Wednesday, March 12, 2025
घरसमाचारअमेरिकी सेयर बजारमा गिरावट, एसियामा समेत असर

अमेरिकी सेयर बजारमा गिरावट, एसियामा समेत असर

२७ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिका कारण अमेरिकी सेयर बजारमा उच्च गिरावट आएको छ। यसको प्रभाव एसियाली बजारमा पनि परेको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार अमेरिकी सेयर बजारमा ४ प्रतिशतसम्म गिरावट आएको छ । खासगरी न्युयोर्कमा प्रविधि क्षेत्रका सेयर बजारमा तीव्र गिरावट देखिएको छ । जसका कारण सेयरबजार परिसूचकले २०२२ पछिकै सबैभन्दा खराब दिन अनुभव गरेको बीबीसीले जनाएको छ । ट्रम्पले अमेरिकी अर्थतन्त्र ‘परिवर्तनको चरणमा’ रहेको भनेर टिप्पणी गरेपछि लगानीकर्ताहरू चिन्तित छन् ।

मंगलबार बिहानको कारोबारमा जापानको निक्केई २२५ परिसूचक २.५ प्रतिशतले घटेको छ । दक्षिण कोरियाको कोस्पी २.३ प्रतिशत तल झरेको छ । अस्ट्रेलियाको एसएन्डपी/एएसएक्स २०० परिसूचक १.८ प्रतिशत ओरालो लागेको छ ।
यसअघि सोमबार न्युयोर्क सेयर बजारमा एसएन्डपी ५०० परिसूचक २.७ प्रतिशतले घट्दा, डाओ जोन्स २ प्रतिशतले घटेको थियो । प्रविधि क्षेत्रको नास्डाक ४ प्रतिशत खस्किएको थियो ।

टेस्लाको सेयर १५.४ प्रतिशतले घट्यो भने एआई चिप उत्पादक कम्पनी एनभिडियाको सेयर ५ प्रतिशत भन्दा बढीले तल झरेको थियो । मेटा, अमेजन र अल्फाबेट (गूगलको मूल कम्पनी) जस्ता कम्पनीका सेयरहरू पनि ठूलो मात्रामा घटेका छन् ।

के भन्छन् अमेरिकी अधिकारीहरु ?

लगानीकर्ताहरू ट्रम्पको ट्यारिफ नीतिको असरले मूल्यवृद्धि निम्त्याउने र आर्थिक वृद्धिदर सुस्ताउने चिन्तामा रहेको बीबीसीले जनाएको छ ।

तर ट्रम्प प्रशासनका अधिकारीहरूले भने अर्थतन्त्रमा दीर्घकालीन असर नरहने दाबी गरेका छन् । ह्वाइट हाउसका प्रवक्ताले भने स्टक मार्केटको गतिविधि र वास्तविक व्यवसाय क्षेत्रका अवस्था फरक रहेको भन्दै उद्योगहरूले ट्रम्पको नीति अनुसार खरबौं डलरको लगानी प्रतिबद्धता गरेको बताएका छन् ।

तर, अर्थशास्त्रीहरूले भने ट्रम्पको ट्यारिफ नीतिले उत्पादन लागत बढाउने र अन्ततः उपभोक्ता मूल्य वृद्धि गराउने बताउँछन् ।

अमेरिकी अर्थतन्त्रमा मन्दी आउने सम्भावनाबारे सोधिएको प्रश्नमा ट्रम्पले स्पष्ट जवाफ दिएका छैनन् । ‘मैले त्यस्तो भविष्यवाणी गर्न चाहन्नँ । अहिले हामी धन अमेरिकामा फर्काइरहेका छौं, जुन ठूलो कुरा हो,’ उनले भनेका छन् ।

टेस्लाको सेयर मूल्यमा आएको ठूलो गिरावट ट्रम्पको ट्यारिफ योजनासँग जोडिएको छ । अमेरिका, क्यानडा र मेक्सिको बीचको व्यापार सम्झौतामा ट्यारिफ लगाइए उत्पादन लागत बढ्ने र कारको मूल्य बढ्ने जोखिम रहेको बीबीसीले लेखेको छ ।

अर्थशास्त्री मोहमद एल–एरियन पहिले लगानीकर्ताहरू ट्रम्पको कर कटौती र नियमन खुकुलो पार्ने योजनाप्रति सकारात्मक भए पनि अहिले व्यापार युद्धको सम्भावना देखेपछि बजारले धारणा परिवर्तन गरिरहेको बताउँछन् ।

तर, ट्रम्पका आर्थिक सल्लाहकार केभिन हासेटले भने अमेरिकी अर्थतन्त्र बलियो रहेको दाबी गर्दै भविष्यमा अर्थतन्त्र झन् मजबुत बन्ने दाबी गरेका छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -