरिन्छ ।
नेपालको भौगोलिक र जलवायुको विविधताले सृजित वातावरणले नेपाल दक्षिण–उत्तर र पूर्व–पश्चिम संक्रमणसँगै वन र तिनका प्रजाति पनि फरक हुन्छन् । यही फरकपन अनि हाम्रो सांस्कृतिक विविधता सँगसँगै वनका खानेकुराहरूको महत्व पनि धेरै रहेको छ ।
अभाव र संकटमा सहारा
वनका खानेकुरा हुनेखाने र हुँदा खाने सबै वर्गका मानिसले प्रयोग गर्छन्, स्वाद, पोषण र भोकमा । वन वरिपरि बस्ने स्थानीय, जनजाति, आदिवासी तथा विपन्नका लागि त वनजंगलका खानेकुरा अभावको सहारा समेत हुन् । प्राकृतिक विपत्ति हुन् वा खेतीबाली बिग्रँदा मानिसहरू वन चहारेर चुलो बाल्छन् ।

नेपालको चेपाङ समुदाय वनका पैदावार विशेषगरी खाद्य कन्दमूलमा निर्भरताका लागि प्रख्यात छन् । कठिन भूगोल र भिरालो जमिनमा परम्परागत बसोबास भएका चेपाङ समुदायसँग कृषियोग्य जमिन कम छ । त्यसैले उनीहरूलाई खेतबारीको उत्पादनले वर्षभरि खान पुग्दैन । यस्तोमा उनीहरू वनका कन्दमूल र आफ्नो परम्परागत सीपको आधारमा खाद्यान्नको जोहो गर्दछन् । वनका गिंठा, भ्याकुर, वनतरुल, भ्याक्से, त्यागुना, चुइंया र गुर्बो जस्ता कन्दमूलले भान्सा चलाउँछन् ।
परम्परागत ज्ञान
जंगली फलफूल र कन्दमूलको कुरा गर्दा छुट्याउनै नहुने कुरा हो, जैविक विविधता सम्बद्ध परम्परागत ज्ञान र प्रविधि । स्थानीय समुदायमा वन जंगलका खानेकुरा पहिचान गर्ने, तिनको उपभोगको विधि र मात्रा तय गर्ने अनि त्यस्ता स्रोतहरूको पर्यावरणीय पक्ष बारेमा महत्वपूर्ण ज्ञान हुन्छ । स्थानीय समुदायले जंगलका विषालु र खान हुने च्याउ सजिलै चिन्न सक्छन् । त्यसैगरी सोझै खाँदा असर पार्ने खानेकुरा प्रशोधन गर्ने ज्ञान पनि उनीहरूमा हुन्छ । उदाहरणको लागि भार्लाङ खरानीमा उमालेर २४ घन्टा बगेको पानीमा राखेपछि मात्र खान योग्य बन्छ । त्यसैगरी गुर्बो होस् वा पाङ्ग्रा यस्ता विषालु खानेकुरालाई प्रशोधन गर्ने ज्ञान समुदायमा हुन्छ ।
चेपाङ समुदायमा कन्दमूल बारेको ज्ञान कति गहिरो छ भन्ने बारेमा बुझ्न गिंठा र भ्याकुरको उदाहरण काफी छ । वैज्ञानिक वर्गीकरण अनुसार डायोस्कोरिया बुल्बिफेरा भनिने एउटा प्रजातिलाई चेपाङहरूले चार फरक–फरक जातमा बाँडेका छन् । उनीहरूले गिंठालाई लाक भन्छन् र जंगलका गिंठालाई स्थानीय भाषामा रे लाक, ह्याक लाक, यूक लाक र किम लाक नाम दिएका छन् । यी जात कस्तो ठाउँमा पाइन्छन् र यिनीहरू कसरी एकअर्कासँग फरक छन् भन्ने राम्रो ज्ञान स्थानीयसँग हुन्छ ।
त्यसैगरी नेपाली भाषामा भ्याकुर भनिने प्रजातिको वैज्ञानिक नाम पेन्टाफाइला हो जसलाई चेपाङ भाषामा पास भनिन्छ । यो एउटा प्रजातिमा पनि चेपाङहरूले चार वटा फरक–फरक जात वर्गीकरण गरेका छन् । चेपाङको वर्गीकरण अनुसार भ्याकुरका चार जात– सुती पास, जा पास, वाइला पास र क्लोक पास हुन् ।

प्रवर्द्धनको अवसर
जंगलका कतिपय खानेकुरा व्यापारिक प्रवर्द्धनका लागि योग्य छन् । हाल वनबाट संकलन गरिएका विभिन्न प्रकारका खानेकुराहरू स्थानीय बजार र सडक किनारमा बेच्न राखिएको देख्न सकिन्छ । निगुरो, तामाका टुसा र च्याउ यसरी बेच्ने गरेको देखिन्छ । काफल, अमला, च्यासी र फँडिर जस्ता फलफूलहरू जंगलबाट संकलन गरेर बेच्ने गरिन्छ । बजारमा देखिने तरुलमध्ये वनतरुलको मूल्य घरतरुलको भन्दा बढी हुन्छ ।
लप्सी तथा अमलाका क्यान्डी बनाउने, भक्किम्लो, बयर र सिस्नोको धुलो बनाएर बेच्ने, बेलको सर्वत बनाउने गरेको देख्न सकिन्छ । त्यसैगरी मुलुकको विभिन्न भागमा स्थानीय समुदायले जंगली फलफूललाई घरेलु रक्सी बनाउन र अन्नको रक्सीमा स्वाद भर्ने गरेका उदाहरण छन् । जनजातिले चुत्रो, भोगटे (बिलाउनेको जात), जमाने मान्द्रो, धयेंरोको फूल, महुवाको फल र फूल आदिबाट मदिरा बनाउने गर्दछन् ।
जंगली कन्दमूल र फलफूलको खेती प्रविधि विकास गर्न सकिन्छ । हाल तेजपात, टिमुर, मालागिरी, चिराइतो जस्ता औषधि र मसलाजन्य वनस्पतिको केही हदसम्म कृषि विस्तार भए पनि फलफूल र कन्दमूलको क्षेत्रमा भने काम भएको छैन । बजारमा बिक्री हुने धेरै जडीबुटी प्राकृतिक वासस्थानबाट नै संकलन गरिन्छ ।
खेती प्रवर्द्धनको लागि हामीले रानी कुसुमलाई लिन सकिन्छ, । यो प्रजाति कुसुम वा अटेर भनिने अर्को प्रजातिभन्दा निकै फरक हुन्छ । पूर्वी र मध्य तराई एवं चुरेका खोल्साखोल्सीमा पाइने यो रूखको फल व्यावसायिक प्रवर्द्धन गर्न सकिन्छ । ताजा फल त्यसैै खान सकिन्छ भने यसलाई अचार वा जाम बनाउन समेत प्रयोग गर्न सकिन्छ । पहाडी क्षेत्रमा पाइने च्यासी जो विदेशतिर प्रख्यात ब्ल्युबेरीको नजिकको प्रजाति हो त्यसको पनि खेती र बजारीकरण गर्न सकिन्छ ।
पहाडी क्षेत्रमा पाइने जंगली आरू भनिने एउटा फल पनि व्यावसायिक प्रवर्द्धन गर्न सकिने खालको छ । भारतको असम र नागाल्याण्डमा यसको खेती गरेर बेच्ने गरेको उदाहरण भेट्न सकिन्छ । चाइनामा यसको फलबाट जाम, वाइन र चकलेट समेत बनाउने कुरा दीपक खड्काले आफ्नो लेखमा उल्लेख गरेका छन् ।
नेपालको तराई र पहाडका कतिपय ठाउँमा बर्खाको बेलामा च्याउ टिप्ने काम उत्सव जस्तै हुने गर्छ । बर्खाको बेलामा च्याउका पारखीलाई च्याउ संकलनमा सहभागी गराउने, तिनको बारेको ज्ञान आदानप्रदान गर्ने र च्याउको स्वाद दिलाउने गरी पर्यटनको विकास गर्न सकिने सम्भावना देखिन्छ । च्याउविज्ञ डा. शिव देवकोटाले त नेपालमा जंगली च्याउका सौखिनहरूलाई नेपालमा ल्याएर उच्च गुणस्तरको पर्यटनको सुरुवात गर्न सकिने उदाहरण पेश गरेका छन् ।
जंगलका फलफूल र कन्दमूलको पुनर्स्थापना
जंगलका फलफूल र कन्दमूल पुनर्स्थापना गर्नुपर्ने अवस्थामा किन छन् भन्ने कुरा बुझाउने एउटा प्रसङ्ग हेरौं । पूर्वी नेपालमा असार ८ गते धर्तीमाता रजस्वला हुने हुनाले त्यो दिन खनजोत गर्नुहुँदैन भन्ने स्थानीय मान्यता छ । असार महिनाको कामको चटारोमा फुर्सद निस्किने हुँदा मानिसहरूको जंगल जाने र जंगलका खानेकुरा संकलन गरेर खाने चलन छ ।
मैले झापा र मोरङमा यसरी असार ८ गते वन–जंगल चहार्ने दर्जनौं मानिससँग कुरा गरेको छु । उनीहरूको साझा अनुभव र निष्कर्ष छ, वनमा फलफूल निकै घटेका छन् । उस्तै परे रित्तोहात फर्किनुपर्छ । विशेषगरी रानी कुसुम, फँडिर, असारे, ढेडुझुला, अम्बके लटहर, चुंयेल, अर्चल, खन्यु, वन सुन्तला जस्ता असार महिनामा पाक्ने फलफूल घटेको स्थानीय बताउँछन् ।
तराईमा बस्ती विस्तार र जनसंख्या वृद्धिले वन विनाश गरेको र वनको महत्वपूर्ण प्रजातिहरूमा अधिक दोहनको चाप परेको कुरा सहजै बुझ्न सकिन्छ । चितवनको वरण्डाभार जंगलको कालीखोला रानी कुसुमको लागि निकै प्रख्यात ठाउँ हो । असार महिनामा रानी कुसुुम वनमा खाने मात्र हैन बोरामा नै बोकेर गाउँमा ल्याउने मानिस अहिले पनि भेटिन्छन् । तर अहिले फल लागेको बोट भेट्न गाह्रो पर्छ ।
