७ चैत, काठमाडौं । नेपाल नगरपालिका संघले पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको छ ।
नगरपालिका संघको ३२ औँ वार्षिकोत्सवको अवसरमा राजधानीमा विहीबार आयोजित कार्यक्रममा गैंडाकोटलाई उत्कृष्ट नगरपालिका पुरस्कार २०८१ बाट सम्मान गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नगरप्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइराला र प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाललाई संयुक्तरुपमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
स्थानीय आर्थिक विकास र सुशासनको क्षेत्रमा प्रभावकारीरुपमा कार्यसम्पादन गरेको भन्दै गैंडाकोट नगरपालिका सम्मानित भएको हो । गैंडाकोट नगरपालिकासहित ठाकुरबाबा नगरपालिका बर्दिया, सिद्धार्थनगर नगरपालिका रुपन्देही, कलैया उपमहानगरपालिका बारा र मध्यपुर ठिमी नगरपालिका भक्तपुरलाई सम्मान गरिएको छ।
गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले नगरपालिकाले पाएको अवार्ड सबै नगरवासीहरुको भएको बताए । स्थानीय सरकारले नागरिकको मर्मअनुसार काम गरेकोले आज नगरपालिका पुरस्कृत भएको भन्दै उनले खुसी व्यक्त गरे ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले नेपाल नगरपालिका संघले प्रदान गरेको उत्कृष्ट नगरपालिका पुरस्कारले आफूहरुमा उत्साह र चुनौती दुवै थपिएको बताए । ‘हामीलाई यो अवार्डले उत्साहित त बनाएको छ नै आगामी दिनमा यसलाई निरन्तरता दिनुपर्ने चुनौती समेत थपिएको छ,’ खनालले भने ।