२६ फागुन, काठमाडौं। नेपाल–भारत उद्योग वाणिज्य संघले संस्थापक अध्यक्ष प्रभाकर शमशेर जंगबहादुर राणाको स्मृतिमा ‘प्रथम प्रभाकर एसजेबी राणा मेमोरियल लेक्चर ः लिडरसिप, भिजन एन्ड लेगेसी’ कार्यक्रम आयोजना गरेको छ ।
संघ स्थापनाको ३० वर्ष भएको अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो । दुई–दुई वर्षमा आयोजना हुने कार्यक्रमको पहिलो प्रमुख वक्ताका रूपमा संघले अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) का कार्यकारी निर्देशक डा. कृष्णमुर्थी भेंकटा सुब्रमनियनलाई बोलाएको थियो ।
भारतले पछिल्लो समय बजार अर्थव्यवस्था अवलम्बन गरी समावेशी आर्थिक विकास हासिल गरेको डा. कृष्णमुर्थीले बताए । ‘नैतिक सम्पत्ति सिर्जना कुनै पनि मुलुकको आर्थिक विकासका लागि महत्त्वपूर्ण छ, प्रभाकर राणाजस्ता नैतिक उद्यमीहरूले देश विकासमा महत्त्वपूर्ण योगदान गर्दछन्,’ उनले भने ।
कार्यक्रममा प्रभाकर राणाका छोरा सिद्दार्थ शमशेर राणाले आफ्ना पिता राजसंस्थासँग नजिक भए पनि त्यसको दुरुपयोग गरी विशेष प्रकारको लाभ नलिएको बताए ।
सन् १९६६ मा पाँचतारे होटल सोल्टी सुुरु गर्नुअघि बुबाले होटल म्यानेजमेन्ट अध्ययन गरेको पनि उनले सम्झिए । त्यस्तै, नेपालको क्षमताबाट ठूला होटल सञ्चालन कठिन रहेको देखेपछि बुबाले ओबराय जस्तो प्रख्यात ब्रान्डलाई नेपालको होटल व्यवस्थापन क्षेत्रमा ल्याएको उनले बताए ।
‘उहाँ नै नेपालको पहिलो उद्यमी हुनुहुन्छ जसले अन्तर्राष्ट्रिय ब्रान्ड र साझेदारीलाई स्थापित गर्नुका साथै सफल बनाउन ठूलो योगदान दिनुभयो,’ उनले भने ।
संघ अध्यक्ष सुनिल केसीले निष्ठापूर्वक गरेको व्यापार–व्यवसाय पनि कालान्तरसम्म सफलतामा परिणत हुने र राष्ट्रिय अर्थतन्त्रमा योगदान दिने उदाहरण स्वर्गीय प्रभाकर राणाले प्रस्तुत गरेको बताए ।
‘सूर्य नेपाल प्रालि, भोटेकोसी हाइड्रोपावर कम्पनी, सिप्रदी टे«डिङ प्रालि लगायत कम्पनी तथा विभिन्न संस्थामार्फत उहाँले अर्थतन्त्रमा ठूलो योगदान गर्नुभएको थियो,’ केसीले भने ।
संघका निवर्तमान अध्यक्ष सिर्जना राणाले पनि प्रभाकार राणा नेपालको अग्रणी तथा दूरदर्शी व्यवसायी रहेको बताइन् ।
‘उहाँले नेपालको पर्यटन विकासका लागि ठूलो योगदान दिनुभएको थियो । होटल एसोसिएसन नेपाल तथा पाटा–नेपाल च्याप्टरको स्थापना उहाँले नै गर्नुभएको थियो,’ उनले भनिन् ।
भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन प्रसन्न श्रीवास्तवले लामो समयदेखि अघि बढ्न नसकिरहेको नेपाल–भारत द्विपक्षीय वाणिज्य सचिव स्तरीय समिति बैठक हालै सम्पन्न भएको बताए ।
साथै, नेपाल र भारतमा रहेका नागरिकले आ–आप्mनो देशमा भुक्तानी पठाउन एसबीआई बैंकमार्फत युनोकार्ड र रुपे एममार्फत सहज भुक्तानी गर्ने व्यवस्था हुँदा नागरिकहरू लाभान्वित भएको उनले बताए ।
कार्यक्रममा नेपाल–भारत उद्योग वाणिज्य संघले प्रकाशन गरेको ‘बिजनेस क्लाइमेट सर्भे २०२४’ पनि सार्वजनिक गरिएको थियो ।