नेपालको तराईमा त वन विनाश र अधिक दोहनले जंगली फलफूल घटे तर यो समस्या पहाड र वन बढेको ठाउँमा समेत देखिन्छ । यसको लागि हाम्रो वन व्यवस्थापन र पुनर्स्थापनाको पृष्ठभूमि हेर्नु उपयुक्त होला ।
वनका खानेकुराको सामाजिक, सांस्कृतिक महत्व त छँदैछ, अचेल बजारमा समेत वनका फलफूल र कन्दमूल प्रशोधन गरेर धुलो, चुक, खुदो, सर्वत, क्यान्डी, तेल, जाम, परम्परागत उपचार प्रणालीको द्रव्य मिश्रण र घरेलु मदिरा समेत बनाएर बिक्री गरिन्छ ।
सन् १९५० को वरिपरि नेपालको पहाडी भूभागमा वन विनाश, भूक्षय र बाढी पहिरो उच्च बिन्दुमा पुगेको मानिन्छ । सन् ६० र ७० को दशकमा यो वातावारणीय विनाश निरन्तर रह्यो र यसबारेमा प्राज्ञिक र विकासे बहस र चर्चाहरू पनि निकै भए । वन विनाश रोक्न र हरियाली वृद्धि गर्न ७० को दशकदेखि संरक्षित क्षेत्र स्थापना गर्नेदेखि लिएर सामुदायिक वन कार्यक्रमहरू सुरुआत गरिए । यिनै पहलको नतिजा स्वरूप नाङ्गा डाँडाकाँडामा रूख र हरियाली वृद्धि भयो ।
नेपालले वन क्षेत्र बढाएर उदाहरणीय काम गरेको भए पनि वन पुनर्स्थापनामा हाम्रो वस्तुगत आवश्यकता र अवस्था ख्याल नगर्दा हामीले हाम्रो प्राकृतिक वन फर्काउने अवसर ठिक ढंगले उपयोग गर्न सकेनौं कि भन्ने प्रश्नहरू यथावत् छन् । आज हरियाली बढे पनि वनमा एकात्मकता बढ्दो छ भने वनमा विविधता सहित सम्पदाको उचित संरक्षण गर्न सकिएको छैन ।
वनमा मिचाहा प्रजातिको घनत्व र फैलावट बढ्दै गर्दा कतिपय च्याउका प्रजातिहरू घटेको स्थानीयहरू बताउँछन् । मजुरखुट्टी र जीबी साग हुने ठाउँमा वनमाराले ढाक्दा यस्ता सागपात घट्दै गएको छ ।
वन पुनर्स्थापना एवं वृक्षरोपणको क्रममा विभिन्न बाह्य प्रजातिका रूखहरू रोपिए । सागरनाथ र रतुवामाई वन परियोजनामा मसला, सिसौ र टिक रोप्ने क्रममा बाँकी रहेको प्राकृतिक जंगल मासियो । यो वृक्षरोपणको क्रममा त्यस क्षेत्रमा पाइने जंगली फलफूल र कन्दमूल मासिए वा उल्लेख्य घटे । वन तरुल, करौना, भलायो, मल्लिडो, वन सुन्तला लोप हुने सँघारमा पुगे । वृक्षरोपण नगरेको ठाउँमा पनि वनका फलफूल र कन्दमूलको अवस्था सन्तोषजनक छैन ।
जलथल वरिपरि बस्ने स्थानीय ४० वर्ष अघिसम्म एउटा बोटमा ४०–५० वटासम्म माहुरीका घार हुने र वनबाट टिनका बट्टामा मह संकलन गर्ने गरेको सम्झन्छन् । गोठालो गएर फर्किंदा पेट भरेर फँडिर र कुसुम बोरामा बोकेर फर्केको अनुभव सुनाउने पनि छन् । ती जंगलमा अहिले माहुरीको घार भेटिनु कल्पना बाहिरको कुरा जस्तो लाग्छ । राम गुवा, कुसुम र पाँचफल जंगलमा अस्तित्वरक्षाको संघर्ष गर्दैछन् । अझै पनि हाम्रो वन व्यवस्थापन मूल रूपमा सालकै काठ वरिपरि घुमिरहेको छ ।
तसर्थ, आगामी दिनमा वन व्यवस्थापन गर्दा जंगली कन्दमूल लगायत जंगली फलफूलको पनि पुनर्स्थापना गर्न सकियो भने बिर्सिन लागेको स्वाद फर्काउनेछ । हाम्रो खानेकुराको मेन्यू फराकिलो बनाउनेछ । पोषण थप्नेछ । जंगली फलफूल र कन्दमूलले हामीलाई प्रकृतिसँग अझ नजिक ल्याउन सहयोग गर्नेछ । अनि, आउँदो पुस्तालाई वनमा आधारित सम्पन्न खाद्य संस्कृतिको पाठ पनि सिकाउन सकिनेछ ।